२५ वर्ष मुनिकालाई निर्वाचनमा सहभागी गराउनुपर्ने कर्णालीका युवाहरुको माग

सुर्खेत। कर्णालीका युवाहरूले अब हुने प्रदेश तथा प्रतिनिधिसभामा निर्वाचनमा सहभागी गराउनुपर्ने माग गरेका छन्। राष्ट्रिय युवा परिषद्ले सोमबार सुर्खेतमा आयोजना गरेको ‘कर्णाली युवा संवाद’मा सहभागी युवाहरूले क्षमताका आधारमा २५ वर्षमुनिका युवाहरूलाई पनि सहभागी गराउनुपर्ने माग गरेका हुन् ।

कर्णाली युवा संवादमा राज्यका हरेक निकायमा युवाको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने बताए । दैलेखकी कल्पना शाहीले प्रदेशस्तरमा युवा सीप विकास तालिम केन्द्र स्थापना गर्न ढिलाइ गरिएको बताईन् ।

यस्तै, कालीकोटकी रक्षा लुहारले महिला तथा किशोरीलाई रोजगारीमा जोड्न स्थानीय तह र पालिकाले आवश्यक नीति तथा कार्यक्रम बनाउन नसकेको गुनासो गरिन्।

‘पालिका बाहेकका माथिल्ला जिम्मेवार पदमा जानका लागि क्षमतावान युवाहरूलाई उमेर बाधक भयो, २५–३५ उमेर समूहकालाई मात्र प्रदेशभन्दा माथिल्ला सदनहरूमा सहभागी गराउने व्यवस्था गरिएको छ,’ संवादमा सहभागी राजेन्द्र अधिकारीले भने, ‘प्रदेश, प्रतिनिधि र राष्ट्रियसभामा प्रतिनिधित्व गर्न सक्ने युवालाई २५ वर्षभन्दा एक दिन पनि कम भयो भने अवसरबाट बञ्चित हुनुपर्ने व्यवस्था न्यायोचित भएन।’

वाइसिएलका कर्णाली प्रदेश संयोजक गणेश शाहीले स्थानीय तह निर्वाचनमा युवाहरुको प्रतिनिधित्व सन्तोषजनक भएपनि आसन्न संघ र प्रदेशको निर्वाचनमा युवा उम्मेदवारीको सुनिश्चिताका साथै समयमै दबाब सिर्जना गर्नुपर्ने खाँचो औंल्याए। संवादमा दैलेख, जाजरकोट, कालीकोट, जुम्ला र सुर्खेत जिल्लाका युवाहरुको सहभागिता थियो ।

अब २१ वर्षदेखि माथि उमेर समूहका युवाहरूले राज्यका व्यवस्थापिका र दलका केन्द्रीय कमिटीहरूमा जान मिल्ने वातावरण बनाउनुपर्ने उनको माग गरेका हुन्।

नेपालको संविधानमा प्रदेश तथा संघीय व्यवस्थापिका गठनको व्यवस्था उल्लेख गरेको छ। संविधानतः संघीय व्यवस्थापिका अन्तर्गत प्रतिनिधि र राष्ट्रिय सभा गरी दुई सदन हुने व्यवस्था छ। संघीय व्यवस्थापिकाभित्रका राष्ट्रियसभाको सदस्य हुनका लागि उमेर समूह ३५ वर्ष तोकिएको छ भने प्रतिनिधिसभा सदस्य हुनका लागि २५ वर्ष उमेर तोकिएको छ।

यस्तै, प्रदेश सभाको सदस्य हुनका लागि पनि संविधानले २५ वर्ष उमेर तोकेको छ। कर्णाली प्रदेशका युवाहरूले भने यो व्यवस्थामा चित्त बुझाएका छैनन्।

तपाईको प्रतिक्रिया