लापा कार्यक्रम तत्कालीन संयोजक खनाल विरुद्ध आरोप–पत्र दायर

खनालकाे नाममा तीन लाख २५ हजार चार सय ९७ रुपैयाँ विगो

सुर्खेत । कालीकोटका तत्कालीन लापा कार्यक्रम संयोजक (प्रशासकीय तथा वित्त सहायक) कमलप्रसाद खनाल विरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै आरोप–पत्र दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धानको आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा खनाल विरुद्ध आरोप–पत्र दायर गरेको हो।

खनालले साविक जिल्ला विकास समितिको कार्यालय, कालीकोटबाट आर्थिक वर्ष २०७०/०७१ मा सञ्चालन भएका विभिन्न कार्यक्रम अनुरुप विविस कार्यालय, कालीकोटले गरेको प्रचार–प्रसार कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको खनालले हिनामीना गरेको उजुरी आयोगमा परेपछि अनुसन्धान गरेको थियो।

आयोगले अनुसन्धान गर्दा साविकको जिविसको कार्यालय, कालीकोटबाट आर्थिक वर्ष २०७०/०७१ मा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्तर्गत प्रचार प्रसारको लागि होर्डिङ बोर्ड निर्माण गरेको भनी नक्कली भरपाई स्रेस्तामा समावेश गरि झुट्टा बिल बनाएको ठहर गरेको हो।

आयोगकाअनुसार कार्यक्रमका फोकल पर्सन सेमत रहेका खनालले उक्त सामानको ढुवानीबापत समेतको खर्च देखाई कार्यक्रम नै नगरी पेश्की फर्छ्यौट गरेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुर तीन लाख २५ हजार चार सय ९७ रुपैयाँ विगो आएको छ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको कैद सजाय र विगो बमोजिम जरिवाना हुन एवं सोही दफा बमोजिम वद्‍नियत साथ हानि नोक्सानी गरेको विगो असुल गर्न मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आदालतमा आरोप–पत्र दायर गरेको हो।

तपाईको प्रतिक्रिया