सहिदका सपना साकार हुन्छन्, प्रदेश सरकार साथमा छ : मन्त्री बुढाक्षेत्री

सुर्खेत। कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले सहिदको सपना साकार पार्न सरकार लागि परेको बताएका छन्। वीरेन्द्रनगरमा बुधबार सहिद याम बिसी स्मृति प्रतिष्ठानले गरेको ७औं सहिद समृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै मन्त्री बुढाक्षेत्रीले यस्तो बताएका हुन्।

संघीयता प्राप्ती पछिको आन्दोलनले कर्णाली जन्मेको भन्दै मन्त्री बुढाक्षेत्रीले प्रदेश प्राप्तीको आन्दोलनमा राज्य पक्षको गोली लागि सहादत प्राप्त गर्ने ४ जनालाई कर्णाली सरकारले उच्च सम्मान गरि रहेको बताए । लोकतन्त्रको सुन्दर पक्ष संघीयता कार्यान्वयन भएको भन्दै कर्णालीलाई जन्माउने सहिदहरुका सपना पुरान गर्न सबै मिलेर अगाडि बढ्नु पर्नेमा जोड दिए।

‘कर्णाली प्राकृतिक सम्पदामा धनी छ, यसलाई हामीले अतिकत् प्रयोगमा ल्याउन सकेको खण्डमा समृद्ध कर्णाली बनाउन सकिन्छ।’ मन्त्री बुढाक्षेत्रीले भने  ‘संघीय संरचना अनुसारका अधिकार प्रयोग गरी कर्णालीलाई अगाडि बढाउने जिम्मेवारी हामी सबैको हो, हामी मिलेर अगाडि बढ्न सकेनौ भने सहिदका सपना कदापी पुरा हुने छैनन्।’

सहिदको सम्झनामा प्रादेशिक सहिद पार्क स्थापना गरिएको उल्लेख गर्दै परिवारका बालबालिकालाई छात्रवृति, जिविकोपार्जन, रोजगारी, घाइतेहरुको उपचार र उत्थानमा प्रदेश सरकारले विशेष योजना अगाडि सार्ने बताए ।

देश संघीयतामा गएसँगै साविक मध्यपश्चिमलाई सिमाङ्कनमा सुदुरपश्चिमसँग गाभिएपछि अखण्ड मध्यपश्चिमको माग राख्दै सुरु भएको आन्दोलन हिन्सात्मक बन्न पुग्यो। २०७२ साउन २५ गते सुर्खेतमा भएको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागि सुर्खेतका ३ र जुम्लामा एकजनाको मृत्यु भयो।

सिमाकंनमा असन्तुष्टी जनाउँदै भएको आन्दोलनमा प्रहरीको गाली लागि सुर्खेतका यामबहादुर बिसी, गोपालसिंह रजवार, टिकाराम गौतम र जुम्लाका हरिबहादुर कुँवरको मृत्यु भयो । प्रदेश प्राप्तीका लागि भएको आन्दोलनले आज ९साउन २५० बाट ठिक ७ वर्ष पुरा गरेको छ।

सहिदलाई प्रदेश सरकारले बिर्सिएको परिवारको गुनासो

कर्णाली जन्माउने तिनै ४ जना सहिदलाई कर्णाली प्रदेश सरकारले बिर्सिदै गएको परिवारले गुनासो गरेका छन्। वीरेन्द्रनगरमा बुधबार सहिद याम बिसी स्मृति प्रतिष्ठानले गरेको ७ औं सहिद समृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली सभामा प्रदेश सरकारले पीडामाथि झन् पीडा थप्दै गएको उनीहरुको गुनासो थियो।

सहिद बिसीकी बहिनी भगवति बिसीले अधिकार प्राप्तीको लडाँईमा रगत बगाएका सहिदलाई सरकारले अपमान गरेको दुखेसो पोखिन्  बिसीले भनिन् ‘प्रदेश सरकारले हामीलाई जुन प्रकारको आश्वासन दिएको थियो त्यस अनुसार काम नहुँदा पीडा बोध हुन्छ, कसैको चाकडी गर्न नसक्दा एउटा सानो श्रद्धाञ्जली सभा आयोजना गर्न हलको व्यवस्थासमेत गर्न सक्नु भएन’ उनले भनिन्, ‘आजको दिन इतिहासकै कालो दिन हो, इतिहास र सहिदको रगतको अपमान हुनु भनेको हाम्रो अस्तित्व सकिनु हो।’

प्रदेश सरकार र आफूहरुबीच भएको सहमति कार्यान्वयनमा गम्भिर हुनुपर्ने माग उनको छ। यस्तै वीरेन्द्रनगर ४ का अमृत गौतम सरकारले छात्रवृतिका नाममा २४ हजार बाहेक अन्य सहयोग नगरेको गुनासो गर्छन। अमृतका बुवा टिकाराम गौतमको पनि सोही दिन प्रहरीको गोली लागि मृत्यु भएको थियो । सहिदका परिवारलाई छात्रवृति, औषधउपचार, आयआर्जन तथा रोजगारी दिइने भनिएको थियो। तर, त्यो गफैमा सिमित भएको अमृतको गुनासो छ।

उनकी आमा दुर्गादेवी गौतम दिर्घ रोगी छिन् । मुटुको भल्व परिवर्तन गरेकी दुर्गादेवीलाई अहिले उपचारमा समस्या भईरहेको छ। आम्दानीको मुख्य स्रोत कृषि रहेको टिकारामको ६ जनाको परिवार उनकै कमाईले पालि रहेको थियो। अहिले उनको परिवार समस्यामा परेको छ।

तपाईको प्रतिक्रिया