सुर्खेत। भेरीगंगा नगरपालिका–५ गेरवानीका रामबहादुर चन्द र कवि वली घास काट्न भनेर बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा उक्लिए । घरबाट विहानै जंगल लागेका उनीहरु खाना खाने समयमा घर आइपुग्नु थियो । वर्षातको बेला भएकोले जंगलमा प्रशस्त घास पलाइएकाले धेरै टाढा जानु पर्ने बाध्यता पनि थिएन । तर उनीहरु सधै जसो जंगल पुगेर घास ल्याउने दिनचर्या हो ।
यद्यपी उनीहरु आइतबार विहानै जंगल गएपनि अवेरसम्म नफर्किदा आफन्तले खोजी गरेका हुन् । प्रायः उनीहरु घास काट्ने क्षेत्रका सम्भावित ठाउँहरुमा खोजविनमा जुटेका स्थानीय र आफन्तहरुले घरदेखि करिव पाँच सय मिटरको दुरीमा मृत अवस्थामा शव फेला पारे ।

आफन्तले फेला पारेको दुवै शवका प्रकृति चन्दको पेट र वलीको घाँटीको भागमा खाइएको अवस्थामा फेला पारेको भेरीगंगा नगरपालिका– ५ नम्बर वडाध्यक्ष प्रेमबहादुर सारुले नेपालीरैबारकर्मीले जानकारी दिए । ‘प्रायः सधै घास काटन गइरहेन जंगलमा यसरी जंगली जनावरबाट आक्रमण भएको यो पहिलो घटना हो,’ वडाध्यक्ष सारुले भने, ‘यो क्षेत्र निकुञ्जको मध्यवर्ती क्षेत्र हो । यद्यपी दुई जनाको ज्यान जाने गरि भएको घटनाले गाउँले त्रसित छन् ।’
वडाध्यक्ष सारुकाअनुसार दुवै जनाको मृत्युको कारण जंगली बाघ भएको दावी गरे । ‘गाउँमा यसअघि पशुचौपायलाई बाघले मारिरहेका घटना भइरहेका थिए तर मानवीय क्षती पु¥याइएको यो पहिलो घटना हो,’ सारु भन्छन्, ‘नरभंक्षी बाघ नियन्त्रणको माग राख्दै स्थानीय बबईमा झरेर आन्दोलन गर्न बाध्य भएका हुन् ।’
निकुञ्जले जंगली जनावरहरुबाट नागरिकको मृत्यु भएमा जनही १०-१० लाख क्षतीपूर्ती रकम प्रदान गर्छ । चन्द र वलीको शरिरमा खाइएको शवको आधारमा स्थानीयले बाघ बाहेक अन्य कुनैपनि जनावरले आक्रमण नगरेको दावी गरेको सारु बताउँछन् । ‘यो पूर्ण रुपमा निकुञ्जकै क्षेत्र हो । विगतमा बाघले पशुचौपाय खाएको आधारमा बाघ बाहेक अरुले जंगली जनावरले आक्रमण नगरेको स्थानीयको ठम्याइँ छ।’ सारुले भने, ‘कम्तिमा आगामी दिनमा जंगली जनावर र मानवविचको द्वन्द्व कम गर्न निकुञ्ज प्रशासन गम्भीर हुनुपर्ने मागसहित स्थानीय अग्रसर भएका हुन् । सम्वादमार्फत माग सम्बोन्धनको प्रयास भइरहेको छ ।’
स्थानीयले मानवीय क्षती पुर्याउने जंगली जनावरलाई नियन्त्रणमा लनिुपर्ने, उचित क्षतीपूर्ती दिनुपर्ने र मध्यवर्ति क्षेत्रको खारेजीको माग अघि सार्दै रत्न राजमार्गको बबई पुल नजिकै स्थानीयले सडक अवरुद्ध गरिरहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् एसएसपी माधवप्रसाद श्रेष्ठले स्थानीयले ११ बजेबाट सडक अवरुद्ध गरेकाले समन्वय गरेर सुचारु गर्ने प्रयास गरिरहेको जानकारी दिए । सडक अवरुद्धहुँदा सुर्खेतबाट बाहिरिने र कर्णाली भित्रने सवारीहरु बबइ पुल पारी र वारीतर्फ रोकिएका छन ।










सुशील खड्का । २०७९ श्रावण ३०, सोमबार