सहिदका सपना पूरा गर्न माओवादी प्रतिबद्ध छ : पूर्व मुख्यमन्त्री शाही

सुर्खेत। कर्णाली प्रदेशका संस्थापक मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश प्राप्तिको आन्दोलनका क्रममा सहिद भएका व्यक्तिहरुको सपना पूरा गर्नका लागि नेकपा माओवादी प्रतिबद्ध रहेको बताएका छन्।

प्रदेश स्थापना दिवस तथा सहिद दिवस–०७९ को अवसरमा शुभकामना सन्देश दिँदै उनले आन्दोलनका क्रममा व्यक्त भएको उत्साह र सपना पूरा गर्न माओवादी केन्द्र प्रतिबद्धताका साथ लागिरहेको बताएका हुन्।

‘भौगोलिक विकटता, आर्थिक विपन्नता, सामाजिक पछौटेपन र भौगोलिक विकासमा पछाडि रहेको कर्णालीलाई तीव्र सामाजिक, आर्थिक र भौतिक विकास गरि अघि ल्याउन माओवादी अग्रसर छ,’ उनले भने, ‘हाम्रो दलको अभियानका सबै तह र तप्काको सहयोगका लागि आह्वान गर्दछु।’ पूर्व मुख्यमन्त्री शाहीले कर्णालीबासीले आफ्नो प्रदेश प्राप्तिका लागि वलिदानीपूर्ण संघर्ष गर्नुपरेको बताए।

उनले हालको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई एउटै प्रदेश कायम गरिएको विरोध तथा प्रदेश बासीका लागि छुट्टै प्रदेश स्थापना गरिनुपर्ने मागसहित १३ दिनसम्म चलेको जनआन्दोलन र ४ जना शहीदहरुको बलिदानी पश्चात नै कर्णाली प्रदेश स्थापना भएको बताएका छन्।

 

तपाईको प्रतिक्रिया