रुकुम पश्चिममा पहिरोमा पुरिँदा आमा–छोरीको मृत्यु

सुर्खेत । रुकुम पश्चिममा पहिरोमा पुरिँदा आमा–छोरीको मृत्यु भएको छ । आइतबार अपराह्न रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १४ पिपलचौरमा पहिरो जाँदा आमा–छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । एक बालिकाको जीवितै उद्धार गरिएको छ ।

पिपलचौरमा रहेको सामुदायिक वनको भवन पहिरोले पुरेको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा जाजरकोट जिल्लाको भेरी नगरपालिका १ मैदैकी ३० वर्षीया बालमती राना र उनकी दुई वर्षीया छोरी प्रतिक्षा राना रहेका छन् । जेठी छोरी ६ वर्षीया तिर्सना रानाको जीवितै उद्धार गरिएको छ । उनीहरू सो भवनमा ओत लागेर बसेको समयमा पहिरोले भवन पुरेको प्रहरीको भनाइ छ ।

आइतबार जाजरकोटको नलगाड नगरपालिका १ स्थित माइतीघरबाट तीजको दर खाएर घर फर्कने क्रममा पानी पर्दा उनीहरु पिपलचौरमा रहेको छेपारे सामुदायिक वनको भवनमा ओत लाग्न गएका थिए ।

नेपाल प्रहरी, आठबीसकोट नगर प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरो पन्छाउने क्रममा सामुदायीक भवनको झ्यालमा चेपिएको अवस्थामा तिर्सनाको उद्धार गरिएको र दुई जनाको शव निकालिएको प्रहरीले जनाएको छ । घाइते तिर्सनालाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट ल्याइएको छ ।

तपाईको प्रतिक्रिया