काठमाडौं। पछिल्लो समय सामाजिक सञ्जाल चुनौतीपूर्ण बन्दै गएको छ। मानिसको दैनिक जीवनलाई सरल र सहज बनाउँदै गएको भए पनि व्यक्तिगत गोपनीयतालाई ख्याल नगर्दा यो चुनौतिपूर्ण बन्दै गएको हो।
सामाजिक सञ्जाल दैनिक जसो कार्यालयमा हुने कामकारबाही होस् वा घरायसी समस्यालाई फरक ठाउँमा रहेर सहज रुपमा समाधान गर्न सकिने माध्यम बन्दै गएको छ। तर अर्कोतर्फ कतिपयले भने गलत मनसायका साथ व्यक्तिगत चरित्रमाथि प्रहार गर्दै अघि बढेकाले चुनौतिपूर्ण बन्दै गएको छ।
एक ठूलो अनलाइन कम्युनिटीमा लुकिछिपी भारी मात्रामा महिलाका तस्वीर र भिडिओ शेयर तथा खरिद बिक्री भइरहेका छन्। यसमा कम्तिमा १५० जना भन्दा बढी महिलाका निजी भिडिओ तथा तस्वीर समेत सामेल छन्।
बीबीसीको पानोरमा अनुसन्धानमा यो तथ्य बाहिर आएको हो। “मैले आफूलाई निकै अपमानित भएको महसुस गरेँ । यस्तो लाग्यो कि म उसको निजी सम्पत्ति हुँ। मैले जब यो देखेँ, हैरान भएँ। मलाई लाग्यो, यो के म नै हुँ ?”।
यो ती महिलाको आवाज हो, जसको अनुमति बिना उनका गोप्य तस्वीर शेयर गरिएका छन्। तन्वी एक सामाजिक सञ्जाल इन्फ्लुयन्सर हुन्, उनको इन्स्टाग्राम अकाउन्टबाट एक तस्वीर निकालेर सामाजिक सञ्जाल रेडिट नामक वेबसाइटमा शेयर गरिएको थियो।
पुरुषहरूको एउटा यस्तो ग्रुपमा, जसमा दक्षिण एसियाली महिलाहरूको तस्वीर राख्ने गरिन्छ। तन्वी भन्छिन्, “निकै धेरै पुरुषहरूले मेरो बारेमा कमेन्ट गरिरहेको देखेकी छु। मेरो बारेमा जानकारी पत्ता लगाउने कोसिस गरिरहेका छन्। उनीहरूले मसँग गर्न चाहेको कुरा अपमानजनक र यौनजन्य थियो।”
यो ग्रुपमा राखिएका कतिपय तस्वीरहरू नितान्त निजी तथा गोप्य थिए। सायद पार्टनरले आपसमा शेयर गरेका हुन सक्छन्। अर्को पोस्ट हेर्दा लाग्छ, यौन सम्पर्क राख्दा ती महिलाको भिडिओ लुकाएर लिइएको थियो।
जस्तै कि आयशाको, उनको गोपनीयताको लागि बीबीसीले नाम गोप्य राखेको छ। उनले आफ्नो पीडा पोख्दै भनेकी छिन्, “मैले मान्छेहरूसँग भेटघाट गर्न बन्द गरिदिएकी थिएँ। घरबाट बाहिर निस्किन छोडिदिएकी थिएँ। म मानसिक रोग विशेषज्ञकहाँ जान थालेकी थिएँ। म आफैँले आफैँलाई चोट दिन थालेँ। आत्महत्याको प्रयास समेत गरेँ। किन कि मलाई यो सबै झेल्न सक्दिनँ भन्ने लागिरहेको थियो।”
विश्वका पाँच करोड मानिसहरूले यो सामाजिक सञ्जाल हरेक दिन खोलिरहेका हुन्छन्। यसमा तपाईँले आफ्नो ग्रुप बनाउन सक्नुहुन्छ र कुनै पनि विषयमा चर्चा गर्न सक्नुहुन्छ। तर यो वेबसाइटमा यस्ता अनेकौँ त्यस्ता ग्रुपहरू छन्, जहाँ प्रयोगकर्ताहरू महिलाहरूका गोप्य तस्वीरहरू खरिद बिक्री गरिरहेका छन्।
त्यसमा केही यौनिक प्रकृतिका छन्। दुई वर्ष अघि जर्जीलाई एक अपरिचित व्यक्तिले सम्पर्क गरे र भने उनका नितान्त निजी तस्वीरको एक फोल्डर सामाजिक सञ्जालमा शेयर भइरहेको छ। त्यसबेला त्यो रेडिटमा भने थिएन। “मलाई ती तस्वीरहरूको सम्झना छ। मैले कयौँ वर्ष पहिला आफ्नो पूर्व पार्टनरसँग शेयर गरेकी थिएँ। मलाई उक्त एक्स पार्टनरले ती तस्वीरहरू डिलिट गरेको भरोसा दिलाएका थिए। उनले मेसेजमा लेखेरै यो कुरा कबोल गरेका थिए। तर उसले मलाई हानी पुर्याउने त्यस्तो कुनै कुरा गरेको थिएन। त्यसैले प्रहरीहरूले मलाई आफूहरूले केही गर्न नसक्ने बताए।”
केही पुरुषहरूले यस प्रकारका तस्वीरहरू भारी मात्रामा संकलन गर्ने र त्यसका लागि “कलेक्टर कल्चर” नामक शब्दावली रहेको डरहम विश्वविद्यालयकी प्रोफेसर क्लेयर म्याकग्लिन बताउँछिन्। तर समस्या के छ भने कानूनले गलत मनसायले त्यस्ता तस्वीर शेयर गर्ने एक्स पार्टनरमा केन्द्रित छ। जसलाई ‘रिभेञ्ज पोर्न’ भन्ने गरिन्छ। यसमा अन्तरङ्ग तस्वीरहरूको दुरुपयोगका एकदमै थोरै मामिला मात्रै समेटिन्छन्।”
फेरि उक्त रेडिट ग्रुपमा फर्किउँ, जहाँ आयशा र तन्नीका तस्वीरहरू पोस्ट गरिएका थिए। यससँग जोडिएको बीबीसीको खोजमा विभिन्न १५० भन्दा बढी महिलाका नितान्त निजी तस्वीरहरू राखिएको उल्लेख छ। साथै बिना सहमतिका हजारौँ तस्वीर र भिडिओ पोस्ट गरिएका छन्।
रेडिटले बीबीसीलाई बताएको छ कि उसको सेफ्टी टिमले बेलाबेलामा यस किसिमका समूह तथा दुरुपयोग विरुद्ध कारबाही गर्दै आएको छ। “जो व्यक्तिहरू यो सब गरिरहेका छन्, मेरो सन्देश छ कि कृपया यो सबै बन्द गरिदिनुहोस्। अनि सबै पीडितहरू आवाज उठाउनुहोस्, तपाईँ बोल्न सक्नुहुन्छ,” एक पीडित महिला भन्छिन्।
“जब तपाईँलाई जवाफदेही ठहर्याइनेछ, जब यो गैरकानूनी हुन्छ र सरकार ऐन कानून लागू गर्छ, तब तपाईँ निकै ठूलो मुस्किलमा पर्नु हुनेछ,” अर्की पीडित महिलाको भनाई छ।
हाललाई कानून र प्रविधि कम्पनीहरू यस प्रकारका गलत अभ्यासलाई नियन्त्रण गर्न संघर्षरत छन्। तर आखिरमा जिम्मेवारी ती गुमनाम हजारौँ प्रयोगकर्ताको हुन्छ, जसले आपत्तिजनक तस्वीर शेयर गरिरहेका छन् र तिनको खरिद बिक्री गरिरहेका छन्। टेकपाना
नेपालीरैबार । २०७९ भाद्र १४, मंगलवार