मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्दै प्रदेश अस्पताल

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा निकट भविष्यमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । शनिवार प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला प्रत्यारोपण सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा अस्पताल प्रशासनले स्वास्थ्य सेवा विभागबाट अनुमति पाए लगत्तै सेवा सुरु गर्ने जनाएको छ ।

प्रत्यारोपण सेवाका लागि भौतिक संरचना र उपकरणको व्यवस्थापन भइ सकेको अस्पतालले जनाएको छ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले अंग प्रत्यारोपण सेवमा अस्पतालले गरेको प्रगति कर्णाली स्वास्थ्य क्षेत्रको सफलतामा अर्को खुड्किलो थपिएको बताएका छन् ।

संघीय संरचनापछि कर्णालीका १० वटै जिल्लाका नागरिकको स्वास्थ्य प्रत्याभुतिका लागि अस्पताललाई संघबाट प्रदेशको मातहतमा ल्याएको उद्घोष गर्दै मन्त्री बुढाक्षेत्रीले भने, ‘कर्णालीको स्वास्थ्य क्षेत्रमा प्रदेश अस्पतालले खेलेको भुमिका अतुलनिय छ, अस्पताललाई यो अवस्थामा ल्याउन अहोरात्र खटिने अस्पताल प्रशासनलाई सामाजिक विकास मन्त्रालय धन्यवाद ज्ञापन गर्दछ ।’

पूर्वाधार विकास, अस्पतालको स्तरोन्ती र दक्ष जनशक्ति व्यवस्थापन लगायतका विषयमा प्रदेश सरकारले कुनै कसरत बाँकी नराख्ने मन्त्री बुढाक्षेत्रीको भनाई थियो ।

यस्तै, अस्पतालका निर्देशक प्राध्यापक डाक्टर डम्बर खड्काले विशेषज्ञ डाक्टरको व्यवस्था भए कर्णालीका नागरिकलाई उपचारका लागि प्रदेश बाहिरिनु पर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् ।

डा. खड्काले स्रोत, साधन र जनशक्तिको उपलब्धतामा सरकारले कन्जुस्याई नगरे प्रदेश अस्पताललाई काठमाडौंपछिको गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाको रुपमा विकास गर्ने उद्घोष गरेका हुन् ।

सरकारले ७ प्रदेशमा अंग प्रत्यारोपण केन्द्र स्थापना गर्ने नीति लिएपछि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरबीच भएको सम्झौता अनुरुप प्रत्यारोपण सेवा सुरु गर्नुपूर्वको तयारीका विषयमा गरिएको अन्तर्क्रिया अंग प्रत्यारोणका लागि आवश्यक विशेषज्ञको अभाव रहेको खड्काको भनाई छ ।

अन्तक्रियामा बोल्दै डाक्टर खड्काले भने, ‘हामी भौगोलिक हिसावले विकट मानिएका छौं, कर्णाली नागरिकले उपचारका लागि प्रदेश बाहिरिनुको बाध्यात्मक परिस्थिती हामीले बुझेका छौं ।’

डाक्टर खड्काले भने, ‘कर्णालीवासीले काठमाडौंबाट लिने सुविधा हामीले किन सुरु नगर्ने, बिरामी हुँदा हाम्रा अस्पताल किन विश्वनिय नहुने, के हामीले काठमाडौंको स्वास्थ्य सेवा हाम्रै प्रदेशबाट दिन सक्दैनौ र ?’

अस्पतालको हालसम्मको प्रगतिका बारेमा स्पष्ट पार्दै डाक्टर खड्काले अस्पताललाई देशकै सुविधा सम्पन्न बनाउँन आफू लागि परेका बताए । अस्पतालको भौतिक संरचना, प्रशासनिक एवम् समर्ग विकासमा हातेमालो गर्ने सबैप्रति कृतज्ञ रहेको डाक्टर खड्काको भनाइ छ ।

प्रदेश अस्पताल सुर्खेतबाट मिर्गौला प्रत्यारोपण सेवा स्वास्थ्य विभागले स्वीकृति प्रदान गरेको अवस्थामा अबको केही महिनामै सुरु हुने खड्काको भनाइ छ ।

नेपालमै प्रयोगमा नआएको एआरआई मेसिन सञ्चालनमा ल्याउन लागेको उल्लेख गर्दै केही मिडियाले अतिरञ्जित सन्देश फैलाउन खोजेको डाक्टर खड्काले गुनासो गरे ।

यस्तै कार्यक्रममा बोल्दै सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका अंग प्रत्यारोपण विशेषज्ञ डाक्टर पुकार चन्द श्रेष्ठले मुत्यु भएका व्यक्तिहरुको अंग दानमा जोड दिइनु पर्ने बताए ।

मिर्गौलामा आउने समस्यालाई ‘साइलेन्ट किलर’ को संज्ञा दिँदै डाक्टर श्रेष्ठले भने ‘मिर्गौला फेल हुनुको मुख्य कारण हाम्रो अव्यवस्थित खान पान र रहनसहन हो, मिर्गौलाले करिव २० प्रतिशतभन्दा कम काम गर्न छाडेपछि एक्कासी समस्या देखा पर्दछ, यसरी समस्या देखा परे हामीसँग २ वटा विकल्प रहन्छन्, पहिलो डायलसिस र अर्को मिर्गौला प्रत्यारोपण ।’

पोखरापछि सुर्खेतमा अंग प्रत्यारोपण सेवा सुरु गर्न लागेको भन्दै अस्पतालसँगको सहकार्यपछि कणर्ालीका नागरिकलाई अंग प्रत्यारोपणका लागि प्रदेश बाहिर जानु पर्ने स्थितीको अन्त्य हुने बताए ।

तपाईको प्रतिक्रिया