तीन दशकपछि कँडेल र शाक्यबीच चुनावी मैदानमा भिडन्त

सुर्खेत । नेकपा एमालेबाट ‘हेभीवेट’ नेता यामलाल कँडेल मुख्यमन्त्रीको सपना देखेर २०७४ मा सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (क) चुनाव लडी निर्वाचित भएका थिए । तर, मुख्यमन्त्रीका लागि उनले गरेका हरेक राजनीतिक योजना सफल भएनन् । मुख्यमन्त्री बन्ने सपना देख्दादेख्दै फेरि चुनाव आएको छ ।

आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा उनले फेरि मुख्यमन्त्री हुने लालसाका बीच आइतबार प्रदेशसभा २ (क) मा मनोनयन दर्ता गराएका छन् । उनका प्रतिद्वन्द्वीका रुपमा नेपाली कांग्रेसका पुराना नेता कालिप्रसाद शाक्य र कँडेलसँगै विद्रोह गरेका शिवप्रसाद उपाध्याय देखिएका छन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत जसमा १४ वडा मिलेर बनेको प्रदेशसभा २ (क) बढी महत्वका साथ हेरिएको छ ।

२०४९ सालमा वीरेन्द्रनगर नगरपालिका सुर्खेतको मेयरमा प्रतिस्पर्धा गरेका कँडेल र शाक्य ३ दशकपछि पुनः चुनावी ‘व्याटल’ मा देखा परेका छन् । कांग्रेसमा गुटगत राजनीतिले नेकपा एमालेका कँडेलसँग मेयरमा हारेका उनै शाक्य ३ दशकपछि पुनः कँडेलसँग चुनावी मैदानमा प्रतिस्पर्धा गर्न आएका छन् ।

शाक्य २०७४ मा जिल्ला समन्वय समितिमा दावी गर्दै वडा सदस्यमा चुनाव लडेका थिए, तर सफल हुन सकेनन् । योबाहेक शाक्यले अन्य कुनै पनि चुनाव लडेका छैनन् ।

२०५१ मा भएको मध्यावधि निर्वाचनमा कांग्रेसका हृदयराम थानीलाई पराजित गर्दै उदाएका कँडेलले ५ पटक निर्वाचनमा सहभागि हुँदा प्रतिनिधिसभामा २ पटक (२०५१ र २०६४) र प्रदेशसभामा १ (२०७४) पटक जित हाँसिल गरेका छन्, भने पर्यटन मन्त्रीसमेत बनिसकेका छन् । एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका कँडेल मुख्यमन्त्री हुने दाउमा २०७४ मा प्रदेश रोजेका थिए ।

यसपालि पनि मुख्यमन्त्री बन्ने होडमा प्रदेश नै रोजेका छन् । अघिल्लो कार्यकालमा नेकपाभित्रको किचलोले मुख्यमन्त्री बन्ने सपना पूरा गर्न नसकेका उनी यसपाली सहजरुपमा मुख्यमन्त्री हुने रणनीतिमा छन् ।
गत स्थानीय तह निर्वाचनको मत परिणामलाई आधार बनाएका कँडेल कांग्रेसको आन्तरिक किचलोले आफूले सहज चुनाव जित्ने दावी गर्दै आएका छन् ।

तर, कांग्रेस संस्थापन इतर पक्षका नेता हृदयराम थानीलाई प्रतिनिधिसभाको टिकट दिँदा सुर्खेत कांग्रेसको आन्तरिक किचलो अन्त्य भएको आकलन सुर्खेत कांग्रेसले गरेको छ । सुर्खेतमा कांग्रेसको संस्थापन पक्षबाट पार्टी उपसभापति पूर्णबहादुर खड्का र इतर पक्षबाट थानीबीचको गुटगत राजनीतिले चरम सीमा नाघेको थियो । कांग्रेसभित्रका यी दुई नेताको गुटवन्दीको कारण स्थानीय तहको निर्वाचनमा सुर्खेतमा कांग्रेस कमजोर बन्न पुगेको थियो ।

२०४९ मा मेयरमा कँडेलसँग पराजित भएका शाक्य अहिले प्रदेशसभा सदस्यमा उनै कँडेलसँग हारको बदला लिने दाउमा छन् । २०३५ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध भएर राजनीति सुरु गरेका शाक्यले पञ्चायतकालमा पार्टीको विभिन्न पदमा रही काम गरेका छन् ।

शाक्य पार्टीका पूर्वउपसभापति, विभाजनको बेला कार्यबाहक सभापति र निरन्तर महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य भएका नेता हुन् । २०५१ सालदेखि २०५३ सालसम्म पार्टीको जिल्ला सचिव रहेका शाक्य २०६२ र ०६३ को जनआन्दोलनका बेला जिल्लाको कार्यवाहाक सभापति भएका शाक्य १३ औं महाधिवेशनमा सभापतिमा हार्ने देखिएपछि ब्याक भएका थिए ।

कांग्रेसको १४ औं महाधिवेशनमा जिल्ला सभापति पदामा उम्मेदवारी दिने घोषणा गरेका उनी २०४८ देखि निरन्तर महाधिवेशन प्रतिनिधि रहँदै आएका छन् ।

तपाईको प्रतिक्रिया