रुसले युक्रेनको खेरसन क्षेत्रबाट सर्वसाधारणलाई हटाउँदै

रुसले कब्जा गरेको युक्रेनको खेरसन क्षेत्रबाट सर्वसाधारणलाई हटाउने भएको छ। युक्रेनी सेनाले दैनिक रकेट हमला गरेको आरोप लगाउँदै दक्षिणी खेरसन क्षेत्रका रुसी नेता भ्लादिमिर साल्डोले सो क्षेत्र खाली गर्न नागरिकलाई आह्वान गरेका हुन्।

साल्डोसँगको फोनवार्तापछि रुसी उपप्रधानमन्त्री मारात खुस्नुलिनले सरकारी टेलिभिजनमा सन्देशमार्फत समर्थन गरेको बीबीसीले जनाएको छ।

रुसी सरकारले खेरसन क्षेत्रका बासिन्दालाई देशका अन्य क्षेत्रमा जान सहयोगको व्यवस्था गर्ने बताउँदै उनले स्थानीयलाई विशेषगरी दक्षिणी रुस र क्रिमियामा जान आग्रह गरे।

खेरसन क्षेत्रबाट गएका सबै नागरिकलाई निशुल्क आवास र आवश्यक बन्दोबस्त मिलाउने खुस्नुलिनले बताए। खेरसन क्षेत्रका नागरिकको पहिलो समूह शुक्रबार रुसको रोस्तोभ क्षेत्रमा पुग्ने रुसी राज्य समाचार एजेन्सी टासले जनाएको छ। युक्रेनी सेनाले हालै उत्तरपश्चिमी खेरसनको केही क्षेत्र पुनः कब्जामा लिएको छ।

तपाईको प्रतिक्रिया