बाढी, पहिरो प्रभावित परिवारलाई राहत वितरण

दैलेख । जिल्लाको चामुण्डा बिन्द्रसैनी नगरपालिकाले बाढी, पहिरोबाट प्रभावित परिवारलाई राहत वितरण गरेको छ। यस बर्षको मनसुन अवधिमा जलजन्य विपत्बाट प्रभावित परिवारहरुलाई पालिकाको विपत् व्यवस्थापन कोषबाट सहयोग प्रदान गरिएको हो।

नगरपालिकाले पालिका भित्र प्राकृतिक र गैर–प्राकृतिक विपत् तथा जलवायु परिवर्तनका कारण उत्पन्न विपत्को अवस्थामा रहेकालाई छिटो र व्यवस्थित रुपमा सहयोग र विपत् जोखिम न्युनिकरणका गतिविधिहरु गर्न पालिकाले कोष स्थापना समेत गरेको छ।

उक्त कोष परिचालन गरि यस बर्षको मनसुनको अवधिमा प्रभावित भएका परिवारलाई सहयोग गरिरहेकोको पालिका प्रमुख तथा नगर विपत् व्यवस्थापन समिति संयोजक गणेशकुमार शाहीले जानकारी दिए।

पालिकाले उपलब्ध गराईरहेको सहयोगले प्रभावित परिवारलाई केहीँ कहसम्म राहत मिल्ने आश गरेको पप्रमुख मनसरा शर्माले बताइन्।

यस्तै, पालिकाको उक्त्त कोषमा यसै वर्ष सेभ द चिल्ड्रेनको सहयोगमा एभरेस्ट क्लब दैलेखद्वारा चामुण्डा बिन्द्रासैनीमा संचालित किरण परियोजनाले कोषमा ६ लाख रकम सहयोग गरेको थियो।

पालिकाले पनि यस बर्ष कोषमा रु १० लाख विनियोजन गरेको पालिकाका लेखा अधिकृत तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामबहादुर रावतले बताए।

नगरपालिकासँगको समन्वयमा सेभ द चिल्ड्रेन र एभरेस्ट क्लबद्वारा संचालित किरण परियोजनाले विपत् पूर्व तयारी र प्रतिकार्यका लागि कोषमा सहयोग गरेको परियोजनाका विपत् जोखिम न्युनिकरण संयोजक हेमन्तराज ओझाले जानकारी दिए।

यस बर्षको मनसुनको बेला परेका अभिरल वर्षाका कारण बाढी, पहिरो तथा जमिन भास्सिएर पालिकाका भित्र विभिन्न् समुदायका ७० घर भन्दाबढी पूर्ण र १५० जति घरमा आंशिक क्षति पु¥याएको छ।

यस्तै, एक जनाको मृत्यू, ४० घर विस्थापित र १०० भन्दा बढी घरधुरीहरू उच्च जोखिममा र ५० रोपनी जमिनमा लगाएको अन्न बालीमा क्षति गरेको रहेका विपत् व्यवास्थापन शाखा प्रमुख मिना अधिकारीले जानकारी दिईन्।

पालिकाले मृतकको परिवारलाई ३० हजार, घर पूर्ण क्षति भएको प्रति परिवार रु १० हजार र आंशिक क्षति भएको परिवारलाई ५ हजार रुपैयाँ सहयोग गरेको छ।

तपाईको प्रतिक्रिया