ग्रामीण क्षेत्रमा पुग्यो ‘कर्णाली उज्यालो कार्यक्रम’

सुर्खेत । कर्णाली प्रदेश सरकारले ग्रामीण क्षेत्रमा विद्युुतको पहुँच पु¥याउन सुरु गर्ने भनिएको ‘कर्णाली उज्यालो’ कार्यक्रम कार्यान्वयमा फड्को मारेको छ । २०७६ माघ ७ मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रबीच ‘कर्णाली उज्यालो’ कार्यक्रम कार्यान्वयनका लागि समझदारी पत्रमा हस्ताक्षर भएर कार्यान्वयन गर्ने प्रक्रिया सुरु भएको थियो ।

तत्कालिन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा उक्त कार्यक्रम कार्यान्वयनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमारी बस्नेत र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

मुख्यमन्त्री कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९÷८० को तथ्याङ्गक भने आएको छैन् । यस आर्थिक वर्षमा ‘कर्णाली उज्यालो’ का लागि १० करोड रकम विनियोजन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय योजना, अनुगमन तथा आर्थिक पूर्वाधार शाखाले उपलब्ध गराएको तथ्याङ्गक अनुसार आर्थिक वर्ष २०७८÷७९ मा कर्णालीका धेरै जसो पालिकाका वडा–वडामा कार्यक्रम लागु गरिएको छ । कार्यक्रम कर्णालीका दुर दराजका बस्तीहरुका नागरिकलाई कर्णाली उज्यालो कार्यक्रमले राहत दिलाएको छ ।

४० स्थानीय तहमा कार्यक्रम लागु

कर्णाली प्रदेशका १० जिल्ला मध्ये नौ वटा जिल्लाका ४० वटा स्थानीय तहमा यो कार्यक्रम लागू भएको छ । सल्यान जिल्ला बाहेक रूकुम पश्चिम, सुर्खेत, जाजरकोट, डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट र दैलेखका विभिन्न पालिकामा काम भइरहेको मुख्यमन्त्री कार्यालयका सुचना अधिकारी कृष्णप्रसाद खरेलले जानकारी दिए ।

उनका अनुसार कालीकोट जिल्लाको खाँडाचक्र र राष्टकोट नगरपालिका, तिलागुफा, नरहरीनाथ, पचालझर्ना, पलाँता, महाबै र सान्नित्रिवेणी गाउँपालिकामा कार्यक्रम लागू भएर कति पय पालिकामा विजुली समेत उत्पादन भई सकेको छ ।

यस्तै, जाजरकोटको नलगाड नगरपालिका, बारेकोट र जुनीचाँदे गाउँपालिका, जुम्लाको कनकासुन्दरी गाउँपालिका, डोल्पाको ठुलीभेरी नगरपालिका, छार्का ताङ्गसोङ्ग, काईके, जगदुल्ला, डोल्पोबुद्ध, मुड्केचुला र शे–फोक्सुण्डो गाउँपालिका, दैलेखको दुल्लु र आठबीस नगरपालिका, गुराँस गाउँपालिका, मुगुको सोरु गाउँपालिा र छाँयानाथ रारा नगरपालिकाका विभिन्न वडामा कार्यक्रम सञ्चालन भएको मुख्यमन्त्री कार्यालयको योजना, अनुगमन तथा आर्थिक पूर्वाधार शाखाले जनाएको छ ।

यस्तै, रुकुम पश्चिम जिल्लाको आठबीसकोट नगरपालिका, त्रिवेणी र सानिभेरी गाउँपालिका, सुर्खेतको वीरेन्द्रनगर र पञ्चपुरी नगरपालिका, चौकुने, बराहताल, सिम्ता र चिङ्गाड गाउँपालिका र हुम्लाको अदानचुली, खार्पुनाथ, चंखेली, ताजाकोट, नाम्खा, सर्केगाड र सिमकोट गाउँपालिकामा कार्यक्रम लागु भइरहेको छ ।

उक्त कार्यक्रमका लागि कर्णाली प्रदेश सरकारले ४४ करोड ५४ लाख ४७ हजार रुपैयाँ बजेट विनियोज गरेको थियो । जसमा ३५ करोड चार लाख ८१ हजार रुपैयाँ अर्थात् ७८ दशमलव ८४ प्रतिशत कार्यन्वयनमा आएको सुचना अधिकारी खरेलले जानकारी दिए ।

कहाँ–कहाँ हुँदै छ काम ?

सुचना अधिकारी खरेलका अनुसार कालीकोट जिल्लाको तिलागुफा नगरपालिका १, ३, ८ नम्बर वडामा वडावासीलाई विद्युतको पहुँचमा पु¥याउन काम भइहरको छ । वडा नम्बर १ मा मालिका जल विद्युत आयोजना, ३ मा तल्ला रकाल वडा सोलार कार्यक्रम र ८ नम्बर वडामा ढाडखोला लघु विद्युत आयोजनाको काम भइरहेको छ । त्यहाँका वडामा क्रमश ३०, ४० र २० लाख रकम विनियोजन गरिएको छ ।

कालीकोट कै नरहरीनाथ गाउँपालिका वडा नम्बर ७ र ९, पचालझरना गाउँपालिकाको वडा नम्बर ४ र ९, पलाँता गाउँपालिकाको ५, ७ र ९ नम्बर वडा, महाबै गाउँपालिकाको ३ नम्बर वडा, राष्कोट नगरपालिकाको ९ नम्बर वडा र सान्नित्रिवेणी गाउँपालिका पनि कार्यक्रम लागू भएको छ भने प्रत्येक वडा÷वडामा १५, ४० लाखका दरले बजेट विनियोज भएको छ ।

जाजरकोट जिल्लाको नलागाड नगरपालिकाको १ नम्बर वडा र जुनीचाँदे गाउँपालिकाको ५ र ११ नम्बर वडामा जुरेली सौर्य विद्युत उत्पादन, लादर खोला लघु जल विद्युत आयोजना लगायतका योजना कार्यक्रमनमा आई धमाधम काम भइरहेका छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिकाको २ नम्बर वडामा रोत नौमुले लघु जल विद्युत आयोजना सञ्चालन भएका छ भने त्यस योजनाका लागि २० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।

यस्तै, डोल्पा जिल्लाकोे काईके गाउँपालिका–४ मा पनि यो कार्यक्रम लागु भएको छ । वडा नम्बर ४ मा व्यास गाड लघु जल विद्युत आयोजना यसै कार्यक्रमबाट सञ्चालनमा आएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । काईके कै २ र ३ नम्बर वडामा यालाकोट लघु जल विद्युत आयोजना, छार्का ताङ्गसोङ्गबाट घर–घरमा विद्युत पु¥याउने काम भइरहेको छ ।

जगदुल्ला र डोल्पोबुद्ध गाउँपालिकाको वडा नम्बर ४, डोल्पोबुद्धको ६ नम्बर वडा, मुड्केचुलाको ७ र शे–फोक्सुण्डो गाउँपालिका २ नम्बर वडामा पनि काम धमाधम भइरहेको छ । यी वडामा वडाको जनसंख्याको आधारमा १५ लाखदेखि ६५ लाखसम्म बजेट विनियोज गरिएको छ ।

यस्तै, मुगु जिल्लाको सोरु गाउँपालिकाको ४, ६ र ७ नम्बर वडामा क्रमश फोतु साना जलविद्युत आयोजना, सोरूकोट विद्युतीकरण कार्यक्रम र महादेव खोला लघु जल विदुत आयोजनाबाट काम भइरहेको छ । सोरु गाउँपालिकाको ४ मा दश लाख, ६ मा २० लाख र ७ मा दश लाख बजेट विनियोज गरिएको छ ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका २, ५, ६, ७ र ९ नम्बर वडाका विभिन्न स्थानमा गरि ६ वटा जल विद्युत आयोजनाका काम भईरहेको र एक आयोजनका लागि १५ लाखदेखि ८० लाख रुपैयाँसम्मको बजेट विनियोजन गरिएको मुख्यमन्त्री कार्यालयले बताएको छ ।

सुर्खेत जिल्लाको नौ वटा स्थानीयका विभिन्न पालिकामा गरि १८ वटा ठाउँमा आयोजनाको काम तिव्र रूपमा चलिरहेको सुचना अधिकारी खरेलले दाबी गरे । उनकाअनुसार जिल्लाको चौकुने गाउँपालिकाको वडा नम्बर ६ मा २५ लाख बराबरको सोलार वितरण गरिएको छ । चौकुनेको वडा नम्बर ८ मा भाम्ले लघु विद्युत योजना २० लाखको अयोजना रहेको छ । पञ्चपुरी नगरपालिका ४, ५, ८ र ९ नम्बर वडाका विभिन्न ठाउँमा आयोजना लागु भएर विद्युत उत्पादन गर्ने काम भइरहको छ ।

सुर्खेतकै सिम्ता गाउँपालिकाको वडा नम्बर ४, ६, वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ८, ११ र १२ यी वडामा बायोग्याँस उत्पादनदेखि आई.टी ल्याब तथा सोलार स्थापना लगायतका आयोजना सकिए सञ्चालनमा आएका छन् भने केही आयोजना सञ्चालनमा आउँने तयारीमा रहेका मुख्यमन्त्री कर्यालयले जनाएको छ ।

दैलेखको आठबीस नगरपालिका, गुराँस गाउँपालिका, हुम्लाको सिमकोट गाउँपालिकामा सामुदायीक रेडियो कैलाश एफ.एम. १०३.४ मेगाहर्जको लागि १५ कि.व क्षमताको सोलार व्यवस्थापनका लागि ३२ लाख बढी रकम विनियोजन गरिएको छ । हुम्लाकै खार्पुनाथ गाउँपालिकाको ४ र ५ नम्बर वडा, सर्केगाड गाउँपालिका, अदानचुली गाउँपालिका, नाम्खा र ताजाकोट गाउँपालिकामा पनि कर्णाली उज्यालो कार्यक्रम लागु भएर त्यस भित्र विभिन्न योजनाबाट जल लघु विद्युत आयोजना सञ्चालन भएर कार्यन्वयमा आएको मुख्यमन्त्री कार्यालयका सुचना अधिकारी खरेलले जानकारी दिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय योजना, अनुगमन तथा आर्थिक पूर्वाधार शाखाले उपलब्ध गराएको तथ्याङ्गक अनुसार आर्थिक वर्ष २०७७/०७८ मा २५ करोड रकम विनियोजन गरिएको थियो। जसमा २१ करोड ८९ लाख २८ हजार रुपैयाँ कार्यनव्यन मा आएको थियो ।

आर्थिक वर्ष २०७६/०७७ मा यो कार्यक्रमका लागि प्रदेश सरकारले २७ करोड ३ लाख २१ हजार ४५० रुपैयाँ बजेटको विनियोजन गरेको थियो । उक्त समयमा प्रदेशका विभिन्न स्थानीय तहमा ७३ ओटा लघु आयोजनाका लागि पठाइएको थियो ।

‘कर्णाली उज्यालो’ कार्यक्रम अन्तर्गत जाजरकोटको भेरी नगरपालिका–११ को बुङ्ग्रे खोला जलविद्युत् आयोजनाको कुलो निर्माण, जेनेरेटर, इएलसी बोर्ड, हिटर, २५० पोल र १७ किलोमिटर तार तानेर काम अगाडी बढाएको थियो । कर्णालीका धेरै स्थानीय तहमा विद्युतको पहुँच नपुगेको भन्दै गाउँबस्तीमा दिगो बत्ती बाल्ने र भइरहेका आयोजनालाई नियमित सञ्चालन गर्न २०७६ माघबाट उज्यालो कार्यक्रम ल्याइएको हो ।

तपाईको प्रतिक्रिया