इमरान खानले देशद्रोह गरे : गृहमन्त्री सनौल्ला

पाकिस्तानका गृहमन्त्री राना सनौल्लाले पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का प्रमुख इमरान खानले पाकिस्तानविरुद्ध देशद्रोह गरेको आरोप लगाएका छन्।

जिओ न्यूजसँग कुरा गर्दै उनले भने, ‘इमरान खानले राज्यविरुद्ध देशद्रोहको अपराध गरिरहेका छन्।’ पाकिस्तानको पञ्जाब प्रान्तको वजीराबादमा गत हप्ता एक राजनीतिक र्‍यालीका क्रममा गोली प्रहार गरिएका पाकिस्तानका पूर्वप्रधानमन्त्री खानले राजधानी इस्लामावादतर्फको लामो पदयात्रा मंगलबार देखि पुनः सुरु गर्ने घोषणा गरेका छन्।

लाहोरमा आयोजित पत्रकार सम्मेलनमा खानको भनाइलाई उद्धृत गर्दै पाकिस्तानी पत्रिका डनले भनेको छ, ‘हामीले निर्णय गरेका छौं। हाम्रो मार्च वजीराबादको त्यही बिन्दुबाट सुरु हुनेछ जहाँ मलाई र अन्य ११ जनालाई गोली हानिएको थियो। उक्तस्थानमा मोअज्जम शहीद भएका थिए।’

सनौलाले खानलाई ‘संस्थाहरूले अंगीकार गरून भन्ने’ चाहेको भन्दै पाकिस्तानी संस्थाहरूलाई पीटीआई प्रमुखको ‘खराब एजेन्डा’ विरुद्ध उभिन आग्रह गरेका छन्। ‘ खानको एउटै मात्र माग छ : उनलाई प्रधानमन्त्रीको कुर्सीमा बस्नका लागि संस्थाहरूले अङ्गीकार गर्न चाहन्छन्’, गृहमन्त्रीले भने।

खानले सेना प्रमुखको नियुक्तिलाई विवादास्पद बनाउन चाहेको पनि सनौल्लाले दावी गरे।

तपाईको प्रतिक्रिया