कर्णालीमा निर्वाचन सुरक्षा चुनौती : भौगोलिक विकटता र बहिष्कार समूह

सुर्खेत । आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा कर्णालीमा विशेष सुरक्षा रणनीतिलाई लागु गर्न सुरक्षाका चार वटै निकायले विशेष रणनीति अपनाउने भएका छन् । सुर्खेतमा समग्र प्रदेशभरीको सुरक्षा अवस्थाको वस्तुगत समिक्षा गर्दै तयारी अवस्थामा हेलिकोप्टरसहित सुरक्षाकर्मी राख्नेदेखि मतदानमा हुन सक्ने सम्भावित घटना रोक्न सुरक्षा रणनीति तय गरिएको हो ।


गृह मन्त्रालयका सचिवसहित केन्द्रीय सुरक्षा निकायका प्रमुखहरु सहभागी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा जिल्लागत रुपमा १० वटै सुरक्षा निकायले सुरक्षा चुनौती र थाल्नु पर्ने रणनीतिबारे जानकारी गराएका छन् । मुख्यगरी निर्वाचनको समयमा कर्णालीको कठिन भौगोलिक चुनौतीले मतदानको दिन अप्रिय घटना हुनसक्ने रिपोटिङ्ग सम्वन्धित जिल्लाका सुरक्षा निकायले गोष्ठीमा गरेका छन् ।

‘मुख्यगरी भौगोलिक चुनौती, दलगत रुपमा दोहोरो झडप र निर्वाचन बहिष्कार गर्ने समुहलेसमेत अप्रिय घटना गर्न सक्ने सुरक्षा चुनौतीबारे जानकारी गराइएको छ,’ सुरक्षा गोष्ठीमा सहभागी एक प्रहरी अधिकारीले भने, ‘निर्वाचनको समयमा जिल्लास्तरको रिपोटिङ्गपछि आवश्यक थप सुरक्षा रणनीतिमा सहयोग तथा समन्वयमा केन्द्रीय गृह मन्त्रालयले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।’ निर्वाचन मिति नजिकीदै गर्दा जिल्लामा हुन सक्ने सम्भावित घटनाको वस्तुगत सबै जानकारी गराएको पनि उनले जानकारी दिए ।

‘मन्त्रालयसहित केन्द्रीय प्रमुख ज्यूहरुले जिल्लाको सुरक्षामा कुनै कमजोरी नगर्न निर्देशन दिनुभएको छ, त्यसका लागि आवश्यक सहयोग र समन्वय गृह मन्त्रालयले गर्नेछ,’ ति सुरक्षा अधिकारीले भने, ‘मतदानको दिन, मतपेटिका संकलनको क्रममा वा त्यो भन्दा अघि निर्वाचन प्रचारप्रसारको समयमा कुनै घटना भइहाले भने तत्काल पुग्न सक्ने ठाउँमा स्थलमार्गबाट चार वटै सुरक्षा निकायलाई खटाउने र यदि सम्भव नभएका ठाउँमा सुर्खेत विमानस्थलमा हेलिकोप्टरसहितको रिजर्भ फोर्स पठाउनेसम्मको सुरक्षा रणनीति तय गरिएको छ ।’

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले कर्णालीमा मुख्यगरी सुरक्षा चुनौती भनेको दलहरुले उम्मेद्वारी दर्तापछि जित्ने होडवाजीका कारण हुनसक्ने दोहोरो झडप रहेको जानकारी दिए । उनले निर्वाचन विथोल्ने समुहपनि गाउँमै रहेकाले अप्रिय घटना गर्न सक्ने भएकाले त्यसलाई रोक्न सुरक्षाका सबै निकायलाई पूर्व तयारीसहितको सुरक्षा रणनीति चलाउन निर्देशन दिएको बताए ।

‘चुनाव विथोल्ने समूहको सुरक्षा निकायले निगरानी राखिसकेकाले त्यसलाई रोक्न हामी सक्षम छौं,’ गृह प्रवक्ता पोखरेलले भने, ‘मतदानको दिन छिटपुट घटना हुँदै हुँदैन भन्न सकिदैन् । त्यस्ता घटना विगतका निर्वाचनको क्रममा पनि भएका छन् । यद्यपी हामी रोक्न तयार छौं । प्रवक्ता पोखरेलकाअनुसार विशेषगरी निर्वाचनको समयमा कर्णालीका विकट क्षेत्रमा कुनै घटना भएमा त्यसलाई रोक्न नेपाली सेनाको एमआई १७ र नीजि कम्पनीका हेलिकोप्टरसहित सुरक्षा निकाय सुर्खेतमा तयारी अवस्थामा रहनेछ ।

प्रवक्ता पोखरेलले देशभरी नै शान्ति पूर्वक निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई परिचालन गरिएको जानकारी दिए । निर्वाचनका लागि मन्त्रालयले देशभर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरीगरी दुई लाख ९८ हजार ५७९ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

कर्णालीका १० जिल्लामा प्रतिनिधि सभातर्फ १२ र प्रदेश सभातर्फ २४ प्रत्यक्ष सिट छन । प्रदेशभरी कुल १० लाख आठ हजार चारसय तीन मतदाता छन् । प्रदेशमा नौसय ३३ मतदान स्थलमा एकहजार चारसय दुई मतदान केन्द्र तोकिएको छ ।

सुरक्षा गाेष्ठीमा गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंह, आन्तरिक मामिला मन्त्री हिमबहादुर शाही, नेपाली सेनाका रथी सरोजप्रताप राणा, कर्णाली प्रदेशका प्रमुख सचिव डा. गोपीकृष्ण खनाल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, शसस्त्र प्रहरी वलका शसस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, कानुन मन्त्रालयकाका सचिव दिनेश सागर ढकाल लगायतको सहभागी थिए ।

तपाईको प्रतिक्रिया