जातिय समानताको उदाहरण दिएको सुर्खेत लगामकाे दृष्य

जहाँ देउता पुज्दा दलितलाई टिका लगाइदिएपछि सुरु हुन्छ पुजापाठ

सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि करिव एक सय किलोमिटरको दुरी पश्चिममा पर्छ सुर्खेतको लगाम । त्यहाँका स्थानीयले मटियार देवताका रुपमा ‘चिउराडी’ को मुख्य पूजाआजा गर्ने गर्दछन् । मन्दिरमा पुजा गर्नु पूर्व बाजा बजाउने दलित समुदाय व्यक्तिलाई मुल धामीले टिका लगाइदिएर नाच्ने प्रचलन छ । यसलाई दलित र गैरदलितवीच समानताको गतिलो उदाहरणका रुपमा लिने गरिएको छ ।


डोटी जिल्लासँग सीमा जोडिएको सुर्खेत चौकुने गाउँपालिका वडा नम्बर १ र २ का नागरिकहरु हरेक वर्ष कार्तिक त्रयोदशीको रातीदेखि पूर्णिमासम्म मटियार देवता ‘चिउराडी’ मा पूजाआजा गर्ने प्रचलन छ । तर मन्दीरमा पूजा गर्नु पूर्व दलित समुदायका बाजा बजाउने व्यक्तिहरुलाई मुख्य धामीले टिका लगाएपछि धामीहरु नाच्ने गर्दछन् ।

अन्यत्रका मन्दिरमा दलित समुदायलाई विभेद हुने गरिएपनि यहाँ भने दलित समुदायले बाजा बजाएर देवताको सेवा गरेकाले मुल धामीले उनीहरुलाई टिका लगाइदिएर आशिष दिएपछि मात्र पुजापाठ अघि अगाडी बढाउने गरिन्छ । लगाममा रातभरी धुनी बालेर धामीसँग स्थानीयहरु हेरान कोरान गर्ने गर्दछन् ।

देवताले जातिय विभेद नगरेकाले दलित होस वा गैरदलितले मन्दीरमा समान उपस्थिति पाउने गरेको लगामका स्थानीय गोपाल बम बताउँछन् । ‘मानव जाति भनेकै महिला र पुरुषमात्रै हो । जातका आधारमा विभेद गर्नु राम्रो पक्ष हैन,’ बम भन्छन्, ‘देवतालाई समुदाय दलित भएपनि उहाँहरुले बजाउने बाजाको ताल जरुरी पर्छ । जहाँ त्यहीँ बाजाको तालमा धामीले नाच्ने हुन् । यी दुवै एक अर्काका परिपूरक भएकाले समान रुपमा यो परम्परा जीवन्त रहेको हो ।’

मुख्य मन्दीरमा पूजा, धामी बसेपछि बोकाहरुको बली दिने चलन रहेको छ । मन्दीरमा चढाइएको बलीमध्य मन्दीरमा उपस्थित सबै दलित समुदायका बाजा बजाउनेलाई दिने गरिएको बमले उल्लेख गरे ।

चौकुने गाउँपालिकाको वडा नम्बर १ धनरासमा मटियार देवता ‘चिउराडी’ को मुख्य मन्दीर छ । साँझ वडा नम्बर २ लगामबाट धामीको नाचसहित पुजा सुरु गरेर भोलीपल्ट मुख्य मन्दिरमासमेत मुल धामीले दलित (दमाई) समुदायका बाजा बजाउने समूहलाई टिका लगाएपछि मात्रै मुख्य मन्दीरमा पनि विधिवत् रुपमा पूजा पाठ शुरु गर्ने गरिन्छ ।

लामो समयदेखि समान रुपमा देवता पुज्ने परम्परा रहेकाले दलित वा गैरदलित भनेर छुट्याउने प्रचलन नरहेको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विक ‘बासपाने’ बताउँछन् । ‘धार्मिक रुपमा आ–आफ्नै मूल्य र मान्यता छन् । धर्ममा जातिय छुवाछुत कतै उल्लेख छैन् ।,’ अध्यक्ष विकले भने, ‘सामाजिक कुप्रथा विगतदेखि लगाममा नरहेको र पालिकाका अन्य क्षेत्रमा विभेद अन्त्य गर्दै यस्ता धार्मिकस्थलहरुको प्रचारप्रसारमा पालिकाले नीतिगत योजना लागू गरेर संरक्षण गर्नेछ ।’

परम्पराकालदेखि नै विभिन्न समस्या पर्दा होस् या अन्य समयमा यहाँका नागरिकहरु मटियार देवता चिउराडीलाई भाकल गर्दै आएका छन् । यो देवताले आफ्ना मनोकांक्षा पुरा गरेको भन्दै लगामदेखि बाह्य जिल्ला, क्षेत्र वा विदेश गएकाहरु देवता पुज्ने समयमा अनिवार्य मुख्य मन्दीरमा पुजा गर्न यहाँ आउने गरेका छन् । पुर्खादेखि मानिआएको देवीदेवताप्रति विश्वास राख्दा मनोकामना पूरा हुने भएकाले भाकल गर्ने गरेको स्थानीय बताउँछन् ।

तपाईको प्रतिक्रिया