बालबालिकालाई राजनीतिक कार्यक्रममा प्रयोग नगर्ने साझा प्रतिबद्धता

सुर्खेत । कर्णाली प्रदेशका राजनीतिक दलहरूले बालबालिकालाई राजनीतिक कार्यक्रममा प्रयोग नगर्ने प्रतिबद्धता जाहेर गरेका छन्। सोमबार वीरेन्द्रनगरमा ‘बालबालिका, विद्यालय र निर्वाचन’ भन्ने नाराका साथ भएको प्रदेशस्थित राजनैतिक दलहरूसँग छलफल तथा अन्तरक्रियामा साझा प्रतबिद्धता जनाएका हुन्।

उक्त अन्तरक्रिया सेभ द चिल्ड्रेनको सहयोगमा शिक्षा पत्रकार समूह कर्णाली प्रदेश समन्वय समितिले आयोजना गरेको थियो।

सहभागी राजनीतिक दलका पदाधिकारीहरूले निर्वाचनका लागि हुने मतदान स्थल र केन्द्रहरू पनि बालबालिबालाई प्रभावित पार्ने गरेर विद्यालयमा गर्न नहुने जनाएका छन्। साथै राजनीतिक दलका चुनावी सभा, आमसभा, प्रदर्शन जस्ता कार्यक्रमहरू पनि विद्यालय र विद्यालयका आसपास गर्नेनुहुने पनि उनिहरुले प्रतिबद्धता गरेका छन्।

छलफलमा राष्ट्रिय जनमोर्चाका विष्णु शर्माले राज्यनै जनताप्रति उत्तरदायी नभएकोले भने जस्तो काम नभएको औलाए। उनले मतदानका लागि सामुदायिक विद्यालयमा बाध्यत्मक भएका कारण त्यसको समाधानका लागि नयाँ विकल्पको खोजी हुने पर्ने माग राखे।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्खेत जिल्ला सदस्य जनक आचार्यले बालबालिकाहरुलाई चुनावी सभामा धेरै नै प्रयोग गरिदैँ आएकोमा सबै राजनीतिक दलहरुको ध्यान जान पनि अनुरोध गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका सुर्खेत सभापति लक्ष्मीनारयण बस्नेतले सार्वजनिक जग्गाहरु नभएका कारण चुनावको समयमा धेरै जसो विद्यालयहरू प्रयोगमा आउने भएकाले बालबालिकाको पढाईमा समस्या हुने गरेको बताए। त्यसका लागि अब हुने निर्वाचन तथा राजनैतिक कार्यक्रमहरु पनि विद्यालय तथा बालबालिकालाई कुनै असर नपर्ने ठाउँमा राख्नु पर्ने सुझाव दिए।

नेकपा एकीकृत समाजवादी पार्टीका सुर्खेत जिल्ला सदस्य लोकप्रसाद चालिसेले बालबालिबा रहित निर्वाचन गर्नुपर्ने, जसका लागि निर्वाचन आयोग र राज्यले उचित विकल्प छान्नुपर्ने बताए। उक्त अन्तरक्रियामा सहभागी राजनीनितक दलका सहभागी सबै प्रतिनिधिहरूले विभिन्न ६ वटा साझा प्रतिबद्धतासमेत जनाएका छन्।

तपाईको प्रतिक्रिया