एमाले कर्णालीको चुनावी प्रतिबद्धता : सुकालो कर्नाली सुखारी माण्ठको गन्तव्य

सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को प्रतिवद्धता–पत्र सार्वजनिक गरेको छ। ‘विकास, सुशासन र समृद्धिको आधार, कर्णाली प्रदेशमा एमालेको सरकार’ भन्ने मूल नारा रहेको प्रतिवद्धता–पत्रलाई प्रदेश कमिटी उपाध्यक्ष लालबहादुर महताराले पार्टीको अनलाइन पोर्टल कर्णाली डट सिपिएन युएमएल डट ओराजीमार्फत सार्वजनिक गरेका थिए।

३२ पेज रहेको प्रतिवद्धतापत्रमा कर्णाली सरकारको पाँच वर्षको समिक्षा गर्नुका साथै गठबन्धन सरकारले निम्त्याएको बेथितिको भण्डाफोर गरिएको छ। एमालेले आफ्नो अग्रणी भूमिकाकै कारण प्रदेशसभाबाट प्रदेशको नाम कर्णाली र सुर्खेतको वीरेन्द्रनगरलाई राजधानी तोक्न सफल भएको जनाएको छ।

२०७४ सालमा नेकपा (माओवादी केन्द्र) सँगको चुनावी तालमेल र कर्णालीप्रति पार्टी केन्द्रको बेवास्ताको कारण प्रदेशसभामा बहुमत हुँदाहुँदै पनि माओवादी केन्द्रको नेतृत्वमा सरकारमा सहभागी हुनुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना भएको प्रतिवद्धतापत्र उल्लेख छ।

प्रतिवद्धतापत्रको पृष्ठभूमिमा भनिएको छ, ‘सत्ता सञ्चालनको अनुभवमा कमी, अपरिपक्व र अपारदर्शीे नेतृत्वका कारण एमालेको भूमिकाबाट मात्रै जनअपेक्षित कामहरु संभव नभएको भएनन् । तथापि सत्ता साझेदार दल हुँदाहुँदै पनि नेतृत्वको अक्षमतालाई बारम्बार घच्घच्याउँदै स्वेच्छाचारिता रोक्न तथा विकास र समृद्धिका लागि एमालेले संसदमा आफनो भूमिकालाई प्रभावकारी बनाइराख्यो।’

सत्ताको लागि माओवादी केन्द्रले कर्णालीबाटै संसदीय व्यवस्थामा नयाँ विकृतिको विजारोपण गरेको एमालेको आरोप छ। माओवादी केन्द्र र नेपाली काँग्रेससहितको गठबन्धन सरकार जनताका आकाँक्षालाई सम्बोधन गर्नुभन्दा स्वयं अनियमितता, भ्रष्टाचार र कमिशनतन्त्रको नाइके बन्न पुगेको प्रतिवद्धतापत्रमा उल्लेख छ।

सत्ता भागवण्डाको लागि अनुचित तरिकाले मन्त्रालय फुटाउने, अनुदानको नाममा कमिसनको लागि आफन्त, पार्टी कार्यकर्ता र आसेपासेलाई करोडौँ रकम पोस्ने, सत्ता टिकाउन छिटो–छिटो मन्त्रीहरु परिवर्तन गर्ने र सांसद जति सबैलाई मन्त्रीको भाग पु¥याउने जस्तो अराजनीतिक काम गरेर प्रदेश सरकारप्रति जनतामा बितृष्णा फैलाउने काम भएको एमालेको ठहर छ।

एमालेको प्रदेश प्रतिवद्धतापत्रमा कर्णाली जनता स्वास्थ्य अभियान, प्रादेशिक स्वास्थ्य अनुसन्धान केन्द्र स्थापना, ७० वर्ष नाघेका सम्पूर्ण जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार, जडीबुटी प्रशोधन केन्द्र स्थापना, पारामेडिकल प्राविधिक स्कूलको स्थापना, हरेक नागरिकलाई दुई हप्ते अनिवार्य स्वास्थ्य सचेतना, सुर्खेतमा मेडिकल कलेज, विद्यालय जान नसक्ने बालबालिकाका लागि विशेष व्यवस्था, कर्णालीका सबै स्थानीय तहलाई पूर्ण साक्षर घोषणा, विद्यालयमा बालिकामैत्री शौचालयको व्यवस्था, बालिका छात्रवृत्ति र विद्यालय नर्स सेवा कार्यक्रम, विद्यार्थीका लागि पोशाक, दिवा खाजा र पाठ्यसामग्री, सीप र रोजगारीसँग आवद्ध गरी पढ्दै र कमाउँदै, आवासीय विद्यालय स्थापना, मातृभाषालाई आधारभूत शिक्षाको पाठ्यक्रममा समावेश, प्रदेश पर्वतीय विश्वविद्यालय, जुम्लाको सिँजालाई ऐतिहासिक साँस्कृतिक केन्द्र, प्रत्येक स्थानीय तहमा सुविधा सम्पन्न खेलमैदान, दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक पूर्वाधार निर्माणलाई तिव्रता दिने कार्यक्रम अघि सारेको छ।

बालश्रम र सडक बालबालिका मुक्त प्रदेश, बालमैत्री स्थानीय तह, एक गाउँ एक बाल उद्यान, अपाङ्गतामैत्री सार्वजनिक संरचना, प्रत्येक वडामा जेष्ठ नागरिक मिलन केन्द्र, गर्भवती, सुत्केरी र जोखिममा परेका महिलाहरुको उद्धार, सहकारी प्रशिक्षण तथा अध्ययन अनुसन्धान प्रतिष्ठानको स्थापना, वीरेन्द्रनगरमा नवपर्वतन केन्द्र निर्माण र डाटा सेन्टर स्थापना, भेरी करिडोर र कर्णाली करिडोर निर्माण, कोहलपुर—सुर्खेत सडक खण्ड फोरलेन, वडा केन्द्रलाई स्थानीय तह र स्थानीय तहलाई रणनैतिक सडक वा सदरमुकाम जोड्ने, सुर्खेत विमानस्थलको विस्तार एवं प्रादेशिक विमानस्थल निर्माण, हरेक पालिकामा कम्तीमा एउटा हेलिप्याड, केवलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन, कृषक परिवारलाई विशेष आर्थिक प्रोत्साहन र निवृतिभरण, प्रत्येक जिल्लामा शीतभण्डार, कोल्ड स्टोर निर्र्माणमा निजी क्षेत्रलाई सहुलियत कर्जा दिने प्रतिवद्धताहरु समेटिएका छन्।

त्यस्तै, प्रदेशस्तरीय पर्यटन गुरुयोजना, रारा र फोक्सुण्डो ताल पर्यटन विकास बोर्ड, स्यार्पु र कुपिण्डे ताल पर्यटन विकास समिति, जुम्लामा खस भाषा र संस्कृति संग्रहालय, एक स्थानीय तह, एक औद्योगिक ग्राम, कृषि उत्पादनमा आधारित उद्योगलाई सहुलियत ऋण, जेष्ठ तथा अशक्त नागरिकलार्ई निःशुल्क स्वास्थ्य परीक्षण, महिला तथा बालबालिकाहरूको उद्धार र पुनस्र्थापना, विपन्न परिवारका सदस्यलाई प्रदेशभित्र हुने रोजगारीका अवसर, अति विपन्न परिवारलाई उच्च तहसम्मको शिक्षा, आधारभूत स्वास्थ्य, खानेपानी र विद्युत निःशुल्क, सरकारी कार्यालयहरुलाई क्रमशः कागजमुक्त, प्रादेशिक आमसञ्चार तथा सूचना प्रविधि प्रतिष्ठान, सुरक्षित बसोबासका लागि सुरक्षित छाना कार्यक्रम, एक घर एक धारा, कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणमा तिव्रता, वीरेन्द्रनगरको शहीद पार्कलाई सालिकसहित थप व्यवस्थित गर्ने, शहादत प्राप्त परिवारका लागि सम्मान भरण, उच्च शिक्षा र रोजगारी लगायतका कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको छ।

प्रतिवद्धता–पत्रमा कर्णाली प्रदेशको समग्र विकास र समृद्धिका लागि उपयुक्त नीति निर्माण गर्ने, कानून निर्माणमा जनसहभागिता सुनिश्चित गर्ने, संविधानप्रदत्त साझा अधिकारका लागि संघ तथा स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गर्ने उल्लेख छ। प्रतिवद्धता–पत्रसंगै एमालेले कर्णाली प्रदेशलाई सबल, समृद्ध, सुशासन र अपार सम्भावनायुक्त प्रदेशको रुपमा विकास गर्ने लक्ष्य लिएको छ। आफ्ना उम्मेदवारहरुले आर्थिक अनियमितता गर्ने छैनन् न कुनै भ्रष्टाचारमा संलग्न नहुने सार्वजनिक संकल्प गरेको छ।

तपाईको प्रतिक्रिया