कर्णालीमा संक्रमित बढ्दै, लक्षणसहितका भने न्यून

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) का लक्षणसहितका संक्रमितको संख्या न्यून छ । चिकित्सकहरूका अनुसार प्रदेशमा कोरोना पुष्टि भएर अस्पताल भर्ना हुने झण्डै ९८ प्रतिशत संक्रमित लक्षणविहीन छन् ।

शनिवारसम्म प्रदेशभर संक्रमितको संख्या दुई हजार पाँच सय ९८ पुगेको छ । यीमध्ये गम्भीर प्रकृतिको केस भएका संक्रमित भने नभएको चिकित्सकहरूले बताएका छन् । प्रदेश अस्पताल सुर्खेतमा हालसम्म तीन सय ९८ जना कोरोना भाइरसका संक्रमितहरू भर्ना भएको तथ्याङ्क छ । तीमध्ये एक जना संक्रमितलाई पनि सघन उपचार कक्ष आईसीयू र भेन्टिलेटरमा राख्नु परेको छैन । अस्पतालका कोरोना फोकल पर्सन डा. प्रदीप न्यौपानेले हाल अस्पतालमा उपचाररत ७५ जना संक्रमितमध्ये चार जनालाई मात्र सामान्य टाउको दुख्ने लक्षण देखिएको बताए । अन्य सबै संक्रमितको अवस्था सामान्य छ ।

‘अहिलेसम्म कुनै पनि संक्रमितलाई भेन्टिलेटरमा राख्नुपरेको छैन,’ उनले भने, ‘कोरोना पुष्टि भएकाहरूमा लक्षण नै देखिने गरेको छैन । सामान्य टाउको दुख्ने र रुघा लाग्नेबाहेक अरु लक्षण छैन ।’ प्रदेश अस्पतालमा कोरोना संक्रमितका लागि आठ वटा बेडको भेन्टिलेटर व्यवस्था गरिएको छ ।

यस्तै, सुर्खेत जिल्लाभर शनिवारसम्म एक सय २७ जना संक्रमित रहेका छन् । जसमध्ये प्रदेश अस्पतालमा ७५, वीरेन्द्रनगर आइसोलेसनमा २१, होम आइसोलेसनमा १६, वीरेन्द्रनगरस्थित एक होटेलको आइसोलेसनमा चार, चिङ्गाड गाउँपालिकाको आइसोलेसनमा दुई र गुर्भाकोट आइसोलेसनमा नौ जना संक्रमित रहेका छन् । यीमध्ये कसैलाई कोरोनाको लक्षण भने देखिएको छैन ।

दैलेख अस्पतालमा समेत हालसम्म कुनै पनि कोरोना संक्रमितलाई भेन्टिलेटर तथा आईसीयूमा राख्नु नपरेको अस्पताल प्रमुख डा. निरञ्जन पन्तले जनाए । उनले कोरोना संक्रमितका लागि छुट्याइएका दुई वटा भेन्टिलेटर र पाँच वटा आइसोलेसनमा संक्रमित भर्ना गर्न नपर्नु सुखद् भएको बताए । दैलेख जिल्ला अस्पतालमा १८, दुल्लू अस्पतालमा पाँच, भैरबी आइसोलेसनमा सेन्टरमा दुई, चामुण्डाविन्द्रासैनी आइसोलेसनमा चार, ठाटीकाँधमा एक र महावुमा एक गरी जम्मा ३२ जना संक्रमित उपचाररत रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको खवर सीता वलीकाे बाइलाइनमा साझा विसाैनी दैनिकले समाचार प्रकाशीत गरेकाे छ ।

तपाईको प्रतिक्रिया