कर्णालीमा जलवायु परिवर्तनको चपेटामा कृषि, विज्ञहरुको चिन्ता

सुर्खेत । कर्णालीमा खाद्य सुरक्षाको समस्या कायमै रहेको बेला जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा असर देखिन थालेकोप्रति विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

बुधबार सुर्खेतकाे दशरथपुरमा आयोजित प्रदेशस्तरीय कृषि प्राविधिक कार्य समूह बैठकमा विज्ञहरुले व्यवसायिक कृषिलाई उत्पादन वृद्धिमा जोड दिइदै गएको भएपनि जलवायु परिवर्तनको असरले कृषि क्षेत्रमा नयाँ सक्रमणको जोखिम बढेको प्रति चिन्ता व्यक्त गरेका हुन् ।

कृषि विकास निर्देशनालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकाया जलवायु परिवर्तनका कारण पछिल्लो समय सुन्तला उत्पादन हुने दैलेख, जाजरकोट र सुर्खेतमा बोटमा सुन्तलाका दाना फुट्ने समस्या देखिएको बताउँछन् ।

‘बोटमा लटरम्म सुन्तला फलेको छ, तर कृषकहरुले विक्री गर्ने समयमा दानाहरु बोटमा फुट्ने समस्या देखिएको छ,’ रोकायाले भन्छन्, ‘यस्ता खालका समस्या सुन्तालमा मात्रै होइन, सिजनअनुसार मकैमा फौजी तथा तरुलमा किरा लाग्ने, धानको डाँठमा सेतो भएर सुक्ने, गोलभेडाको दाना भित्र कालो भएर कुइने जस्ता विविध बाली तथा फलफुलहरुमा समस्याहरु बढिरहेका छन् ।’

कणर्ाली प्रदेशका जिल्लाअनुसार फरक-फरक जातका बाली, फलफूल र पशुपालन गरिन्छ । तर कृषिका क्षेत्रमा काम गर्दै आएका सरकारी तथा गैर सरकारी निकायहरुले जलवायुको परिवर्तनले हरेक वर्ष नयाँ खालका रोगका कारण कणर्ालीको कृषि उत्पादनमा चुनौती थपिदै गएकाले उत्पादनमा गिरावट आउन सक्ने चिन्ता थपिएको निर्देशक रोकाया बताउ छन् ।
प्रदेशमा कृषकहरुले गरेको बाली, फलफुल र पशुपालनमा समस्या देखिएमा अनुसन्धानका लागि कृषि अनुसन्धान निर्देशनालय दशरथपुर सुर्खेतमा पठाउने गरिएको रोकाया बताउँछन् ।

‘कृषकहरुले गरेका खेती तथा पशुपालनमा देखिएका समस्याहरुको अनुसन्धानपछि त्यसको नतिजा कृषक समक्ष नै पुर्‍याउने गरिएको छ,’ रोकाया थप्छन्, ‘लामो समयदेखि कृषिका विभिन्न पाटामा अनुसन्धान गर्दै आएको निर्देशनालयले आगामी दिनमा जलवायु परिवर्तनकै कारण कृषिमा देखिएको चुनौती र त्यसको निराकरण गर्न नयाँ प्रविधिको कसरी विकास गर्ने भन्ने विषयमा कार्ययोजना बनाउन जरुरी छ ।’

लामो समयदेखि दशरथपुरमा रहेको कृषि अनुसन्धान निर्देशनालयले कृषिमा देखिएको समस्या पहिचान र उच्च जातको बाली, फलफुल, पशुपालन जस्ता क्षेत्रमा अनुसन्धान गरिरहेकाले ति नतिजाहरु कृषक तहसम्म पुर्‍याउनमा एकमत हुन रोकाय सुझाव दिन्छन् ।

‘कृषकहरुले मेहनत गरिराख्नु भएको छ, भित्र्याउने समयमा रोगले लगानी खेर जाँदा कृषक चिन्तित हुनुहुन्छ,’ रोकायले भने, ‘कृषि अनुसन्धान निर्देशनालयले रोग देखिएको ठाउँमा विषादी वा जैविक कुन प्रयोग गर्ने हो त्यसको निराकरणका लागि अनुसन्धान गरेर उत्पादनमा वृद्धि गर्न नीति बनाउन आवश्यक छ ।’

समग्र प्रदेशको कृषिको अवस्था, विद्यमान समस्या र त्यसको निराकरणका लागि प्रदेश स्तरिय कृषि प्राविधिक कार्य समुहलाई कृषि अनुसन्धान निर्देशनालयले अनुसन्धान भएका प्रविधिहरुको प्रसारलाई जोड दिएको जनाएको छ ।

निर्देशनालयले कृषि क्षेत्रका मुल समस्यालाई पहिचान गर्ने र कृषिमा नविनतम प्रविधिको लागु गर्नमा सबैसँग समन्वय गर्ने निर्देशनालयका निर्देशक अमरबहादुर पुन मगर बताउँछन् । ‘जलवायुको चपेटामा कर्णाली प्रदेशको कृषि क्षेत्र परेको छ ।

समयमा वर्षा नहुने, भइहाले ठूलै क्षती गर्ने, तपक्रम बढ्दा कृषि क्षेत्रका विभिन्न प्रजातिका रोगहरु देखिरहेको छ,’ निर्देशक पुनमगर भन्छन्, ‘कृषि क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्न कार्यालयले अनुसन्धान गरिरहेको र ति रिपोर्टहरु सम्वन्धीत कृषि वा पशु निर्देशनालय तथा कार्यालयहरुमा पठाएर कार्यान्वयनका लागि समन्वयात्मकमा जोड दिइरहेका छौं ।’

प्रदेशका १० जिल्लाका पशु तथा कृषिका क्षेत्रमा कार्यरत प्रमुख वा प्राविधिकहरुबाट समस्याको पहिचान, प्रथामिकता गर्ने र आगामी दिनमा अनुसन्धानको पाटोलाई थप कसरी प्रभावकारी बनाउने भन्ने समिक्षा दशरथपुरमा गरिएको निर्देशक पुन मगरले बताए ।

निर्देशनालयले अनुसन्धान गरेका रिपोर्ट र नविनतम् प्रविधिहरु कृषकको दैलोसम्म पुर्‍याउन लागि परेको उनले उल्लेख गरे । निर्देशनालयले कृषिको सबै क्षेत्र खाद्यन्न बाली, तरकारी बाली, फलफुल, पशुपालन, चरन, घासहरुमा अनुसन्धान गर्दै नविनतम् प्रविधिको लागु गर्नमा लागि परेको जानकारी दिए ।

तर बाली तथा बागवानी, नेपाल कृषि अनुसन्धान परिषद्का निर्देशक डा. श्रीमत श्रेष्ठले कर्णालीमा खाद्य सुरक्षाको समस्या अझै कायम रहेको बताउँछन् ।

कर्णालीको कृषिमा अथाह सम्भावन छन् तर हामीले अनुसन्धानबाट विकास गरेका प्रविधिहरु कृषक समक्ष पुर्‍याउन सकेका छैनौं’ निर्देशक श्रेष्ठ भन्छन्, ‘जलवायु परिवर्तनसँगै कृषिमा देखिएका समस्याहरुको समाधान र नयाँ प्रविधिलाई कृषक समक्ष पुर्‍याउन सबै निकाय गम्भिर बन्न आवश्यक छ ।’

कृषकहरुकै सहभागीतामा उन्नत प्रविधिको पहिचान गर्ने र ति पहिचान गरिएका प्रविधिहरुलाई प्रसार गर्ने निकायले कृषकहरुकै थलोमा पुर्‍याउनमा व्यापक बनाउने रणनीति अख्तियार गर्न लागिएको श्रेष्ठले जानकारी दिए ।

उनले खाद्य सुरक्षासँगै कृषिलाई व्यवसायीकरण गर्नमा कृषककै थलोबाट समस्या पहिचान गरेर आवश्यक कार्यक्रम बनाएर कार्यान्वयनका लागि अनुसन्धान परिषद् गम्भीर भएर लागेको बताए ।

कर्णालीमा कुल २५ लाख २५ हजार २७५ हेक्टर क्षेत्रफल छ । योमध्य कुल खेतीयोग्य जमिन ८.५ प्रतिशत अर्थात् दुई लाख १६ हजार ८८० हेक्टर रहेको छ । ८२ हजार ४५९ हेक्टर खेती योग्य जमिनमा खेतीपाती नभएर बाँझो र गैह्रकृषि कार्यमा प्रयोग भइरहेको छ ।

तपाईको प्रतिक्रिया