कतार विश्वकप : फाइनल खेलाएबापत रेफ्रीले पाउँछन् १० हजार अमेरिकी डलर

एजेन्सी ।  कतारमा भइरहेको विश्वकप फुटबलमा अम्पायरिङका लागि कुल १२९ जना रेफ्री खटिएका छन्। फाइनल खेलसमेत गरी विश्वकपमा हुने कुल ६४ खेलका लागि फिफाले ३६ जना फिल्ड रेफ्री, ६९ जना सहायक रेफ्री र २४ जना भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) खटाएको हो।

फिफाले रेफ्रीका लागि प्रत्येक खेलको पारिश्रमिक राउन्ड वा प्रतियोगिताको आधारमा तय गर्ने गरेको छ। मुख्य रेफ्रीका लागि फिफाले पहिलो चरणको खेलमा ३ हजार, नकआउट चरणका लागि १० हजार र फाइनल म्याचका लागि १० हजार अमेरिकी डलर पारिश्रमिक निर्धारण गरेको छ।

मुख्य रेफ्रीले प्रतियोगिता भर सबै खेल खेलाउँदा ३ लाख अमेरिकी डलर भत्तासहित पारिश्रमिक बुझ्ने गरेका छन्। सहायक रेफ्रीले प्रतियोगिता भर १ लाख ५० हजार अमेरिकी डलर र भिडियो असिस्टेन्ट रेफ्री (भिएआरका लागि खटिने) ले १ लाख ७५ हजार अमेरिकी डलर पाउने गरेका छन्।

विश्वकपमा पहिलो राउण्डका खेलपछि विदेशी समर्थकको संख्या झण्डै १० लाख नाघेको छ। फुटबल टोलीका प्रशंसकहरूलाई अझ बढी आकर्षित गर्न र प्रवेश सहज बनाउन कतारले मंसिर १६ गते (डिसेम्बर २) देखि कतार जान भिसा नै नचाहिने व्यवस्था मिलाएको छ।

विश्वकपको इतिहासमा कुनै देशले अहिलेसम्म यसरी कतारले जस्तो भिसाबिनै खेल हेर्न अनुमति दिएको थिएन। कतार प्रवेशका लागि हाया कार्ड बुकिङ गरेमा भिसा आवश्यकता नपर्ने व्यवस्था कतारले गरेको हो।

फिफाले विश्वकपसँग जोडिएको ४ वर्षको व्यावसायिक सम्झौताबाट साढे ७ अर्ब अमेरिकी डलर आम्दानी गरेको जनाएको छ। यो रकम सन् २०१८ मा रुसमा भएको विश्वकपको आम्दानीभन्दा १ अर्ब अमेरिकी डलर बढी हो।

तपाईको प्रतिक्रिया