सुर्खेत । कर्णाली प्रदेश सभामा ३७.५ प्रतिशत महिला सांसदको सहभागीता भएको छ। निर्वाचन आयोगले शनिबार कर्णाली प्रदेश प्रमुखमा बुझाएको विवरण अनुसार महिलाको प्रतिनिधित्व ३७.५ प्रतिशत रहेको हो।
निर्वाचन आयोगले गत मंसिर ४ गते भएको आम निर्वाचनको अन्तिम नतिजाको परिणाम कर्णाली प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधानबमोजिम कर्णाली प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुख तिलक परियार समक्ष प्रस्तुत गरेको छ।
निर्वाचन आयोगका सह-सचिव यज्ञप्रसाद भट्टराई ले प्रदेश प्रमुख तिलक परियारलाई बुझाएका छन्। आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदनअनुसार कर्णाली प्रदेशको प्रदेश सभातर्फ ४० जना निर्वाचित भएका छन्। जसमा पुरुष २५ जना अर्थात् ६२.५ प्रतिशत र महिला १५ जना अर्थात् ३७.५ प्रतिशत निर्वाचित भएका छन्।
यस्तै, निर्वाचित प्रदेश सभा सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिने जनाइएकाे छ।
नेपालीरैबार । २०७९ पुष २, शनिबार