काठमाडौं । साविक विजेता बहराइनलाई १–० गोलले पराजित गर्दै ओमान अरेबियन गल्फ कपको फाइनलमा प्रवेश गरेको छ।
इराकको बसरास्थित अल मिला ओलम्पिक रंगशालामा गएराति भएको सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
खेलको ८३ औँ मिनेटमा जामिल अल यहमादीले सुन्दर गोल गर्दै ओमानलाई अग्रता दिलाएका थिए। सोही गोल ओमानलाई फाइनल पुग्न निर्णायक बन्यो।
अर्को सेमिफाइनलमा आयोजक इराकले कतारमाथि २–१ गोलको जित हात पार्यो। बसरा राष्ट्रिय रंगशालामा १९ औँ मिनेटमा इब्रहिम बायसको गोलसंगै घरेलु टोलीले खेलको सुरुवात गरेको थियो।
२८ औँ मिनेटमा कतारका आम्रो सुरागले बराबरी गोल फर्काए। ४३ औँ मिनेटमा आयमन हुसेनले गोल गरेपछि इराक पहिलो हाफमा २–१ ले अघि रहेको थियो। दोस्रो हाफमा कतार खेलमा फर्कन सकेन र इराकले फाइनलमा स्थान पक्का गर्यो। ओमान र इराकबीच उपाधिका लागि बिहीबार प्रतिस्पर्धा हुनेछ।
एजेन्सी । २०७९ माघ ३, मंगलवार