सुर्खेत सडक दुर्घटना : एकै गाडीमा थिए सँगै पढेका पाँच साथी

सुर्खेत । आइतबार बिहान सुर्खेतमा भएको सडक दुर्घटनामा चारजना जना युवकको ज्यान गयो। वीरेन्द्रनगर नगरपालिका–११ झुप्रा खोलानजिक इसुजु डी म्याक्स कम्पनीको गाडी दुर्घटना हुँदा ४ जनाले ज्यान गुमाए।

ज्यान गुमाउनेहरु तीन जना दैलेखबासी छन्। उक्त दुर्घटनामा एकजना घाइते भएका छन्। त्यस गाडीमा सवार पाँचजना सँगै पढेका स्वास्थ्यकर्मी रहेको खुलेको छ।

दुर्घटनामा ज्यान गुमाउनेमा गाडी चालक वीरेन्द्रनगर नगरपालिका-७ निवासी २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका-५ का ३३ वर्षीय दीपन्द्रजंग शाही, दैलेखकै भगवतीमाई गाउँपालिका ५ का वर्ष ३१ का बबिन शाही र दैलेखकै गुराँस गाउँपालिका-३ का ३६ वर्षीय राजेन्द्र बीसी रहेका छन्।

दैलेखकै भैरवी गाउँपालिका ५ का २६ वर्षीय वीरेन्द्रराज शाही घटनामा घाइते भएका छन्। छातीमा चोट लागेका उनी बोल्न सक्ने अवस्थामा छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले शनिबार एचएमआइएस, भिएसआइएस, इएलएससम्बन्धी तीन दिने समीक्षा गोष्ठी राखेको थियो।

उक्त गोष्ठीमा दैलेख र सुर्खेतका स्थानीय तहमा कार्यरत स्वास्थ्य प्रमुखहरुलाई वीरेन्द्रनगर बोलाइएको थियो।

गोष्ठीमा सहभागी हुन दैलेखको गुराँस गाउँपालिकाका राजेन्द्र विसी, डुङ्गेश्वर गाउँपालिकाका दिपेन्द्र शाही, भगवतीमाई गाउँपालिकाका बबिन शाही र भैरवी गाउँपालिकाका वीरेन्द्रराज शाही सुर्खेत आएका थिए।

तीमध्ये चारजना सम्बन्धित पालिकाको स्वास्थ्य शाखामा कार्यरत थिए।

शनिबार गोष्ठी सकिएपछि उनीहरुको बेलुका नै दैलेखको भैरवी गाउँपालिकाकै हाल (वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत) सागर शाहीसँग भेट भयो।

धेरै सयमपछि भेट भएको भन्दै चारैजनाले खुशी मनाउने निधो गरे। भेरीगंगा नगरपालिका–१ मा स्थित एक कटेजमा रमाइलो गर्ने भन्दै साँझ ६ बजेतिर उनीहरु वीरेन्द्रनरबाट निस्किए।

घटना कसरी भयो?

राति अबेरसम्म खानपिन गरेर करिब १२ बजेतिर पाँचैजना वीरेन्द्रनगरतर्फ फर्किए। उनीहरु सवार गाडी सागर शाहीले चलाइरहेका थिए।

उनीहरु सवार गाडीले भेरी नदी क्रस गर्‍यो। रातको समय भएकाले हुस्सुले सडक ढाकेको थियो।

गीत बजाउँदै जब उनीहरु झुप्रा खोला जाने बाटो क्रस गरेर करिब तीन सय मिटर अगाडि पुगे, त्यहीबेला सडकछेउमा निर्माण गरिएको डिभाइडरमा गाडी बजारिन पुग्यो।

त्यतिबेलासम्म होसमै थिए वीरेन्द्र शाही। गाडीले ६ वटा डिभाइडर भत्काउँदै सडकभन्दा २० मिटर तल खस्न पुग्यो।

त्यसबेलासम्म गाडी चालक सागर, राजेन्द्र, दिपेन्द्र र बबिन गम्भीर घाइते भइसकेका थिए।

बेहोसीमै वीरेन्द्रले प्रहरीलाई फोन गरे। बिहान करिब साढे २ बजेतिर प्रहरीले उनीहरुको उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पुर्‍यायो । वीरेन्द्रबाहेक अन्य चारजनाले उपचारका क्रममा ज्यान गुमाए।

‘गाडी स्पिडमा पनि थिएन। हुस्सु लागेको थियो, गीत सुन्दै अघि बढिरहेका थियौँ। खै! एक्कासी के भयो भयो, गाडी खसेपछि म सडकको साइड वालतिर परेछु’, घाइते वीरेन्द्रराज शाहीले भने, ‘जसोतसो उठे जस्तो लाग्छ, त्यहीबेला प्रहरीलाई फोन गरेछु, त्यसपछि मलाई कहाँ के भयो थाहै भएन।’

घाइते वीरेन्द्रनका अनुसार उनीहरु सबै एकै ब्याचीसमेत हन्। गाडी चालक सागरले सुर्खेतमा फार्मेसी सञ्चालन गरिरहेका थिए।

तपाईको प्रतिक्रिया