मन्त्री शाहीद्धारा समयमै काम सक्न निर्देशन

कान्छाराम कन्स्ट्रक्सनले ठेक्का पाएको म्याद सकिनै लाग्दा पनि गरेन जिम्मेवारी पुरा

सुर्खेत । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरका १६ ओटा सडक खण्ड निर्माण गर्ने र झण्डै १३ किलोमिटर सडकलाई रंगरोगन गर्ने ठेक्का पाएको कान्छाराम कन्स्ट्रक्सनले ठेक्का पाएको अवधी सकिन डेढ महिनामात्रै बाँकी रहँदा पनि काम गर्न नसकेको पाइएको छ ।

भौतिक पूर्वाधार, उर्जा तथा सिंचाई मन्त्रालय अन्र्तगत पूर्वाधार विकास निर्देशनालयसँग कान्छारामले २०७८ साल भदौ १७ गते विभिन्न १६ ओटा सडक खण्डमा कालोपत्रे गर्ने भनेर १२ करोड ९४ लाख ३६ हजार ४६२ रुपैंयामा सम्झौता गरेको थियो । निर्देशनालय र कन्स्ट्रक्सनबीच यी सबै सडकहरु २०७९ फागुन २८ गतेसम्म निर्माण गरिसक्ने सम्झौता भएको थियो तर सम्झौताको म्याद सकिन डेढ महिनामात्रै बाँकी रहेको समयमा हालसम्म कुनै सडक पनि कालोपत्रे भएका छैनन् ।

यतिसम्मकी कान्छारामले भौतिक मन्त्रालय अगाडी, पूर्वाधार विकास निर्देशनालय अगाडी र मुख्यमन्त्री कार्याल अगाडीका सडक खण्डमा नाला समेत निर्माण गर्न सकेको छैन । सडक निर्माण गर्न कुनै पनि स्थानमा विवाद नभएपनि निर्माण कम्पनीको ढिलासुस्तीका कारण समयमै सडक निर्माण पुरा हुने सम्भावना कम हुँदै गएको हो ।

निर्माण कम्पनीले हालसम्म निर्देशनालयबाट जम्मा एक करोड ४७ लाख रुपैंया लिएको छ । गत आर्थिक वर्षमा यो कार्यकालागि प्रदेश सरकारले पाँच करोड बजेट विनियोजन गरेकोमा वाँकी बजेट फ्रिज भएको थियो । कम्पनीले गुरुङ चोक, लालुपाते, प्रहरी कार्यालय अगाडी मिलाउन बाँकी रहेको छ ।

यस्तै, निर्माण कम्पनीले काम गर्न सकेको खण्डमा म्याद भित्रै कम्तिमा तीन किलोमिटर सडक निर्माण गर्न सक्ने भएपनि त्यतातर्फ कम्पनीले काम गर्न नसकेको पाइएको हो ।‘अधिकांश सडक कालोपत्रे गर्न तयार अवस्थामा छन् । तीन ओटा सडक खण्डमा नाला बनाउने काम बाँकी छ ।’ निर्देशनालयका इन्जिनियर हरि शर्मा धितालले भने, ‘निर्माण कम्पनीले चाहेको खण्डमा चार किलोमिटर नौ सय मिटर सडक मध्ये तीन किलोमिटर म्याद भित्रै निर्माण गर्न सक्छ ।’

निर्माण कम्पनीलाई बारम्बार काम छिटो गर्न निर्देशन दिइरहेको बताउँदै धितालले हालसम्म निर्माण कम्पनीले जम्मा ३७ प्रतिशत भौतिक प्रगति गरेको बताए ।‘सडकमा कुनैपनि विवाद छैन । निर्माण कम्पनीले निर्माण गर्ने सडकमा सात ओटा विजुलीका पोल परेका छन् । ती हटाउन भनेर हामीले साउन २५ गते र असोज २६ गते विद्युत प्राधिकरणलाई पत्र लेखेका थियौं । हालसम्म प्राधिकरणले न पत्रको जवाफ दिएको छ न पोल हटाएको छ ।’

उनले निर्माण कम्पनीले भौतिक प्रगति पचास प्रतिशत नकटाएको खण्डमा म्याद थप नहुने बताए । ‘उहाँहरुले कम्तिमा भौतिक प्रगति पचास प्रतिशत कटाउनुपर्छ, अनिमात्र म्याद थप हुन्छ ।’ इन्जिनियर धितालले भने, ‘यहि गतिमा काम गर्न थालेको खण्डमा त्यो सम्भावना कम छ तर तीव्र गतिमा काम गर्न सकेको खण्डमा भने तीन किलोमिटर काम सहजै पुरा गर्न कम्पनी सक्छ ।’

उक्त निर्माण कम्पनीले प्रदेश सरकारको लगानीमा विगतमा बनेका ८ किलोमिटर सडक र उसले बनाउने सडक गरि १२ दशमलव ९ सय किलोमिटर सडक रंगरोगन गर्ने जिम्मा समेत पाएको थियो । तर हालसम्म कुनैपनि सडकमा कान्छाराम कन्स्ट्रक्सन कम्पनीले रंगरोगन गरेको छैन ।

निर्माण कार्य छिटो सकाउन मन्त्री शाहीको निर्देशन

मन्त्री मंगल शाहीले छिटो भन्दा छिटो निर्माण कार्य सम्पन्न गराउन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । ‘केही राम्रो गरौं भन्ने मानसिकता, सोच र आत्मविश्वास सहित आउनु भएका मन्त्री ज्यूले हामीलाई कर्णालीको मुहार परिवर्तन गर्ने सन्दर्भमा लागि पर्न निर्देशन दिनुभएको छ ।’ ईन्जिनियर धितालले भने, ‘मन्त्रीज्यूको स्पीडमा काम गर्न हामी तयार मात्रै होइन, लागि परेका छौं ।’

मन्त्री शाहीले निर्माण कम्पनीलाई छिटो भन्दा छिटो काम सकाउनु पर्ने भन्दै त्यसमा अग्रसर हुन र्कचारीलाई निर्देशन समेत दिए । ‘मलाई कर्णाली बनोस भन्ने मात्रै चाहना छ । तपाईहरु सबै कर्णालीको भौतिक पूर्वाधार विकासमा योगदान गर्नुहोस ।’ मन्त्री शाहीले भने, ‘तपाईहरुलाई कुनै समस्या परे म समाधान गर्न तयार छु । समस्या नभएको स्थानमा नतिजा देखिने गरि काम गर्नुहोस ।’

तपाईको प्रतिक्रिया