वीरेन्द्रनगरका फोरलेन सडक किनारामा राखिएका सामान जफत गरिँदै

सुर्खेत । बढ्दो जनघनत्व र सवारीका कारण कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सवारी दुर्घटना बढिरहेको छ । सडकका दुवै किनारामा व्यापारी, यातायात व्यवसायी र जग्गाधनीहरुले सडकको क्षेत्राधिकार मिचेर सवारी पार्किङदेखि सर–समान राख्दा दुर्घटनाको जोखिम बढेको हो ।


मुख्यगरी वीरेन्द्रनगरभित्र पर्ने रत्न राजमार्गको फोरलेन सडक खण्डको सुब्बाकुनादेखि बाँगेशीमल सडकको ठाउँ–ठाउँमा व्यक्तिगत सामग्री राखेको, गाई–भैंसी, बाख्रा बाँधेको, सवारी पार्किङ्ग, अस्थायी प्रकृतिका बजार राखेर सञ्चालन गरेपछि सडक डिभिजन कार्यालय सुर्खेत आक्रामक बनेको छ ।

गत माघ २९ गते कार्यालयले फोरलेन सडक सिमा भित्रका सामानहरुले हटाउन ३५ दिने सूचना जारी गर्दै अल्टिमेटम दिएको छ । ‘विभिन्न सामानहरु सडकको सिमा भित्रै राख्दा दुर्घटनाको जोखिम त बढाएकै छ,’ कार्यालयका प्रमुख अविमन दास मुल्मीले भने, ‘पटक–पटक हटाउन मौखिम रुपमा भन्दा अटेरी बढेपछि दुर्घटनाको जोखिम न्यूनिकरण गर्न र क्रुप बनेको फोरलेन सडकलाई सौन्दर्य कायम गर्न सूचना जारी गरेका हौं ।’

कार्यालयले आगामी चैत्र ४ गतेसम्म सडकको सिमा भित्र राखेका सामग्रीदेखि सडक किनारामा पार्किङ्ग गरेका सवारी साधन हटाउने अल्टिमेटम दिएको छ । ३५ दिनभित्र सामान नहटाए स्थानीय प्रशासनसको सहयोगमा सामग्री जफतदेखि काम नलगाग्ने सामानहरु यथावस्थामा संकलित गरेर जलाइने डिभिजन प्रमुख मुल्मीले बताए ।

‘निर्धारित समयमा सडक खाली गरिदिए झनै राम्रो भयो,’ चेतावनी दिँदै उनले थपे, ‘हटाउने क्रममा हुने क्षती प्रति स्वामित्वधारी स्वयम जिम्मेवार हुने र कुनै अवरोध गरे सार्वजनिक सडक ऐन २०३१ बमोजिम खर्च सम्बन्धित व्यक्तिबाट असुलसँगै दण्ड जरिवना दुवै गर्न बाध्य हुनेछौं ।’

धुलियाविटदेखि बाँगेशीमलसम्मको करिव १० किलोमिटर फोरलेन सडकको दुरी छ । तर सडकका दुवै किनारामा अव्यवस्थित पार्किङ्ग, फुटपाथ, निर्माण र पसलका सामग्री, घरायसी सामग्री राख्दा फोरलेनको सौन्दर्यता क्रुप बनिरहेको छ ।

फोरलेन सडक दायाँबायाँको कुल चौडाई ६२ मिटरमा कुनै पनि व्यापारिक र अन्य प्रयोजनका सामग्री वा सरसमानहरु राख्न पाइदैन् । तर वीरेन्द्रनगरमा अटेरी बढेपछि स्थानीय प्रशासन र वीरेन्द्रनगर नगरपालिकाको आग्रहमा सडक डिभिजन कार्यालयले सडक किनारा खाली गराउन लागेको हो ।

‘चैत्र ५ गतेबाट प्रशासनको सहयोगमा सामग्री हटाउन शुरु गर्नेछौं,’ प्रमुख मुल्मीले भने, ‘त्यसपछि सडक सिमा भित्र सामुहिक गतिविधि हाटबजार, सांस्कृति, परम्परागत भोज भतेर, सभा सम्मेलन तथा अस्थायी व्यक्तिगत सर–सामान राख्नुपर्ने अवस्थामा अनिवार्य कार्यालयबाट अनुमित लिनुपर्नेछ ।’

के छ कानूनी व्यवस्था : सार्वजिनक सडक ऐन २०३१ को परिच्छेद ३ काे १९ मा स्वीकृति नलिई सार्वजनिक सडक वा सडक सीमामा कुनै किसिमको काम गर्न नहुने उल्लेख छ । यहीँ परिच्छेदकाे दफा (१) मा भनिएकाे छ, ‘सडक विभागको स्वीकृति प्राप्त नगरी कसैले सार्वजनिक सडकसँग जोडिने गरी प्रवेश मार्ग बनाउन, सार्वजनिक सडक वा सडक सीमाभित्र खाडल वा कुलो खन्न वा भत्काउन, किला, लट्ठा, तगारो आदि गाड्न वा हाल्न वा घर टहरो वा छाप्रो बनाउन वा सडक सीमाभित्रको जग्गा आवादी गर्न वा यस्तै अन्य कुनै कार्य गर्न हुँदैन ।’

यस्तै दफा (२) मा कसैले सडक विभागको स्वीकृति प्राप्त नगरी उपदफा (१) मा उल्लिखित कुनै कार्य गरेमा सडक विभागले त्यस्तो व्यक्ति उपर यस ऐनको अन्य दफा बमोजिम कुनै कारवाही चलाउनु पर्ने भए सो समेत चलाई स्वीकृति नलिई बनाएको प्रवेश मार्ग बन्द गर्न, खनेको खाडल वा कुलो पुर्न वा गाडेको वा उभ्याएको किला लट्ठा तगारो आदि उखेल्न वा हटाउन वा बनाएका घर टहरो वा छाप्रो भत्काउन वा आवादी गरेको जग्गा बझ्याउन मुनासिब माफिकको म्याद तोकी त्यस्तो व्यक्तिको नाउँमा आदेश जारी गर्न सक्नेछ ।

दफा (३) मा सम्बन्धित व्यक्तिले उपदफा (२) बमोजिम जारी भएको आदेश पालन नगरेमा त्यस्तो व्यक्तिले बनाएको प्रवेश मार्ग बन्द गर्न वा खनेको खाडल वा कुलो पुर्न वा गाडेको वा उभ्याएको किला, लट्टा, तगारो आदि उखेल्न वा हटाउन वा बनाएको घर टहरो वा छाप्रो भत्काउन वा आवादी गरेकाे जग्गा बझ्याउन सक्नेछ । साथै साे वापत लागेकाे खर्चकाे रकम सम्बन्धित व्यक्तिबाट सडक विभागले असुल गर्ने सक्ने उल्लेख छ ।

तपाईको प्रतिक्रिया