![](https://nepaliraibar.com/wp-content/uploads/2023/08/nraibar.gif)
सुर्खेत । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् नेपाल क्रान्तिकारी विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले देशको स्वतन्त्रता, सार्वभौमिकता तथा भूअखण्डता कायम गर्न देशभक्त विद्यार्थी एकजूट हुनुपर्ने बताएका छन् ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघ, सुर्खेतको १० औँ जिल्ला सम्मेलनलाई सम्बाेधन गर्दै उनले एमसीसी पारित गराएर संरा अमेरिकाले नेपाललाई युद्धयुद्धभूमि बनाउन खोजिरहेको पनि बताएका हुन् । उनले रुस र युक्रेन बीचको युद्ध भड्काउने काम सबै अमेरिका तथा पश्चिमा पुँजीवादी देशहरुले गरिरहेको धारणा राखे ।
केन्द्रीय सदस्य गोसाईले युद्धलाई अझ लम्ब्याउनकै निम्ति युक्रेनलाई हतियार सहयोग गर्ने संरा अमेरिकाले रुसलाई चीनले हतियार बेच्न खोजेको भन्नु अनैतिक कार्य भएकाे बताए । उनले रुसलाई समाप्त पारेर चीनमाथि हान्ने साम्राज्यवादी युद्धविरुद्ध सारा नेपाली एक हुनुपर्ने तर्क गरे ।
केन्द्रीय सदस्य गोसाईले नेमकिपाले समाजवादी समाज स्थापना गर्न गरिबका छोराछोरीलाई संगठित गर्न खोजेको भन्दै उत्पादनका साधन सामाजिकीकरण नभएसम्म देशको मूल समस्या समाधान नहुने बताएका छन्।
संघका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङले शिक्षामा लागू नव उदारवादी नीतिको कारण गरिबका छोराछोरीले शिक्षाबाट वञ्चित हुनु परेको विचार राखेका छन्। उनले कर्णालीका विद्यार्थीले सधैँ पाठ्यपुस्तक विनै पढ्नुपर्ने परिस्थिति थिए तर यसपालि देशभर पाठ्यपुस्तक अभाव हुने सम्भावन भएको भन्दै सरकार कर्तव्यच्युत भएको तर्क गरे ।
नेमकिपा, सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले पुँजीवादी व्यवस्थाले मजदुर र किसानलाई बाँच्न नदिएको बताए । नेक्राविसंघ, सुर्खेतका संयोजक राजन विकको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेक्रायुसंघका केन्द्रीय उपाध्यक्ष लालबहादुर थापा, नेक्राकिसंघका केन्द्रीय सदस्य प्रेमकुमार थापा, नेक्रामसंघका जिल्ला सदस्य विजुकला राना, नेक्राविसंघका केन्द्रीय सदस्य रवीन्द्र भण्डारी, नेक्राविसंघका तुल्सी सिजापतिलगायतले धारणा राखेका थिए । सम्मेलनको बन्दसत्रबाट राजन विकको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन गरिएको छ ।
![](https://nepaliraibar.com/wp-content/uploads/2022/02/hare-Krishna-Dental.gif)
नेपालीरैबार । २०७९ फाल्गुन १०, बुधबार