पहिराे राेकथामका लागि कर्णालीमा युवा परिचालन गरिदै

सुर्खेत । कर्णाली प्रदेशमा वर्षेनी बाढी, पहिरो साथै अन्य विभिन्न बिपद्का घटनाले मानवीयसँगै ठूलो धनजन क्षती हुने गरेको छ । बाढी र पहिरोबाट आक्रान्त कर्णालीका नागरिकहरुको जीवनसँगै धनजनको क्षती कम गर्न कर्णाली प्रदेशका युवा परिचालनमार्फत पहिरो जान सक्ने, गएकाे र सक्रिय पहिरो क्षेत्रको नक्साकंन गर्न लागिएको हो ।

फायल तस्वीर ।

युरोपेली संघको आर्थिक सहयोगमा युथ ईनोभेसन ल्याबले गर्न लागेको जलवायु परिवर्तन र हरित विकासमा नेपाली युवा कार्यक्रमको कार्यान्वयनमा कर्णालीका नौं वटा पालिकाहरुमा क्लाइमेट फेलोशिप कार्यक्रम लागु गरिनेछ । जसमा प्राविधिक इन्जिनियरहरू पालिकाको विपद् डाटा डिजिटलाइजेशन, महत्वपूर्ण पूर्वाधार नक्साङ्कन, स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना, विपद् पोर्टल कार्यसंचालन योजना लगायत तयार गर्नेछ ।

साथै, युथ ईनोभेसन ल्याबले पहिरो जाने क्षेत्रहरुको सबै विवरण प्रविधिमा समावेश गरेर तथ्याङ्क तयार गर्नेगरी परियोजना लागु गर्न लागिएको छ । परियोजना कार्यान्वयनमा कर्णाली प्रदेशका १० युवा उद्यमीलाई हरित परियोजना डिजाइन गर्न अनुदान र इन्टरशिप पनि प्रदान गरिनेछ ।

अमेरिकन कर्नर सुर्खेत र नेपाल-युएस अलम्नाइ नेटवर्कले सुर्खेतमा आयोजना गरेको युवासंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै युथ ईनोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदिप खतिवाडाले मार्च अर्थात् फागुन महिनाको मध्यसाताबाट यो परियोजना कर्णालीमा लागु गरिने जानकारी दिए ।

‘कर्णाली प्रदेशमा परियोजनाको उदेश्य भनेकै युवा परिचालन मार्फत पहिरो स्थलहरुको स्पष्ट तथ्याङ्क संकलन गर्नु हो,’ खतिवडाले भने, ‘प्रविधिको सहायताबाट कुन–कुन ठाउँमा पहिरो गएको छ । भविष्यमा कत्तिको खतरा छ भन्ने तथ्याङ्क संकलन गर्नु परियोजनाको मुख्य लक्ष्य हो ।’

यो परियोजनाले पहिरो रोकथाम र व्यवस्थापनमा सरकारलाई नीति बनाएर अघि बढ्न दवाव दिने अपेक्षा राखिएको छ । युथ ईनोभेसन ल्याबले दैलेखका ठाँटीकाँध गाउँपालिका, भैरवी गाउँपालिका, सुर्खेतको चौकुने गाउँपालिका, बराहताल गाउँपालिका तथा पञ्चपुरी नगरपालिकामा कार्यक्रम लागु गर्न लागिएको छ । यस्तै, कालिकोटको नरहरीनाथ गाउँपालिका, महावै गाउँपालिका, खाडाचक्र नगरपालिका र तिलागुफा नगरपालिकामा समेत कार्यक्रम सञ्चालन गरिनेछ ।

युथ ईनोभेसन ल्याबले प्राविधिक सहयोग गर्ने कार्यक्रम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयलमार्फत कार्यन्वयन गरिने कार्यकारी निर्देशक खतिवडाले जानकारी दिए । उनकाअनुसार नौ वटै पालिकामा स्नातक पढेका इन्जिनियर युवाहरु खटिनेछन्। कर्णाली प्रदेशमा जलवायु जोखिमलाई न्यूनीकरण गर्ने र अर्थतन्त्रलाई प्रवर्द्धन गर्नमा उद्यमशीलतामा युवाहरुलाई परिचालनमा सहयाेग पुग्ने अपेक्षा छ ।

तपाईको प्रतिक्रिया