फोहोर व्यवस्थापन र समुन्नत वीरेन्द्रनगर बनाउन युवाहरुको अभियान

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको फोहोर व्यवस्थापन गरेर विकसित र समुन्नत नगर बनाउन युवाहरुले अभियान थालेका छन् । युवाहरुको सञ्जालसहितको हाम्रो ग्रुपले वीरेन्द्रनगरका १६ वटै वडामा रहेको फोहार व्यवस्थापनसँगै समुन्नत र स्वच्छ नगरको रुपमा विकास गर्ने उदेश्यले युवाहरुले अभियानको शुरुवात गरेका हुन् ।

वीरेन्द्रनगरस्थित यरिचोकमा रहेको साउथ एशीयन स्कलर्स र धारापानीमा रहेको कोपिला भ्याली स्कुलमा अध्ययनरत कक्षा ११ र १२ का सात जना विद्यार्थीहरुबाट नगर क्षेत्रका विभिन्न ठाउँमा थुप्रिएको फोहोरको दीर्घकालिन व्यवस्थापन गर्ने उदेश्यले अभियानको शुरुवात गरेका छन् । तर यो ग्रुपमा हाल पाँच सय बढी अभियान्ताहरु अभियानमा जुटेका छन् ।

उनीहरुले शुरुवात सबै वडामा पुगेर फोहार व्यवस्थापनसँगै समुन्नत नगरको विकास कसरी गर्ने भन्ने विषयमा सरोकारवाला निकायसँग छलफल गरेका छन् । ‘पहिलो चरणमा सरकारी, गैरसरकारी, सामाजिक अभियान्ता लगायतसँग कसरी काम गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौं,’ हाम्रो ग्रुपका अध्यक्ष पुस्कर थापाले भने, ‘सुझाव संकलनको करिब अन्तिम चरणमा छौं । यहीँ साताको शनिवार जिल्ला समन्वयको हलमा सुर्खेत उद्योग बाणिज्य संघ लगायत व्यापारीहरुसँग छलफलको आयोजना गर्दैछौं ।’

 

घरबाटै फोहोरको सहज व्यवस्थापन गर्नमा नागरिकहरुको चाहना के छ भन्ने विषयमा अध्ययनसमेत युवा अभियान्ताहरुले गरिरहेका छन् । छलफल पछि हाम्रो ग्रुपमा रहेका युवाहरु अभियान्ताले विज्ञहरुसँग अन्तिम छलफल गरेर प्रतिवेदन तयार गरिने अध्यक्ष थापाले जानकारी दिए ।

सार्वजनिक स्थल, सडक तथा खोला किनारा लगायतका स्थानमा जथाभावी फोहोर फाल्दा कस्तो कानूनी सजाय हुन्छ भन्ने विस्तृत रिपोर्टसमेत प्रतिवेदनमा समेटिने छ । ‘भ्रष्टाचार, सामाजिक विकृति जस्ता घटनाहरु जसरी समाजमा तिस्कृत गरिएको हुन्छ, त्यसैगरी जुनसुकै स्थानमा फोहोर फाल्नु हुँदैन् भन्ने सन्देश अभियानबाट दिन थालेका छौं,’ थापाले थपे, ‘तयार गरिएको अन्तिम प्रतिवेदन स्थानीय तहका जनप्रनिधिहरुलाई बुझाएर उचित फोहोर व्यवस्थापनसँगै समुन्नत र विकसित नगर निर्माणमा एकमत गराउने प्रतिवद्धता गराउनेछौं ।’

तपाईको प्रतिक्रिया