बिक्री हुँदैन इन्द्रपुरको तरकारी

सुर्खेत । वीरेन्द्रनगर बजारदेखि करिव सात किलोमिटरको दुरीमा छ ईन्द्रपुर गाउँ । यो गाउँ वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १३ मा पर्छ । ईन्द्रपुरले वर्षेनी तरकारीबाट मात्रै झण्डै एक करोडको कारोबार गर्दछ । तर यो पटक इन्द्रपुरका कृषकले फक्राएको फुलगोभी, बन्दा लगायतका तरकारीले बजार मूल्य पाएको छैन् । विगतका वर्षमा बारीबाटै ३० रुपैयाँ मूल्यमा विक्री हुने तरकारी यो पटक प्रति केजी १३ रुपैयाँहुँदा पनि बजार पाउन सकेको छैन् । समयमै तरकारी विक्री नहुँदा तरकारी उत्पादन लागत नउठ्ने चिन्तामा कृषकहरु छन् ।


‘१२ वर्ष भयो तरकारी खेतीमा लागेको । यो वर्ष बजार मूल्य नपाउँदा तरकारी बारीमै खेर जाने भो !,’ कृषक नरबहादुर शाहीले भने, ‘बारीमै १३ रुपैयाँ मूल्यमा दिन्छौं तरकारी लैजानुहोस् भन्दा पनि उठ्दैन निकै समस्या भएको छ ।’ शाहीले पाँच कठ्ठामा फुलगोभी, बन्दा लगायतको तरकारी लगाएका छन् ।

सात जनाको परिवारको खर्च धान्ने तरकारी नै भएपनि लगानी नै नउठ्दा शाही चिन्तित छन् । शाही मात्रै हैन् तरकारी उत्पादन गरिरहेका अन्य कृषकहरु पनि विक्री नहुँदा समस्यामा छन् । वीरेन्द्रनगर बजारमा रहेको तरकारी मण्डीले पालो कुर्न भनेपछि कृषकहरु समस्यामा छन् ।

‘मण्डीवालाले भनेको समयमै तरकारी नउठ्दा बारीमा फक्रिदा झन समस्या हुन्छ,’ कृषक डिलसरा मन्दीरको प्रश्न छ, ‘ऋण लिएर लगानी गरेको तरकारी विक्री नहुँदा कसरी परिवार पाल्ने, कसरी ऋण तिर्ने अनि लागत खर्च कसरी उठाउने ?’ झुप्रा खोलाको किनारामा रहेको इन्द्रपुर बस्ती तरकारी उत्पादन ब्लक क्षेत्र हो ।

यहाँका कृषकहरुले एक सिजनामा मात्रै करिव ५० लाख आसपासमा कारोबार गर्छन् । झण्डै दुई सय घरधुरी रहेको इन्द्रपुरमा ५० जना कृषक व्यवसायीक तरकारी खेतीमा लागेका छन् । करिव ५० विगाह खेतीयोग्य जमिनमध्य १७ विगाह जमीनमा कृषकहरुले छुट्टाछुट्टै तरकारी खेती गरिरहेका छन् ।

सिजनवाला तरकारीले समस्या : रोकाय
बेमौसीभन्दा सिजनवाला तरकारी उत्पादनहुँदा इन्द्रपुरको तरकारीले समयमै मूल्य नपाएको कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए ।

‘समस्या बजारको हैन्, यो सिजनामा अधिकाँशले फूलगोभी, टमाटर, बन्दा लगायतका तरकारी उत्पादन गरिरहेका छन् । सबैतिरबाट वीरेन्द्रनगरमा यहीँ प्रकृतिको तरकारी आउँदा यहाँको तरकारीले मूल्य नपाएको सत्य हो,’ रोकायले भने, ‘कृषकले मेहनत गरेर उत्पादन गरेको तरकारी बारीमै खेर नजाहोस् भनेर हामीले बुलबुले हाटबजारसँग सहजिकरण गरिरहेका छौं ।’

तपाईको प्रतिक्रिया