कर्णालीमा राप्रपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेकपा माओवादी केन्द्र नेतृत्वको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । राष्ट्रपतिको उम्मेदवारीले केन्द्रीय समिकरण फेरिएसँगै सरकारबाट बाहिरिएको राप्रपाले कर्णालीमा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निणर्य गरेको हो ।

बिहिबार प्रदेश प्रमुख तिरक परियार समक्ष राप्रपाकी प्रदेश सांसद सन्तोषी शाहीले समर्थन फिर्ताको पत्र बुझाएकी छन् । राजनीतिमा आएको अस्थिरताले जनाताको अपेक्षा अनुसार काम गर्न नसक्ने र पार्टी केन्द्रको निणर्यलाई स्विकार गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको शाहीको भनाइ छ ।

कर्णाली प्रदेशमा एक सिट मात्रै रहेको राप्रपा सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शर्माले पुनः विश्वासको मत लिनुपर्ने भएको छ । यद्यपी शर्मा अल्पमतमा भने परेका छैनन् । हाल शर्मालाई नेकपा एमाले, एकिकृत समाजवादी र एक स्वतन्त्रको समर्थन रहेको छ । केन्द्र सरकारबाट बाहिरिएको एमालेले अझै पनि प्रदेश सरकारका बारेमा कुनै निणर्य भने लिइ सकेको छैन ।

तपाईको प्रतिक्रिया