दैलेखमा पर्यटन तथा सांस्कृतिक महोत्सवकाे अर्थ मन्त्री शाहद्धारा उद्धाटन

दैलेख । दैलेखमा पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सव शुक्रबारबाट सुरु भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दैलेखको आयोजना तथा कृषि विकास कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र नारायण नगरपालिका–६ को सह–आयोजनामा महोत्सव सञ्चालन गरिएको हो।

महोत्सव जिल्ला सदरमुकामको काँडाचौरमा फागुन २९ गतेसम्म १० दिन सञ्चालन हुनेछ। महोत्सव कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाहले उद्घाटन गरेका छन्।

महोत्सव उद्घाटन गर्दै मन्त्री शाहले दैलेख कला संस्कृति, सम्पदा र पुरातात्विक एवं प्राकृतिक रूपमा ऐतिहासिक जिल्ला रहेको बताए। पर्यटनको ठूलो सम्भावना हुँदा हुँदै पनि जिल्लाको प्रचारप्रसार हुन नसकेको मन्त्री शाहको भनाइ छ।

उनले दैलेखको पञ्चकोशी क्षेत्रमा पेट्रोलियम पदार्थ अन्वेषणको काम अघि बढेको बताउँदै यसले दैलेखसहित समग्र नेपालको आर्थिक समृद्धिमा टेवा पुग्ने बताए।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दैलेखको लागि जग्गा व्यवस्थापन गरे भवन निर्माणका लागि आफूले पहल गर्ने मन्त्री शाहको भनाइ छ।

दैलेखको पर्यटकीय क्षेत्र, कला र संस्कृतिको जगर्ना गर्दै लोक तथा दोहोरी गीत संगीतमार्फत जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गराउने उद्दे‍श्यले महोत्सव आयोजना गरिएको महोत्सव मुल समारोह समितिका संयोजक राजुकुमार खत्रीले बताए।

महोत्सवबाट बचेको रकम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दैलेखका लागि जग्गा तथा भवन निर्माणमा खर्च गरिने आयोजकले जनाएको छ। महोत्सवमा एक सय १२ वटा व्यापारिक स्टल राखिएको छ।

तपाईको प्रतिक्रिया