स्ववियु निर्वाचन : मध्यपश्चिम विश्वविद्यालयमा अध्यक्ष पदमा नौ प्रतिस्पर्धी चुनावी मैदानमा

सुर्खेत ।  आगामी चैत ३ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। मध्यपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचन अधिकृतको कार्यालयद्वारा सार्वजनिक निर्वाचन कार्यतालिकाअनुसार अध्यक्ष पदका लागि नौ जनाले चुनावी प्रतिस्पर्धा गर्ने भएका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गराउँदा केही विद्यार्थीले स्वतन्त्र उम्मेदवारीसमेत दर्ता गराएका छन्।

स्ववियु अध्यक्षका लागि नेविसंघका रोशन बस्नेत, अनेरास्वियुका प्रकाश रिजाल, एकीकृत समाजवादीनिकट अनेरास्ववियूका मिलन बीसी र अखिल क्रान्तिकारीकी ममता अधिकारीले चुनावी प्रतिस्पर्धा गर्ने भएका छन्।

यस्तै, नेपाल क्रान्तिकारी विद्यार्थी संघका योगेशकुमार शाहीले उम्मेदवारी दर्ता गराउँदा महेन्द्रकुमार थापा, पारस सिंह, भूपेन्द्र बम र महेश धितालले स्वतन्त्र उम्मेदवारी दिएका छन्। यस्तै, सचिवमा पनि नौ जनाबीच नै प्रतिस्पर्धा हुँदा चार जनाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।

सचिवका लागि अनेरास्ववियुका उमेश तिवारी, अखिल क्रान्तिकारी (विप्लव) समूहका चित्रबहादुर सहकारी, अनेरास्ववियु क्रान्तिकारीका जगतबहादुर शाही, नेविसंघका भूपेन्द्र आचार्य र अनेरास्ववियूका भूपेन्द्र भण्डारीले चुनावी प्रतिस्पर्धा गर्नेछन्।

यस्तै, सचिवकै लागि दिनेश खड्का, नरेश राना, प्रकाश विक र शिशिरकुमार कार्कीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। यस्तै, कोषाध्यक्षका लागि ६ जनाले उम्मेदवारी दर्ता गराउँदा एक जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने ३० जनाले सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारको नामावलीविरुद्ध फागुन २४ गतेभित्र दाबी विरोध पेस गर्ने मिति तोकिएको छ भने उम्मेदवारको अन्तिम नामावली २५ गते प्रकाशन हुनेछ।

मध्यपश्चिम विश्वविद्यालय संगठन तथा शैक्षिक–प्रशासनिक नियमावली २०६९ को नियम १६८ अनुसार हुन लागेको स्ववियु निर्वाचनमा ४ हजार ८ सय २९ जना विद्यार्थीले मतदान गर्नेछन्। स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन्।

निर्देशिकामा स्ववियु कार्यसमिति २ सय विद्यार्थी बराबर ११, २०१ देखि १ हजारसम्म विद्यार्थी भए १५, १ हजार एकदेखि ३ हजारसम्म भए १९ तथा ३ हजार एकदेखि बढी विद्यार्थी भए १९ जनाको कार्यसमिति हुने व्यवस्था छ।

तपाईको प्रतिक्रिया