सुर्खेत पश्चिमकाे बावियाचौरमा विद्युतको कार्यालय स्थापना गरिँदै

सुर्खेत । बावियाचौरमा विद्युतको राष्ट्रिय प्रशारण लाइन विस्तारसँगै विद्युतको काउन्टर कार्यालय स्थापना गर्न लागिएको छ । सुदूरपश्चिम प्रदेशको कैलालीस्थित सोल्टाबाट सुर्खेतको वावियाचौरसम्म ३३ केभी प्रसारण लाइन विस्तार भएपछि काउन्टर कार्यालय स्थापना गर्न लागिएको हो ।


वावियाचौरमा कार्यालय सञ्चालनसँगै त्यस क्षेत्रका नागरिकहरु विद्युत महसुल बुझाउन वीरेन्द्रनगर धाउनु पर्ने बाध्यताको अन्त्य गर्ने उदेश्य रहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतका प्रमुख युवराज रावततले नेपालीरैबारलाई जानकारी दिए । उनकाअनुसार यसै सातादेखि कार्यालय सञ्चालन गरिनेछ ।

वीरेन्द्रनगरबाट बड्डीचौरहुँदै बावियाचौरमा विद्युत विस्तारमा ढिलाई भएपछि कैलालीबाट विद्युतको राष्ट्रिय प्रशारण वावियाचौरसम्म विस्तार गरिएको हो । हाल विद्युतको राष्ट्रिय प्रशारण लाईन पञ्चपुरी नगरपालिकाको वडा नम्बर १० को तातापानी, जामु, ११ को कुइने, ताउले लगायत गाउँहरुमा विद्युत लाइन जडान गरिएको प्रमुख रावतले बताए ।

‘विद्युत विस्तारसँगै हालसम्म एकसय ५० घरधुरीमा नयाँ लाइन जडान गरिसकिएको छ,’ रावतले भने, ‘लाइन विस्तारमा तिव्रतासँगै सेवाग्राहीहरुलाई छिटो र प्रभावकारी सेवा प्रवाह गर्न कार्यालय सञ्चालनको अन्तिम तयारीमा छौं । ’ कार्यालय सञ्चालनमा आएसँगै नयाँ मिटर वितरण लगायतका सबै काम अब बावियाचाैरबाटै हुने केन्द्रले जनाएकाे छ ।

पश्चिम क्षेत्रमा विद्युत विस्तारसँगै चालु आर्थिक वर्षमा कम्तिमा एक हजार पाँचसय घरहरुमा नयाँ लाइन विस्तार गर्ने लक्ष्य कार्यालयको छ । केही समय अघि कैलालीको मोहन्याल गाउँपालिकाबाट विस्तार भएको प्रसारण लाइन सुर्खेतको पञ्चपुरी नगरपालिकाको बाबियाचौरस्थित सबस्टेसनमा जडान गरिएको हो । अन्य क्षेत्रमा पनि लाइन विस्तार र तार तान्ने कामलाई निरन्तरता दिइरहेको केन्द्रले जनाएको छ । बावियाचौरबाट प्रसारण लाइनलाई बड्डिचौर–बाङगेसिमल हुँदै वीरेन्द्रनगरस्थित बुदबुदी सबस्टेसनमा पु¥याइने लक्ष्य छ । हालसम्म जिल्लाभर विद्युतका करिव ६० हजार ग्राहक रहेको केन्द्रको भनाई छ ।

तपाईको प्रतिक्रिया