शरिर अशक्त छ तर उत्साह र जोशले वातावरण संरक्षणमा हाेमिएका सापकाेटा

सुर्खेत । किरण सापकोटाका हरेक रचनात्मक कार्यहरुले एक पटक सबैका लागि सोच्न बाध्य बनाइदिन्छ । कहिले उनी वीरेन्द्रनगरका सडकहरुमा मेटिएका जेब्राक्रसिङका लाइनहरु चम्किला बनाउँछन् । कहिले उनी सचेतनामूलक अभियानहरु लिएर गाउँ–गाउँमा पुगिरहेका हुन्छन् ।

हो, उनै सापकोटा शारिरीक रुपमा अशक्त छन् । उनका दुवै खुट्टाले काम गर्दैनन् । तैपनि उनी मनभरी उत्साह र जोशसँगै विभिन्न अभियानमा अवरोत्र खटिरहन्छन् । वीरेन्द्रनगर–४ भैरवस्थानमा जन्मिएका सापकोटा विगत सात वर्षदेखि विद्यालयहरुमा हरितगृह (ग्रीन) र सफा (क्लीन) अभियान लिएर कर्णालीका विभिन्न जिल्लाहरुमा पुगिरहेका छन् ।

‘मैले थाहा नपाउँदै दुवै खुट्टा काम नलाग्ने अवस्थामा पुगिसकेका रहेछन् । आमाले भन्नुहुन्थ्यो पोलियो खुवाएको हुँ । डाक्टर भन्छन पोलियो नै भएको हो,’ विगत सम्झदै सापकोटाले भने, ‘खैर, जिन्दगी पूर्ण क्षमताको हुन नसकेपनि मनमा उत्साह र जोश छ । त्यहीँ उत्साहमा ग्रिन र क्लीन विद्यालयमा बनाउने मेरो लक्ष्यलाई पूर्णता दिन काम गरिरहेको छु ।’

शुरुवातमा सुर्खेतबाट अभियान थालेका सापकोटाले कर्णालीका पाँचसहित छिमेकी प्रदेश सुदूरपश्चिमको कैलाली जिल्लासम्म पुगिसकेका छन् । २०७३ सालदेखि अभियान थालेका उनले शुरुवातमा सुर्खेत, दैलेख र जाजरकोटका गाउँ–गाउँमा पुगेर विद्यालयमा ग्रिन र क्लीन विद्यालयको सन्देश फैलाइसकेका छन् ।

‘स्वच्छ वातावरणका लागि विरुवा रोप्नु आवश्यक छ,’ सापकोटाले भने, ‘वातावरणको सौन्दर्य कायम गर्न र हरियाली बनाउन भविष्यको नेतृत्व गर्नेहरुलाई आजैदेखि बुझाउन विद्यालयमै पुगेर विरुवा रोप्दै वन जोगाउन थोरधेर विरुवा रोप्ने वानीको विकास गर्ने सन्देश प्रवाह गर्नमा जुटिरहेको छु ।’

सापकोटा भर्खरै मात्रै रुकुमपश्चिम र सल्यानका विभिन्न विद्यालयहरुमा पुगेर विरुवा रोप्ने र सफा विद्यालय बनाउने सन्देश विद्यार्थीहरुलाई दिएर सुर्खेत फर्केका छन् । रुकुम पश्चिमको जनज्योति आधार माध्यमिक विद्यालय र सल्यानको भेरी माध्यमिक विद्यालयमा मात्रै करिव एक सय विरुवा रोपेर विद्यालयको जिम्मा लगाएका छन् ।

सापकोटाले पाँच वटै जिल्लाका करिव ६० विद्यालयमा पुगेर विरुवा रोपण गरिसकेका छन् । याे अभियानमा उनले कसैसँग एक रुपैयाँ नलिएर एकल लगानीमा विरुवा खरिद गरी विद्यालयमा विरुवा रोप्ने गरेको सापकोटा बताउँछन् । ‘आमा (भिमा सापकोटा) को निधनपछि यो अभियानको सुरुवात गरेको हु,’ सापकोटाले भने, ‘आमाले नै छोरालाई भविष्यमा कुनै समस्या नहोस् भनेर सहकारीमा रकम जम्मा गरिदिनु भएको रहेछ । त्यहीँ बचत रकमबाट यो अभियान चलाइरहेको छु ।’

कतिपय सामुदायिक विद्यालयहरु अझै तारवार हुन नसक्दा विरुवा बचाउन चुनौती देखिएको उनको दुःखेसो छ । ‘शारीरिक अवस्थाले साथ दिए कर्णाली प्रदेशका सबै जिल्लामा पुगेर विरुवा रोप्ने अभियानलाई निरन्तरता दिने योजना छ,’ सापकोटाले भने, ‘दिगो विकास लक्ष्य पुरा गर्नमा टेवा पुग्ने विश्वाससहित सबैलाई यो अभियानमा जोड्ने लक्ष्य छ ।’

विरुवा रोपणसँगै उनले सबै विद्यालयमा विद्यार्थीहरुकै संलग्नतामा ग्रीन क्लव खोल्ने र उनीहरुलाई जिम्मेवार बनाउने उदेश्य रहेको सापकोटाको भनाई छ । उनको यो अभियानमा बुवा रामदत्त सापकोटा र परिवारका अन्य सदस्यहरुको हौसलाका कारण काम गर्ने प्रेरणा मिलेको उनी बताउँछन् ।

तपाईको प्रतिक्रिया