कालीकोटको जनचेतना क्याम्पसमा विवाद हुँदा अश्रु ग्यास प्रहार

सुर्खेत । कालीकोटको शान्नीत्रिवेणी गाउँ पालिकामा रहेको जनचेता बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुँदा विवाद भएको छ। निर्वाचन भइरहेको समयमा फर्जी मत खसालिएको भन्दै विवाद भएको हो।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार क्याम्पस प्रमुखले ५० जना फर्जी विद्यार्थीको भर्ना गरेको भन्दै नेकपा एमालेनिकट अनेरास्ववियुले विरोध जनाएको थियो।

अनेरास्ववियुले निर्वाचनमा सहभागी नहुने भन्दै विरोध जनाएपछि विवाद भएको हो। अनेरास्ववियुले ती विद्यार्थीहरुको भर्ना खारेज गर्नुपर्ने माग गरेको थियो।

यस क्याम्पसमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीको गठबन्धन रहेको छ। लक्ष्मण बहादुर बम र अर्को एक जना घाइते भएका छन्।

गठबन्धनका विद्यार्थीहरुले ढुंगाले हान्दा घाइते भएको अनेरास्ववियुको दाबी रहेको छ। अनेरास्ववियुबाट अध्यक्ष पदको उम्मेदवार धर्मबहादुर शाही रहेका छन्।

अनेरास्ववियुका सबै उम्मेदवारहरु मतदान स्थलबाट बाहिरिएका अनेरास्ववियुका एक नेताले बताए। केही विद्यार्थीहरुले मतदान सामग्रीमा हातपात गरेपछि टियर ग्यास प्रहार गरेको कालीकोटका डिएसपी जयश्वर रिमालले जानकारी दिए।

‘विवाद उत्पन्न भएपछि प्रहरीले सामान्य बल गरेको हो। अहिले मतदान अन्तिम चरणमा पुगेको छ। कुनै समस्या छैन’, उनले भने।

तपाईको प्रतिक्रिया