जुम्लाको पिपलगाउँमा मिसन ग्रासरुट

जुम्ला । नेकपा (एमाले) द्वारा जारी मिसन ग्रासरुट अभियान अन्तर्गत बिहिवार बिहान जुम्लाको चन्दननाथ नगरपालिका–१०, पिपलगाउँमा मा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। भेलाले वडामा भइरहेको सदस्यता नवीकरणको समीक्षा गर्दै बाँकी कामका लागि कार्यविभाजन गरेको छ।

भेलालाई सम्बोधन गर्दै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले अहिलेको सरकार जनविरोधी रहेको टिप्पणी गरेका छन्।

‘मुस्ताङमा बौद्ध विश्वविद्यालयका नाममा मुलुकलाई विदेशीको अखडा बनाउने, भारतबाट आउने तरकारीमा विषादी परीक्षण नगर्ने, कृषि मलमा अनुदान घटाउने जस्ता जनविरोधी निर्णयहरु एमालेको दवावका कारण रोकिएका छन्, यसबाट पनि के देखिन्छ भने यस सरकारलाई अझ बढी जनदवाव आवश्यक छ, त्यसका लागि सशक्त प्रतिपक्षका रुपमा पार्टीलाई अघि बढाउन हामी गाउँबस्तीबाट जुट्नुपर्छ,’ उनले भने।

वडा कमिटी अध्यक्ष दिलबहादुर शाहीको अध्यक्षतामा सम्पन्न भेलामा जिल्ला अध्यक्ष शान्तिलाल महत, प्रदेश कमिटी सदस्य मेनका रेग्मी, जिल्ला कमिटी उपाध्यक्ष सुरत शाही, जिल्ला कमिटी सदस्य प्रवलनाथ योगी, लोकेन्द्रराज गिरी, नगर कमिटी अध्यक्ष धर्मेन्द्र रोकायलगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया