फोरलेन सडकको सुरक्षा गर्न ‘एजब्रेक’ लगाइँदै

सुर्खेत । वीरेन्द्रनगरमा रहेको फोरलेन सडकको सुरक्षार्थ ‘एजब्रेक’ निर्माण शुरु गरिएको छ । रत्न राजमार्गको धुलियाविटदेखि बाँगेशीमल खण्डमा पर्ने फोरलेन सडकको दुर्वतर्फको किनाराको कालोपत्रे भत्किन थालेपछि सुरक्षार्थ ‘एजब्रेक’ निर्माण शुरु गरिएको हो ।


कुल १० किलोमिटर लम्बाई रहेको फोरलेन खण्डको एयरपोर्ट चोक, ईत्राम पुलदेखि मंगलगढी चौक र यरिचोक आसपासमा यसअघि गरिएको कालोपत्रे भत्किदै गएको छ । फोरलेनका लागि गरिएको विच भत्किदा सडक दुर्घटनासँगै थप कालोपत्रेमा क्षती पुग्ने देखिएपछि डिभिजन सडक कार्यालय सुर्खेतले निर्माण शुरु गरेको छ ।

‘पिच भत्किदै जान थालेपछि त्यसको सुरक्षाका लागि सडक किनाराका दुवैतर्फ किनारामा थप कालोपत्रे गर्न लागिएको हो,’ कार्यालयका सूचना अधिकारी टोप नारायण पौडेलले भने, ‘थप हुने पिचले फोरलेन सडकको सुरक्षासँगै दिर्घकालिन रुपमा कुनै समस्या आउन नदिँनेगरी निर्माण गरिरहेका छौं ।’

हाल फोरलेन सडकको धुलियाविट-बाँगेशीमलसम्मकाे विभिन्न क्षेत्रमा यसअघि गरिएकाे कालाेपत्रे भत्किदा सडक साघुराे बन्दै गरेकाे थियाे । ईत्राम खोलादेखि मंगलगढी चोक क्षेत्रको दुवैतर्फ काम भइरहेको छ । चालु आर्थिक वर्षको असार मसान्तसम्म सक्ने लक्ष्य लिएको एजब्रेक निर्माणको जिम्मा शिरिर एण्ड बशन्त जेभीले पाएको छ ।

‘यसअघि कालोपत्रे गरिएको फोरलेन सडकको कालोपत्रे भत्किदै गएको छ, त्यहीँ ठाउँमा प्राथमिकता दिएर काम भइरहेको छ,’ सूचना अधिकारी पौडेलले भने, ‘यो वर्षमा धुलियाविटदेखि बाँगेशमील खण्डमा जुन ठाउँ विग्रिएको छ । ति स्थानमा कालोपत्रे थप गरिनेछ ।’

फोरलेन सडकको दुर्वतर्फको किनारामा निर्माण गर्न लागिएको एजब्रेक भत्किएको क्षेत्रको अवस्था हरेर चौडाई दुई मिटर, २.५ मिटर र तीन मिटरसम्म कालोपत्रे गरिनेछ । सडकको कुल लम्बाईमध्य ५.५ किलोमिटरसम्म निर्माण गरिने कार्यालयले जनाएको छ । एजब्रेकको लागत करिव एक करोड ९२ लाख रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया