कर्णालीमा पनि विद्युतीय चार्जिङ स्टेशन, कति गुड्छन गाडी ?

सुर्खेत । कर्णालीमा पहिलो पटक सरकारी लगानीमा विद्युतिय चार्जिङ स्टेशन तयार गरिएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित बसपार्कमा दुई ओटा चार्जिङ स्टेशन निर्माण गरिएको हो ।


नेपाल विद्युत प्राधिकरणले एक करोड लागतमा दुई वटा चार्जिङ स्टेशन बसपार्कमा निर्माण गरेको छ । चार्जिङ स्टेशनमा विद्युतले नै दुई सय केभीएका दुई ओटा ट्रान्सफर्मर राखेको छ । ‘कर्णालीमा परीक्षणका रुपमा शुरुवातमा दुई ओटा चार्जिङ स्टेशन निर्माण गरेका हौं,’ नेपाल विद्युत प्राधिकरणका सहायक प्रवन्धक सागर ज्ञावलीले भने, ‘सुर्खेतमा पनि विद्युतीय गाडीको संख्या बढ्दो क्रममा रहेछ । चार्जिङ स्टेशन सञ्चालनमा आउँदा लाभग्राही सबैलाई सहजता पुग्ने विश्वास छ ।’

चार्जिङ स्टेशनको मनिटरिङ विद्युतको केन्द्रीय कार्यालयले गर्दै आएको छ । डिजेल–पेट्रोलको मूल्य बढी रहेका बेला सुर्खेतमा निर्माण गरिएका चार्जिङ स्टेशन सञ्चालनमा आउँदा प्रत्यक्ष रुपमा यातायात व्यवसायीहरुलाई राहत पुगेको छ । हाल नेपालगञ्ज–वीरेन्द्रनगर (सुर्खेत) रुटमा दैनिक ६ ओटा विद्युतीय गाडीहरु सञ्चालनमा छन् ।

यीमध्य पाँच वटा नेपालगञ्जमा रहेको बागेश्वरी यातायात र एउटा सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.का माइक्रो गाडीहरु हुन् । वीरेन्द्रनगरमा व्यक्तिगत रुपमा अटो रिक्सा, कार र स्कुटीहरु समेत सञ्चालनमा छन् । तर विद्युतीय सवारीहरु कति छ भन्ने एकिन तथ्याङ्क भने सरकारी निकायसँग छैन् ।

दैनिक वीरेन्द्रनगर–नेपालगञ्ज रुटमा चलिरहेका विद्युतीय गाडीहरु चार्जिङ स्टेश नबनेपछि सहजता पुग्ने सवारी चालक बताउँछन् । ‘कोहलपुरमा चार्ज गरेर आउँदा फर्किदा समस्या हुन्छ की भन्ने त्रास हुन्थ्यो,’ सवारी चालक रोशन मल्लले भने, ‘सुर्खेत बसपार्कमै चार्जिङ स्टेशनहुँदा थप चार्ज गरेर जाँदा सहजता हुनेभयो ।’

उनकाअनुसार काेहलपुरबाट चार्ज गरेर आउँद सवारी गति २० देखि २५ हुने र सुर्खेतमै चार्ज गर्ने व्यवस्था भएपछि सवारी गति ४० देखि ४५ काे स्पीडमा जान सकिने बताउँछन् । ११ सिट क्षमताका विद्युतीय माइक्रो र २० सिटका डिजेल सवारीले यात्रु बोक्दा लागत खर्च बराबर हुने गरेको व्यवसायीहरु बताउँछन् । प्राधिकरणले एकै पटकमा ६ ओटा सवारी चार्जिङ गर्न मिल्ने जनाएको छ । चार्ज गर्दा औसतमा तीनदेखि आठ रुपैयाँसम्म रहेको प्राधिकरणका सहायक प्रवन्धक ज्ञवाली बताउँछन् ।

नेपालमा उपलब्ध सवारीसाधनहरूमा रहेको ब्याट्री क्षमताअनुसार कम्तीमा आधा घण्टादेखि एक घण्टासम्ममा चार्ज पूर्ण हुने प्राधिकरणले जनाएकाे छ। आन्तरिक रूपमा विद्युत्को खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारीसाधान प्रयोगमार्फत वातावरण मैत्री यातायात प्रणालीको विकासका चार्जिङ स्टेसन स्थापना गरिएको ज्ञवालीको भनाई छ । यसअघि वीरेन्द्रनगरमा नीजि क्षेत्रले पीपीरामा चार्जिङ स्टेशन सञ्चालनमा ल्याइसकेको छ ।

तपाईको प्रतिक्रिया