प्रि–मनसुन सुरु, आज रातिदेखि पश्चिमी नेपालमा वर्षा हुने सम्भावना

काठमाडाैं । यस वर्ष प्रि–मनसुन सुरु भएकाे छ । अंग्रेजी महिनाको मार्चदेखि मेसम्मको समयलाई नेपालमा प्रि–मनसुनको समय मानिन्छ । यो समय स्थानीय वायुको प्रभाव हुँदा ठाउँ–ठाउँमा पानी पर्ने, मेघ गर्जनसहित चट्याङ पर्ने र हावाहुरी चल्ने गर्छ ।

प्रि–मनसुनको अर्को विशेषता भनेको अपराह्न र साँझमा केही समय पानी पर्नु हो । जल तथा मौसम पूर्वानुमान विभागकी मौसमविद् गंगा नगरकोटी भन्छिन्, ‘दुई/तीन दिनअघि देखिएको पश्चिमी वायुको प्रभाव बिहीबारदेखि हट्दै गएर स्थानीय वायु सक्रिय भएको छ ।’ शुक्रबार रातिदेखि फेरि पश्चिमी वायुको प्रभाव देखिने र पश्चिमी नेपालमा वर्षा हुने उनले जानकारी दिइन् ।

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेल नेपालमा चैत पहिलो सातायताको वर्षाको चरित्र प्रि–मनसुन जस्तो नभएको बताउँछन् । उनी भन्छन्, ‘जुन दिन ला–लिना सकियो त्यही दिनदेखि नेपालमा पानी पर्न थालेको छ । यसले यो वर्षको हिउँद सुक्खा हुनुमा ला–लिनाको प्रभावले पनि देखाउँछ । अहिले भइरहेको वर्षाको चरित्र हिउँदे वर्षाको जस्तो देखिन्छ ।’

प्रि–मनसुनमा हुने वर्षा छोटो समयमा कुनै एउटा निश्चित ठाउँमा पर्ने खालको हुने उनले बताए । मौसमविद् नगरकोटी प्रि–मनसुनमा साँझ/अपराह्नतिर वर्षा हुने बताउँछिन् । ‘दिउँसो जमिन तातिएपछि आर्द्रता (मोइस्चर) भएको हावा बिस्तारै माथितिर जान्छ । पानी गराउने बादल (क्युमिलोनिम्बस) बन्छ,’ नगरकोटीले भनिन्, ‘प्रि–मनसुनमा बिहानदेखि घाम लाग्ने, जमिन तातिने र जमिनमा भएको आर्द्रतामाथि गएपछि दिउँसोदेखि क्युमिलोनिम्बस बादल बनेर पानी पर्छ ।’

आगामी तीन दिनकाे माैसमी अवस्था : चैत १० गते (शुक्रबार) 

दिउँसोː  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा  र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीː लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशहरुमा सामान्य बदलीका साथै गण्डकी, बागमती र कोशी प्रदेशहरुका पहाडी भू-भागमा आंशिक बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७९ चैत ११ गते (शनिबार) 

दिउँसोː  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बागमती र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदुर पश्चिम प्रदेशका तराईका एक वा दूई स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीː  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा  मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७९ चैत १२ गते (आईतबार) 

दिउँसोː कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुको पहाडी भू-भागका थोरै स्थानहरूमा  मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीː  देशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा  मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका  लागि  चेतावनी  तथा  परामर्श ( Warning / Advisory for next 24 hours):

कोशी प्रदेश, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरूमा  र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन / चट्याङ्ग तथा  हावा-हुरीबाट क्षति हुन नदीन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

तपाईको प्रतिक्रिया