दैलेखमा शिक्षक हत्या गर्ने महिलालाई जन्मकैद

दैलेख । शिक्षकको हत्या गर्नेलाई एक महिलालाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । अदालतले गुराँस गाउँपालिका–८ मकुटककी २८ वर्षीया मुना राना खड्कालाई जन्मकैदको फैसला गरेको हो । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट मुनालाई जन्मकैद फैसला भएको अदालतका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले बताए । फैसलामा मुनाले जन्मकैद कारागार बस्नुपर्ने, पीडित पक्षलाई एक लाख रुपैंयाँ क्षतिपूर्ति तिर्नुपर्ने र पीडित राहत कोषमा दुई हजार आठ सय रुपैंयाँ जम्मा गर्नुपर्ने उल्लेख छ ।

याे पनि पढ्नहाेस् : व्यक्तिगत रिसिवीका कारण शिक्षक विसीको हत्या, महिलाले लिइन हत्याको जिम्मा

गुराँस गाउँपालिका–८ को मकुटकस्थित गाउँ र मालिका मावी ।

मुनाले आफ्नै छिमेकी मालिका मावि लालीकाँडा मकुटकमा कार्यरत शिक्षक ४२ वर्षीय नगेन्द्रबहादुर बिसीको २०७८ भदौ २९ गते राति धारिलो हतियार प्रयोग गरि हत्या गरेकी थिइन् । बयानका क्रममा मुनाले आफू माथि यौनजन्य दुव्र्यवहार भएपछि धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको स्वीकार गरेकी थिइन् ।

याे पनि पढ्नुहाेस् : शिक्षक हत्या घटना : शंकास्पद दुई व्यक्तिलाई दैलेख लगियो

घटनाताका बेला हत्या गरिएका शिक्षक बिसीका दुई छोरा अध्ययनको शिलसिलामा बाँकेको कोहलपुरमा थिए । घटनाकै दिन शिक्षक बिसीको श्रीमती कृष्णाकुमारी काम विशेषले दैलेख सदरमुकाममा थिइन् । शिक्षक बिसीले घर नजिकै आफ्नो दिदीको घरमा साँझको खाना खाईसकेपछि मुनाको देवरले चलाएको पसलमा राति ११ बजेसम्म बसेर घर फर्किने क्रममा आफु सुतेको कोठामा पुगी यौन दुव्र्यवहार गरेको मुनाको आरोप छ । मुनाले आफुसंगै सुतेका छोराहरुलाई थाहा नहोस् भनेर शिक्षक बिसीलाई साथमा लिई आफ्नै घरसंग जोडिएको मालिका माविको हातामा चक्कु प्रहार गरेको प्रहरी र अदालतमा एकै प्रकारको बयान दिएकी थिइन् ।

याे पनि पढ्नुहाेस् : दैलेखमा शिक्षकको घाँटी रेटेर हत्या, शंकास्पद व्यक्ति प्रहरीकाे निगरानीमा

मुनाका श्रीमान २५ वर्षीय डम्बर खड्कालाई भने अदालतले सफाई दिएको छन् । सुर्खेतमा रहेका श्रीमानलाई मुनाले हत्या घटना लगत्तै मोबाइलबाट जानकारी गराएको बेला ‘भागेर आऊ म लुकाउने प्रयास गरौंला’ भनेर म्यासेज गरेको आधारमा डम्बरलाई समेत हत्या अभियोगमा कारागार थुनामा राखिएको थियो । ‘लुकाउने प्रयास गरौंला’ भनेर मुनालाई म्यासेज लेखेकै आधारमा हत्या अभियोगमा डेढ वर्षदेखि थुनामा रहेका खड्काले सफाई पाएका हुन् ।

शिक्षक बिसीको हत्यामा संलग्न मुनाको परिवार भने विस्थापित छ । घटना भएयता पीडित परिवारले हत्याका आरोपित मुनाका परिवारहरुलाई आफ्नो घरमा बस्न नदिएको कारण डेढ वर्षदेखि विस्थापित हुनु परेको इन्सेक प्रतिनिधि अमर सुनारले बताए । बुहारीले शिक्षक हत्या गरेपछि गुराँस गाउँपालिका–८ छोटेपोखराका नवलसिंह खड्का, नवलसिंहकी श्रीमती डिलसरा खड्का, कान्छो छोरा दीर्घबहादुर खड्काको ४ जनाको परिवार समेत ६ जना विस्थापित छन् ।

आफ्नो घरमा बस्न कोशिस गर्नैपर्छ भनेर गत मंसिर २५ गते घर पुगेका मुनाका सासुससुरा नवलसिंह र डिलसरालाई मृतक शिक्षक नगेन्द्रको श्रीमती कृष्णाकुमारी र बुहारीले कालोमोसो दलेर दुव्र्यवहार गरेको स्थानीयको भनाई छ । नवलसिंहले आफ्नो घरमा बस्न पाउनु पर्ने भन्दै स्थानीय तहका जनप्रतिनिधि, प्रहरी र राष्ट्रिय मानव अधिकार आयोगमा लिखित र मौखिक उजुरी गरेका छन् ।

तपाईको प्रतिक्रिया