हरित शहरका लागि नमूना काम बुलबुलेबाट गरौं : नगर प्रमुख ढकाल

हरियाली प्रवर्द्धनमा वन कार्यालयले माग्यो नगरपालिकाे साथ

सुर्खेत । वीरेन्द्रनगरलाई हरियाली शहरका रुपमा विकास गर्न नमूना कामको शुरुवात बुलबुले उद्यानबाट गर्नुपर्ने नगर प्रमुख मोहनमाया ढकालले बताएकी छन् । डिभिजन वन कार्यालय सुर्खेतलाई उद्यान क्षेत्रको विकाससँगै खाली क्षेत्रमा आकर्षक विरुवा र फूलहरु रोपेर नमूना कार्यका थालनी गर्न सुझाव दिएकी हुन् ।


प्रदेश राजधानीको शहर वीरेन्द्रनगरलाई कसरी हरियाली प्रवर्द्धन गर्ने भन्ने विषयमा आयोजित कार्यक्रममा बोल्दै नगरप्रमुख ढकालले भनिन्, ‘उद्यानलाई घेरबार गरिएको र प्रयाप्त खाली जग्गा रहेकाले ति क्षेत्रमा गुरुयोजनअनुसार आकर्षक पार्क बनाउने नगरको योजनामा सहयोग पुग्नेगरी काम गर्नुहोस् हामी सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।’

वन कार्यालयले भइरहेका रुखहरुमा आकर्षक डिजाइन्, रुखको फेदमा फुल रोपण तथा खाली क्षेत्रमा आकर्षक बगैंचा निर्माण गर्ने उदेश्यले बजेट आएकाले ठाउँ उपलव्ध गराइदिन नगरपालिकासँग अनुरोध गरेको थियो । नगर प्रमुख ढकालले पहिलो चरणमा बुलबुले उद्यान, त्यसपछि कालिञ्चोक–फोरलेन खण्ड, बसपार्क–हटियाचौक सडक र घण्टारघर भित्रकाे पर्खाल किनारामा विरुवाहरु रोपेर अभियानकाे शुरुवात गर्न आग्रह गरिन ।

उनले ति क्षेत्रको फुटपाथ व्यवस्थापन गरिसकेकाले वनलाई काम गर्न सहज हुने थप सहजिकरणका लागि नगरपालिबाट पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता जनाइन् । तर वन कार्यालयले बुलबुले उद्यान, भानुपार्क (भाइरलडाँडा), रामन्दिर परिसर क्षेत्र, गणेश चौकदेखि दक्षिण, खुलामञ्च, नगरपालिकाको दक्षिणतर्फ र चौघान पार्क क्षेत्रमा हरियाल शहरका लागि विरुवा र फुलहरु रोप्न सकिने प्रस्ताव सुनाएको थियो ।

‘वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रको निर्माण जारी रहेकाले कालोपत्रेपछि कसरी हरियाली शहर बनाउन सकिन्छ भन्ने विषयमा पनि अध्ययन गरिराख्नुहोस्’ ढकालले भनिन्, ‘अहिले पहिलो चरणमा बुलबुले लगायतका क्षेत्रमा काम गरौं । बाँकी विस्तारै अनेत्र काम गरौंला ।’ सडक किनारामा आकर्षक विरुवा र बजार क्षेत्रमा सडक किनारामा हरित पेटिका बनाउने नगरपालिकाको योजना रहेको ढकालको जानकारी गराइन् ।

वन कार्यालयले हरियाली शहरका लागि ५० लाख बजेट रहेको जानकारी दिएको छ । ‘सौन्दर्यवर्द्धक फुल फुल्ने, सदावहार र न्यून जोखिमयुक्त प्रजातिहरुलाई बढवा दिन कार्यक्रम लागु गर्दैछौं,’ कार्यालयका प्रमुख मुन रावतले भने, ‘सुरक्षासहितको संरचना नगरपालिकाले बनाउनु पर्ने र वृक्षरोपण लगायतका काम वनले गर्नेछ ।’ वन कार्यालयले वीरेन्द्रनगरमा हुर्किने र छिटा वृद्धि हुने मुख्यगरी गुलमोर, वीरेन्द्रफूल, कल्की फुल, राजवृक्ष, सीता अशोक, रवर प्लान्ट, पाल्म, निम, कपुर, अशोक, स्वामी लगायत प्रजातिका विरुवा रोपण गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया