मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतका दुई खण्डकाे निर्माण सुरु

सुर्खेत। मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतका तीन खण्डमध्ये दुई वटाको काम अघि बढेको छ । सम्झौताअनुसारकै समयावधिभित्र निर्माण सम्पन्न गर्ने गरी बड्डीचौर–खम्बागाडे र विद्यापुर–बल्दे सडक खण्ड निर्माणको काम अघि बढाइएको हो । ४५ किलोमिटरको सडकलाई तीन खण्डमा विभाजन गरेर निर्माण थालिएको छ । जसमध्ये दुई वटामा निर्माण सम्झौता भइ काम सुरु भएको हो ।

विद्यापुर–बल्दे सडक खण्डमा अहिले बाटो कटिङ्को काम धमाधम भइरहेको छ । पश्चिम क्षेत्रका तीन खण्डमध्ये यो तेस्रो खण्ड हो । २२ किलोमिटर सडक खण्ड निर्माणका लागि एक अर्ब २१ करोड रूपैयाँमा काम सम्पन्न गर्नेगरी बानियाँ मोतिदान डि।एस। जेभी काठमाडौंले ठेक्का सम्झौता गरेको छ । सम्झौताअनुसार २०७९ फागुन १७ गतेदेखि सुरु भएको काम २०८२ फागुन १६ गतेसम्म सम्पन्न गरिसक्नुपर्नेछ । काम सुरु भएको दुई महिनाको अवधिमा करिब सात प्रतिशत सम्पन्न भएको छ ।

राजमार्गको जंगल क्षेत्रमा पर्ने रुखको कटानका लागि पनि प्रक्रिया अघि बढेको मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतले जनाएको छ । यो सडकखण्डमा आधाभन्दा बढी जंगल क्षेत्र परेको कार्यालयका इन्जिनियर रामसागर हरिजनले जानकारी दिए । राजमार्ग क्षेत्रमा पर्ने रुखहरू कटान आदेश नहुँदा अहिले सडकको बीचबीचमा रुख छोडेर काम भइरहेको छ ।

सडक आयोजना अन्तर्गत ट्रयाक खोल्ने र चौडा बनाउने काम भइरहेको कार्यालयका इन्जिनियर हरिजनले जानकारी दिए । उनका अनुसार अहिले सुरुवाती चरणका काम भइरहेका छन् । जनशक्ति परिचालन गरेर हुने नाला, पर्खाल, कल्भर्टजस्ता काम धमाधम चलिरहेका छन् । वन क्षेत्रमा पर्ने ठाउँमा समेत रुख छोडेर काम अघि बढाइएको छ । रुख कटानको कानुनी प्रक्रिया पूरा भएपछि विस्तृत काम अघि बढ्ने जनाइएको छ ।

मदन भण्डारी राजमार्ग अन्तर्गतकै बड्डीचौर–खम्बागाडे सडक खण्डको १५ प्रतिशत भौतिक प्रगति भएको छ । उक्त सडक खण्डको साढे १२ किलोमिटरमा सडक निर्माणको काम भइरहेको हो । यो सडक खण्डका लागि प्रदेश सरकारले ४२ करोड बजेट विनियोजन गरेको छ । उक्त खण्डमा अनक जयदेवी जेभी बाँकेले ४२ करोड ४७ लाख ६१ हजार रूपैयाँमा प्रदेश सरकारको पूर्वाधार विकास निर्देशनालयसँग सम्झौता गरेको हो । २०७९ देखि काम सुरु भएको उक्त खण्डमा २०८१ असार १५ गतेसम्म काम सम्पन्न गर्नुपर्नेछ ।

हाल उक्त खण्डमा नाला निर्माण, ग्याबिन, कल्भर्टलगायतका काम भइरहेको पूर्वाधार विकास निर्देशनालयका इन्जिनियर हरि शर्मा धितालले बताए । उनका अनुसार उक्त खण्डमा तीन वटा मोटरेबल पुल निर्माणा सम्झौता भइ अघि बढेका छन् । पुन निर्माणको काम सडक डिभिजन कार्यालय सुर्खेतले गरेको छ । यो सडक खण्डमा सात किलोमिटर जंगल क्षेत्र परेको छ । वन क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिएकाले वन क्षेत्रमा पर्ने रूख कटानको काम पनि अघि बढ्ने उनले बताए । रूख कटानको अनुमति नहुँदा काम गतिमा अघि बढ्न सकेको छैन । सरकारको प्राथमिकतामा रहेको सडक, विद्युत लगायतका पूर्वाधार निर्माण हुँदा समयमा रूख कटान आदेश नभएर काममा ढिलाइ हुने गरेको छ ।

दुई वटा खण्डको काम भइरहे पनि राजमार्ग अन्तर्गत खम्बागाडे–विद्यापुर सडक खण्डको काम भने अघि बढ्न सकेको छैन । उक्त खण्डमा कामको सम्झौतासमेत भएको छैन । राजमार्गको तीन वटा सडक खण्डमध्ये दुई वटा खण्ड मदन भण्डारी राजमार्गले गर्नेछ । त्यस मध्येको खम्बागाडे–विद्यापुर सडक खण्डको दश किलोमिटरको काम सञ्चालन नभएको हो ।

यसैबीच भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चचपाईंले मदन भण्डारी राजमार्गको काम अघि बढाउन निर्देशन दिएकी छन् । सडक सास्तीले नागरिक आजित बनेको भन्दै उनले काम रफतारमा गर्न सुझाव दिएकी हुन् । मन्त्री चपाईं बाटोको अनुगमनका लागि पश्चिम सुर्खेत पुगेकी थिइन् ।

काम गुणस्तरीय हुनुपर्ने र समयमै सम्पन्न गनुपर्ने भन्दै उनले भनिन्, ‘रुख कटानका लागि रोकिएका काम छिट्टै सुचारु हुनेछ । त्यसका लागि आवश्यक पहल गर्नेछु ।’ ओझेलमा परेको पश्चिम क्षेत्रको पुरानो सडक खण्ड राष्ट्रिय राजमार्गमा जोडिनुले पश्चिम क्षेत्रको विकासमा ठूलो मद्दत पुग्ने उनले विश्वास व्यक्त गरिन् । काममा ढिलासुस्ती हुँदा नागरिकले दुस्ख पाइरहेको उनले बताइन् । उत्पन्न अवरोध हटाउन आवश्यक पहल थालिने मन्त्री चपाईंको भनाइ छ । – यो समाचार साझा बिसौनी दैनिकमा प्रकाशित भएको छ ।

तपाईको प्रतिक्रिया