धुलियाविट–भेडाबारी सडक खण्डमा निर्माण कार्य धमाधम

सुर्खेत। मदन भण्डारी राजमार्गको धुलियाविट–भेडाबारी सडक खण्ड निर्माणमा ४० प्रतिशत भौतिक प्रगति भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत उक्त सडक खण्डमा अहिले निर्माण कार्य धमाधम भइरहेको छ ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका इन्जिनियर जितेन्द्र शाहका अनुसार धुलियाविट–भेडाबारीसम्मको ३५ किलोमिटर सडक निर्माणका करिब आधा प्रगति भएको छ । ४० प्रतिशत भौतिक प्रगति भएको इन्जिनियर शाहले जानकारी दिए । उक्त सडकको कामको ठेक्का कालिका (केएस) वेदान्सी जेभी कैलालीले लिएको छ ।

राजमार्गको स्तरोन्नतिका लागि २०७८ असार २८ गते ठेक्का सम्झौता गरिएको थियो । २०८० पुस २७ गतेसम्ममा स्तरोन्नतिको काम सक्नेगरी ठेकेदार कम्पनीसँग सम्झौता गरिएको आयोजनाले जनाएको छ । उक्त सडकले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित धुलियाविटबाट भेरीपारिका बस्ती लेकवेशी हुँदै गुर्भाकोट नगरपालिकाको भेडाबारीसम्म जोड्नेछ ।

मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने धुलियाविट–भेडाबारी सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार भेडाबारी सडकखण्ड नौ मिटर चौडाइसम्म कालोपत्रे गरिने भएको छ । स्तरोन्नति गर्दा झन्डै ५२ प्रतिशत सडक चौडाई बनाइने छ । डीपीआर अनुसार धुलियाविट–भेडाबारीसम्म ३५ किलोमिटर स्तरोन्नति हुनेछ ।

हालसम्म राजमार्गको १५ किलोमिटर सडक ग्रावेल भइसकेको छ । ग्रावेल भइसकेको सडक कालोपत्रेका लागि पनि प्रक्रिया अघि बढाइएको छ । यसै वर्ष दश किलोमिटर सडक कालोपत्रे गर्नेगरी काम अघि बढेको कार्यालयका इन्जिनियर शाहले बताए । हाल नाला निर्माण, टेवा पर्खाल निर्माण, स्टक्चरको काम भइरहेको उनले जानकारी दिए । वनक्षेत्र बाहेक अन्य स्थानमा काम धमाधम भइरहेको शाहको भनाइ छ ।

सडक निर्माणमा वन क्षेत्र भने बाँधा बनेको छ । धुलियाविट–भेडाबारी सडक खण्डको गंगटे खोलादेखि बढीपाटीसम्म चार किलोमिटर वन क्षेत्र पर्दछ । उक्त स्थानमा स्तरोन्नतिको काम सुरु हुन सकेको छैन । प्रक्रियागत ढिलाइले काममा असर पुगेको इन्जिनीयर शाहले बताए ।

सडक निर्माणका लागि वन क्षेत्रका रुख काट्नुपर्ने हुन्छ । सडक निर्माण क्षेत्रभित्र रहेका एक हजार चार सय रूख काट्नुपर्ने देखिएको छ । ती रूखलाई काट्नका लागि टाँचा लगाइसकिएको छ । उनले भने, ‘सडकको आफ्नो क्षेत्रभित्र पर्ने भएपनि सार्वजनिक जग्गामा रहेका रूख कटानका लागि अनुमति आइसकेको छैन । अनुमति आउने बित्तिकै काम सुरु हुन्छ ।’ रूख कटानको प्रक्रिया लामो हुँदा काममा केही ढिलाइ भएको कार्यालयले जनाएको छ । रूख कटानबारे मन्त्रिपरिषद्ले निर्णय गरिसकेकाले अनुमति पर्खेर बसेको इन्जिनीयर शाह बताउँछन् ।

त्यसैगरी झुप्राखोलादेखि वीरेन्द्रनगरसम्म करिब चार किलोमिटर वनक्षेत्र रहेको छ । उक्त क्षेत्रमा समेत काम सुरु हुन नसकेको हो । रूख कटानबारे मन्त्रिपरिषद्ले निर्णय गरिसकेकाले केही दिनमै सो क्षेत्रमा समेत काम सुरु गरिने उनले जानकारी दिए ।

यसैबीच राजमार्गको धुलियाविट–भेडाबारी सडकखण्डमा १५ वटा मोटरेवल पुल निर्माण हुने भएका छन् । जसमध्ये आठ वटा पुलको फाउन्डेसनको काम सम्पन्न भएको कार्यालयले जानकारी दिएको छ । अबको तीन महिनामा पाँच वटा पुल निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको इन्जिनियर शाहले बताए । उनले भने, ‘१५ वटै पुलको काम सुरु भइसकेको छ । असारसम्ममा पाँच वटा पुलमा गाडी गुडाउने गरी कामलाई अघि बढाएका छौँ ।’

कच्ची र जीर्ण सडकका कारण यस क्षेत्र आसपासका बासिन्दाले दशकौंदेखि सास्ती खेप्दै आएका छन् । यो रूटमा बर्खामा सडक हिलाम्मे हुन्छ भने हिउँदमा धुलाम्मे । धुलियाविट–भेडाबारी सडकको वि.सं. २०३६ सालमै ट्रयाक खोलिएको थियो । सडक निर्माण थालेको चार दशकपछि मदन भण्डारी राजमार्ग नामाकरण गरी सुधारको काम अघि बढेको हो । सडक स्तरोन्नतिको काम सम्पन्न भए यहाँ बाह्रै महिना यातायात सञ्चालनमा सहज हुने अपेक्षा गरिएको छ । – यो समाचार साझा बिसौनी दैनिकमा प्रकाशित भएको छ ।

तपाईको प्रतिक्रिया