सुर्खेतमा ‘खोज र खोप’ अभियान सुरु हुँदै, एक लाख बढि बालबालिकालाई दादुराको खोप लगाईने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा यहि जेठ २८ गते देखि असार पाँच गतेसम्म १५ वर्ष मुनिका एक लाख नौ हजार बालबालिकालाई खोज र खोप अभियानमार्फत दादुराको खोप लगाईने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले आज दादुरा रुवेला खोप अभियान सञ्चालनसम्वन्धी जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाहरुको अभिमुखिकरण कार्यक्रममा सो जानकारी दिइएको हो ।


सुर्खेत जिल्लामा चालु आर्थिक वर्ष २०७९÷८० मा ६५ जना शंकास्पद विरामीको चेकजाँच गर्दा पाँच जनामा दादुरा भेटिएको हो । गुर्भाकोटका एक जना, चिंगाड र वीरेन्द्रनगरका दुई दुई जनामा दादुरा भेटिएको डा. श्रद्वा पंगेनीले जानकारी दिईन ।

‘सुर्खेतका तीन ओटा पालिकामा दादुरा भेटिएको छ । सन २०२३ मा दादुरा निवारण गर्ने सरकारको लक्ष्य यसपटक पुरा नहुने देखिएको छ ।’ उनले भनिन, ‘सुर्खेतसहित देशका १५ ओटा जिल्लामा दादुरा फैलिइसकेको हुँदा सरकारले २०२६ सम्म दादुरा निवारण गर्ने नयाँ लक्ष्या लिएको छ । सोही कारण यो अभियान सुरु भएको हो ।’

जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख गणेशभक्त गौतमका अनुसार सुर्खेतका ५४७ ओटै खोप केन्द्रमा दादुरा खोप लगाईने भएको हो । खोप लगाउनका लागि हरेक खोप केन्द्रमा दुई जना स्वास्थ्यकर्मी र दुई जना स्वयंसेवक खटाईने भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काले दादुरा जो कोहीलाई पनि हुनसक्ने बताए ।

‘दादुराको खोप लगाइसकेका व्यक्तिलाई पनि दादुरा हुन सक्छ । बालबालिकालाई भने छुटाउनै भएन ।’ उनले भने, ‘खोज र खोप अभियानलाई वडा तह मात्रै होईन हरेक विद्यालयमा समेत गुणस्तरीय रुपमा सञ्चालन गर्न आवश्यक छ ।’

प्रमुख जिल्ला अधिकारी नारायण सापकोटाले दक्ष स्वास्थ्यकर्मी, सञ्चारकर्मी देखि सरोकारवाला निकायले यो महाअभियानलाई सफलता पूर्वक सम्पन्न गर्नुपर्नेमा जोड दिए । ‘प्रदेश राजधानी जस्तो जिल्लामा चार प्रतिशत बालबालिका शुन्य खोप लगाउने संख्या भेटिनु लज्जाको विषय हो ।’ उनी भन्छन्, ‘अब सुर्खेतलाई पूर्ण खोप जिल्लाको रुपमा निरन्तर अघि बढाउनु पर्छ ।’ उनले यसकालागि सबै तह, सबै तप्कासँग आवश्यक समन्वय गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिए ।

जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनारले कार्यक्रममा हरेक स्थानीय तहका प्रमुख वा उपप्रमुखको उपस्थिति नहुनु दुखद भएको बताए । ‘यो गम्भीर विषय हो । जबसम्म बालबालिका स्वस्थ हुँदैनन, तबसम्म देशको विकास हुन्छ भन्नु असम्भव कुरा हो ।’ उनि भन्छन्, ‘त्यसकालागि स्थानीय तहको सक्रियता थप महत्वपूर्ण हुन्छ ।’

तपाईको प्रतिक्रिया