वीरेन्द्रनगरमा खानेपानीकाे संकट गहिरिँदै

सुर्खेत।  वीरेन्द्रनगरमा खानेपानी संकट गहिरिँदै गएकाे छ । गर्मी समय सुरु भएसँगै पानीको चरम संकट निम्तिन थालेको हो । दुई सातामा एक दिन मात्रै धारामा पानी आउने गरेको वीरेन्द्रनगर–१ की बसन्ती खड्का बताउँछिन् । ‘दुई सातामा एक दिन अलिकति पानी आउँछ’ उनले भनिन्, ‘खानेपानीको हाहाकार छ । अरु स्रोत छैनन् । इनार खन्यो पानी आउँदैन । असारमा झनै समस्या हुन्छ । कसरी बाँच्ने हो ?’

वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आइरहेको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले मागअनुसार मात्रामा पानी आपूर्ति गर्न सकिरहेको छैन । वीरेन्द्रनगरको वडा नं. ९ मा पनि खानेपानीको संकट चुलिएको छ । धारामा १५/१६ दिनमा एक घण्टा मात्र पानी आउने गरेको छ । कहिलेकाहीँ एक गाग्री पानी भर्न नपाउँदै पानी सुक्ने गरेको स्थानीय नागरिक बताउँछन् ।

वडा नं. ९ का स्थानीय विनोद गुरुङले खानेपानीको हाहाकार भएको बताए । गाउँमा रहेको एउटा कुवाले एक/दुई टोललाई जेनतेन धानेको उनले बताए । ‘प्रदेश राजधानीमा खानेपानीको व्यवस्था छैन । गर्मीयामसँगै खानेपानीको थप समस्या भइरहेको छ’ गुरुङले भने । आफूले जारको पानी किनेर खाने गरेको भन्दै गाईबस्तुलाई समेत पानी नहुँदा समस्या भइरहेको जनाए ।

वडाले खानेपानीको समस्या समाधान गर्न दुई वटा डिप बोरिङ खनेको थियो । ती बोरिङ्गसमेत सञ्चालनमा आएका छैनन् । वडामा चुलिएको खानेपानीको समस्या समाधानका लागि पुराना कुवालाई मर्मत गर्ने, स–साना खानेपानीका मुहानको मर्मत गर्न थालिएको वडा अध्यक्ष क्रृषि गिरीले बताए । उनले भने, ‘अघिल्लो कार्यकालमा खनिएका डिप बोरिङ्ग प्रयोगमा छैनन् । एउटा नयाँ बोरिङ्ग सञ्चालनमा ल्याउँदैछौँ ।’ वडामा खानेपानीको चरम समस्या रहेको उनी बताउँछन् ।

सुर्खेत उपत्यका खानेपानी संस्थाले वीरेन्द्रनगरमा एक सय २० घण्टामा एक पटक पानी वितरण गर्ने तालिका बनाएको छ । स्थानीय उपभोक्ताले भने तालिका अनुसार पानी नआएको बताउँदै आएका छन् । वीरेन्द्रनगर–३ की देवि भट्टराई धारामा पानी नआउने र आएपनि एक/आधा घण्टा मात्र आउने गरेको बताउँछिन् ।

खानेपानी संस्थाले पनि आवश्यक मात्रामा खानेपानी आपूर्ति हुन नसकेको स्वीकारेको छ । संस्थाका कार्यलय प्रमुख डम्बर गौतमले पानीका मुहान सुक्न थालेकाले पानी पर्याप्त मात्रामा पु¥याउन नसकिएको बताए । उनका अनुसार प्रतिसेकेन्ड दुई सय ७५ लिटर खानेपानीको माग हुने गरेकोमा प्रतिसेकेन्ड ८० लिटर मात्र उत्पादन हुने गरेको छ ।

बढ्दो जनसंख्याले समस्या

प्रादेशिक केन्द्र बनेपछि वीरेन्द्रनगरमा दिनहुँ जनसंख्या बढ्दो क्रममा छ । अन्य जिल्लाबाट बसाइँ सरी आउने र नयाँ घर बन्ने क्रम झनै तीव्र रूपमा बढ्दो छ । यसले खानेपानीको समस्या बढ्दै गएको संस्थाका प्रमुख गौतम बताउँछन् । गौतमका अनुसार संस्थाले २० हजारभन्दा बढी धारामा पानी दिने गरेको छ । मागअनुसार खानेपानी पुर्‍याउन नसकिएको उनले बताए ।

मुहानमै पानी सुक्दै गएकाले पाँच दिनमा एक पटक खानेपानी वितरण भइरहेको उनको भनाइ छ । उनी भन्छन्, ‘छोटो समयमा उल्लेख्य रूपमा उपभोक्ताको संख्या बढेको छ । प्रदेशको राजधानी बनेपछि झन् जनसंख्या बढेको छ । पछिल्लो समय खानेपानीका मुहान स्रोत सुक्दै गइरहेका छन् ।’

बढ्दो सहरीकरण, प्रशासनिक, शैक्षिक, पर्यटकीय, औद्योगिक र व्यापारिक केन्द्रको विकाससँगै उपत्यकामा दिनानुदिन जनसंख्या बढ्दै गएपछि खानेपानीको माग र आपूर्ति बीचमा असन्तुलन देखिएको गौतमले बताए । ‘पछिल्ला वर्षहरूमा मुुहान पनि सुुक्दै गएका छन्,’ उनी भन्छन्, ‘पानीका स्रोत थपिए केही राहत भने पक्कै हुुनेछ ।’ वीरेन्द्रनगर उपत्यकामा हाल खरी खोला, बोरी खोला, झुप्रा, इत्राम खोला र खोर्के खोलाबाट पानी ल्याइएको छ । यी पानीका स्रोतको पनि अपुग भएपछि पाँच दिनमा एक दिन गरेर वितरण गरिँदै आएको छ । प्रमुख पानीको स्रोतको रूपमा झुप्रा खोलालाई लिने गरिएको छ ।

विकल्पको खोजी

वीरेन्द्रनगरमा खानेपानीको समस्या समाधान गर्नका लागि विकल्पको खोजी गरिएको छ । दीर्घकालीन रूपमा समस्या समाधान गर्न भेरी नदीको पानी पम्पिङ गरी ल्याउनका लागि असारसम्म टेण्डर आह्वान गरिने नगरपालिकाले जनाएको छ । वल्र्ड बैंक, नेपाल सरकार र नगरपालिकाबीच त्रिपक्षीय सम्झौता यसअघि नै भइसकेको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सम्पन्न भइसकेको छ । असारभित्रै ठेक्का प्रक्रिया सुरु हुने नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले बताए ।

आयोजना सुरु भएपछि भेरी नदीको पानी पम्पिङ गरी वितरण गरिने छ । यसले उपत्यकाको खानेपानी अभाव समाधान हुने अपेक्षा गरिएको छ । बर्सेनि भइरहने खानेपानी समस्यालाई समाधान गर्न भेरीको पानी ल्याउने सुरु भइसकेको खनालले बताए । उनका अनुसार हालै आयोजनाको डिपिआर सम्पन्न भएको छ । – यो समाचार साझा बिसौनी दैनिकमा प्रकाशित भएको छ ।

तपाईको प्रतिक्रिया