कालीकोटमा रोकेर राखिएको जिप सडकबाट खस्दा दुई जनाको मृत्यु

सुर्खेत । कालीकोटमा रोकेर राखिएको जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । रास्कोट नगरपालिका २ सेरा बजारमा रोकेर राखिएको ग ३ च ४६१० नम्बरको जिप एक्कासि ब्याक भई सडकबाट तीन सय मिटर तल खसेर दुर्घटना भएको कालीकोट प्रहरीले जनाएको छ ।

दुर्घटनामा रास्कोट नगरपालिका १ का ४३ वर्षीय मानबहादुर शाही र सोही ठाउँकी ३६ वर्षीया मनकुमारी शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सर्वराज बमले जानकारी दिए ।

दुर्घटनामा सोही ठाउँकी ३० वर्षीया रिता शाही गम्भीर घाइते भएकी छन् । जिप सेरा बजारबाट कालीकोट सदरमुकाम मान्मतर्फ जाँदै गरेको निरीक्षक बमले जानकारी दिए । जिप न्युट्रलमा राखेर चालक गाडी बाहिर रहेको अवस्थामा दुर्घटना भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया