निर्माण सम्झौताको एक वर्ष अगावै वीरेन्द्रनगर बजार क्षेत्रका सडक सम्पन्न हुने निश्चित

असार १५ सम्म १८ सय मिटर सडक कालोपत्रे भइसक्ने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका मुख्य बजार क्षेत्र असार १५ भित्र कालोपत्रे भइसक्ने भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार एवम शहरी विकास मन्त्रालय अन्र्तगत पूर्वाधार विकास निर्देशनालयको १३ करोड लगानीमा असार पन्ध्र भित्र मुख्य सडक कालोपत्रे भइसक्ने भएका हुन ।

पूर्वाधार निर्देशक श्यामशरण आचार्यका अनुसार वीरेन्द्रनगर बजार क्षेत्रका बढी भीडभाड हुने सडकहरु कालोपत्रे हुन सुरु भएका हुन । ‘धमाधम कालोपत्रे भइरहेको छ । खड्का कन्स्ट्रक्सन वाँकेले अक्सफाल्ट पद्धतिमार्फत कालोपत्रे गरिरहेको हो ।’ उनी भन्छन्, ‘यो प्रविधिमा कालोपत्रे गरिएको खण्डमा कम्तिमा पाँच देखि सात वर्षसम्म सडक केहि हुँदैन ।’

पाँच सेन्टीमिटर बाक्लो रहेको कालोपत्रे प्रविधि अक्सफाल्टमार्फत काम भइरहेपछि स्थानीय समेत खुशी भएका छन् । ‘काम हामीले सोचेको भन्दा तीव्र गतिमा भइरहेको छ । काम प्रति हामी कसैको पनि कुनै गुनासो छैन ।’ वीरेन्द्रनगर ६ का स्थानीय गणेश पन्तले नेपाली रैवारसँग कुरा गर्दै भने, ‘अब कम्तिमा पन्ध्र वर्ष सडक केहि नहोला भन्ने लागिरहेको छ ।’

उनि मात्रै होइनन्, बजार क्षेत्रमा बढी भीडभाड भइरहेका स्थानहरुमा आर्थिक वर्ष २०८०/८१ को असार पन्ध्रमा काम सक्नुपर्ने भएको भएपनि निर्माण कम्पनीले सम्झौता भएको एक वर्ष पहिले नै काम सम्पन्न गर्ने भएपछि स्थानीयहरु खुशी देखिएका छन् ।

‘धुलो, धुंवा तथा सडक अलपत्र हुने काम हुन्छ कि, हामीले थप सास्ती व्यहोर्नु पर्ने हो कि भन्ने डरलागिरहेको थियो ।’ अर्का स्थानीय गोरख रावत भन्छन्, ‘सरकार र ठेकेदारले चाहेको खण्डमा निर्माण अवधी अगावै काम सम्पन्न गर्न सकिने रहेछ भन्ने कुराको पुष्टि भएको छ ।’

शनिबार साँझ कालोपत्रे कामको स्थलगत अनुगमन गर्न गएका मन्त्री मंगल शाही, कर्णाली योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाही, नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेल, वीरेन्द्रनगर नगरप्रमुख मोहनमाया ढकाल, उपप्रमुख निलकण्ठ खनाल, निर्देशनालयका निर्देशक आचार्यसहित प्राविधिक कर्मचारीहरुको सहभागिता रहेको थियो ।

‘अब सडकमा बत्ती जडान गर्नुप¥यो । रंगरोगन गरिदिनु प¥यो ।’ उपप्रमुख खनालले मन्त्रीसामु भने, ‘जेव्रा क्रस देखि सडक फुटपाथ पनि निर्माण गरिदिनु प¥यो ।’

सडक निर्माणमा कत्तिको दुःख पाउनुभयो भन्ने प्रश्नमा उपप्रमुख खनालले आफूहरुको काम नै विकास निर्माणलाई तीव्रता दिने भएका कारण त्यस्तो कुनै दुःख व्यहोर्नु नपरेको बताए । ‘काम तपाई हाम्रै सामू देखिइएको छ ।’ उनले भने, ‘जनताका काम गर्न भनेर जनताले निर्वाचित गरि जिम्मा दिइसकेपछि दुःख भयो भन्ने सवालै उठदैन ।’

उपप्रमुखका प्रश्नको जवाफ दिदैं मन्त्री शाहीले सबै काम गरिदिने बताए । ‘हामीले बहुवर्षिय ठेक्का अन्र्तगतको यो कामलाई एक वर्ष पहिले नै सम्पन्न गर्ने गरि आवश्यक बजेट रकमान्तर गरेर भएपनि अघि बढाएका छौं ।’ उनले भने, ‘त्यसो हुँदा सडकको दुवैतर्फ बत्ती जडान गर्ने, फुटपाथ व्यवस्थित गर्ने देखि यहाँहरुको अपेक्षा अनुरुप काम सम्पन्न हुन्छ । यसमा तपाईहरु ढुक्क हुनुहोस ।’

तपाईको प्रतिक्रिया