कालिकोटमा पहिरोमा परि मृत्यु भएका १३ जनाका परिवारलाई २६ लाखको चेक हस्तान्तरण

सामूहिक दुर्घटना वीमालाई प्रभावकारी बनाउँछौंः मन्त्री जिसि

सुर्खेत । २३ असोज २०७९ सालमा कालिकोटको तिलागुफामा मलामी जाँदा मृत्यू भएका १३ जनाको परिवारले प्रदेश सरकारले राष्ट्रिय वीमा कम्पनीमार्फत गरेको सामूहिक दुर्घटना वीमाबाट जनही दुई लाखका दरले वीमा रकम प्राप्त गरेका छन् ।

तिलागुफा नगरपालिका–४ राँचुलीमा मलामी जाँदा माथिबाट आएको पहिरोमा परि उनिहरु वेपत्ता भएका थिए । पहिरोमा पनि मृत्यू हुनेहरुमा मानबहादुर शाही, अलिबहादुर शाही, खगेन्द्रबहादुर शाही, खिमबहादुर शाही, धनबहादुर शाही, भेषबहादुर शाही, भीमबहादुर शाही, प्रशान्त शाही, धनबहादुर शाही, नरेश बहादुर शाही, छत्रजंग शाही, परबहादुर शाही र मोतिलाल शाहीका आफन्तले दुईलाखको दरले २६ लाख रकम बुझेका हुन ।

राष्ट्रिय वीमा कम्पनी सुर्खेतका प्रमुख शिवराज विसीका अनुसार वीमा वापत पीडितका परिवारले पाउने रकम हकवालको खातामा जम्मा हुने भएको छ ।

आज आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आयोजित चेक हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण जिसी ‘जितेन्द्र’ ले वीमा कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन निर्देशन समेत दिए ।

‘वीमा कार्यक्रमबाट नागरिकले सास्ती नपाउन, समयमै उनिहरुले प्रदेश सरकारबाट पाउने दुई लाख रुपैंया पाउन सकुन ।’ मन्त्री जिसीले भने, ‘यो दुई लाखले पीडित परिवारले सबैथोक नपुगेपनि कम्तिमा दुःख पीडामा नागरिक पर्दा प्रदेश सरकार साथमा छ भन्ने मात्रै ध्येय रहेको बताए ।’

उनले कर्णाली प्रदेशमा वीमा कार्यक्रम लागु नगरेको भए चार वर्षमा १६७ जनाले राहत पाउन मुस्किल हुने बताए । ‘वीमा कार्यक्रम ननभई दिएको भए राहत माग्न वा अन्य रकम माग्न प्रदेश सरकारका विभिन्न मन्त्रालयमा आउनहरुको लर्को हुने थियो । त्यो पनि पावर र पहुँच भएकाहरुले बाहेक सर्वसाधारणले पाउन सक्ने अवस्था कमै हुन्थ्यो ।’ मन्त्री जिसीले भने, ‘अब यो कार्यक्रमलाई थप प्रधावकारी रुपमा सञ्चालन गर्न आवश्यक छ । आगामी दिनमा प्राकृतिक प्रकोमा परेकाहरुको उपचारको व्यवस्था गर्न, घाईते भई अंगभंग भएमा मृतक सरह रकम पाउने र मृतक परिवारले पाँच लाख रुपैंया सम्म पाउने व्यवस्था गरिनेछ ।’

यहि वर्ष कार्यविधि सुधार गरेर कार्यक्रम बनाउन खोजिएपनि आर्थिक मन्त्रीका कारण त्यस्तो गर्न नसकिएको बताउँदै उनले आगामी वर्ष त्यो कार्यक्रम गरिने बताए ।

मन्त्री जिसिले कर्णालीका धेरै स्थानमा पहिरोको जोखिम रहेको बताउँदै केहि स्थानमा भने वस्ती नै सार्नुपर्ने अवस्था रहेको बताए । ‘यो वर्ष हुम्ला र मुगुका २२ ओटा बस्ती सार्नैपर्ने अवस्था देखिएको छ ।’ उनले भने, ‘अन्यत्र पनि त्यस्तो जोखिम भएको खण्डमा पालिकाले सिफारिस गरेर पठाएको खण्डमा वस्ती सार्न सकिन्छ ।’

मन्त्री जिसिले पहिरोमा परि मृत्यू भएका तिलागुफा ४ राँचुलीका धनबहादुर शाहीका हकवाला खड्कराज शाहीलाई चेक हस्तान्तरण गरेका थिए ।

तपाईको प्रतिक्रिया