एक महिनामा काम सक्ने गरी वीरेन्द्रनगरमा कृषि हाट बजारको शिलन्यास

सुर्खेत। वीरेन्द्रनगरमा कृषि हाट बजार, खेलकुद तथा जेष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा आउने भएको छ । वीरेन्द्रनगर १० दिपनगरमा शुक्रबार एक कार्यक्रमको आयोजना गरेर वडा अध्यक्ष डिलबहादुर रखालले कृषि हाट बजारको शिलन्यास गरेका हुन् । दश लाखको लागतमा निर्माण हुने हाटबजार अवको एकमहिना भित्र काम सक्ने लक्ष्यका साथ काम थालिएको छ ।

अहिले रत्नराजमार्ग अन्तर्गत घुस्रा जाने सडकमा अव्यवस्थित तरिकाले वीरेन्द्रनगरका किसानले उत्पादन गरेका तरकारिहरु विक्री वितरण हुँदै आएका छन । सडक छेउमा जोखिमका बीच अहिले किसानहरु उत्पादन गरेको तरकारी विक्री गर्न बाध्य भएका हुन् । हाटबजार स्थापनासंगै स्थानिय किसानहरु पनि खुशी भएका छन् । निर्माण सम्पन्न भएपछि हरेक दिन विहान किसानहरुले यहाँ आफुले उत्पादन गरेका कृषि उपजहरु राख्न पाउने भएका छन् ।

अव कृषि हाटबजार स्थापनासंगै वीरेन्द्रनगरका किसानले उत्पादन गरेका तरकारीहरु त्यहाँ राखिने भएको छ । स्थानीय किसानले उत्पादन गर्ने तरकारीको उचित बजारीकरण गर्ने उद्देश्यले वीरेन्द्रनगरमा कृषि हाटबजार सञ्चालनमा ल्याएको हो । वीरेन्द्रनगर नगरपालिकाले वडा नम्बर १० लाई कृषि पकेट क्षेत्र रुपमा हेरेको छ । यहाँ बाहेक वीरेन्द्रनगको वडा नं ९, ११,मा उत्पादन हुने तरकारी यहाँ बाट बिक्री गर्न सकिने भएको छ ।

व्यवस्थित कृषि हाटबजार नहुँदा यहाँका किसानले उत्पादन गरेका भन्दा बाहिरबाट आयातित तरकारीले बजार पाउने गरेको थियो । विषादीयुक्त कृषिउपज महँगो मूल्यमा खरिद गर्नुपर्ने आम उपभोक्ताको बाध्यतालाई मध्यनजर गर्दै कृषि हाट संचालन गरेको वडा अध्यक्ष रखालले जानकारी दिए । आम उपभोक्ताले सुपथ मूल्यमा अर्गानिक कृषिउपज किसानको खेतबारीबाट हाट बजारमा ल्याएर बिक्री गर्ने व्यवस्था मिलाउने उनले बताए ।

कृषि हाट बजार व्यवस्थापन समितिका अध्यक्ष मोति खनाललले यसलाई वीरेन्द्रनगर मै नमूना बनाउन अर्गानिक तरकारी महोत्सव गर्ने योजना बनाइएको बताए । कृषि हाट बजार संचालनमा आउँदा कृषि उपजका विचौलियाको अन्त्य हुने उनको भनाइ छ । छ कट्टा जमिनमा कृषि हाट बजारसंगै यहाँ खेलकुद तथा जेष्ठ नागरिक दिवा सेवा केन्द्र समेत सञ्चालन हुने भएको छ ।

तपाईको प्रतिक्रिया