ग्रामीण सडकले कर्णाली राजमार्ग जोखिममा

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत, जुम्ला सडकमा लगाइएको फलामे सेफ्टी बार भाँचिएको छ । भीरको सडकमा लगाइएको सेफ्टी बार केही ठाउँमा पहिरोले भाँचिएको छ भने अन्य ठाउँको ग्रामीण सडक निमार्ण गर्दा आएको पहिरो र ढुङ्गाले भाँचेर जीर्ण बनेका छन् ।  एक दशकअघि विश्व बैंकको सहयोगमा सडक विभागद्वारा निर्माण गरिएका सेफ्टी बार जीर्ण हुँदा सडक असुरक्षित बनेको छ । स्थानीय तहले खनेका सडकले गर्दा राजमार्गको सेप्टीबार कतै भाँचिने कतै थिचिएर जीर्ण भएको हो । साँघुरो र अप्ठेरो सडकको सेफ्टी बारले सुरक्षित महसुस हुन्थ्यो । तर बार केही ठाउँमा भत्केको र केही ठाउँमा खिया लाग्दा कर्णाली राजमार्गको सडक यात्रा अहिले थप असुरक्षित बनेको छ । सेप्टीबार भाँचिएको ठाउँमा यात्रुले असुरक्षाको महसुस गरिरहेका छन् ।

 

गाडी चालक उपेन्द्र धितालले केही ठाउँको भाँचियो, केही ठाउँको खिया लागेर जीर्ण बन्यो । सेफ्टी बार नहुँदा भीरको खण्डमा गाडी चलाउन डरलाग्ने गरेको बताए । कर्णाली राजमार्गको सुर्खेत जुम्ला सडक खण्डको अधिकांश भीर भएको ठाउँमा लगाइएको सेफ्टी बारले पहिले चालक र यात्रु सबैलाई सुरक्षित रहेको महसुस गराएको भएपनि पछिल्लो समय त्यो बार भत्केका कारणले कर्णाली राजामार्गको सडक असुरक्षित बनेको यातायात व्यवसायीको समेत गुनासो छ ।

कर्णाली राजमार्गमा फलामे सेफ्टी बार र सडक पर्खाल बनाएपछि दुर्घटनामा पनि कमी आएको जिल्ला प्रहरी कार्यालय कालीकोटको तथ्याङ्क छ । प्रहरी प्रमुख जयश्वर रिमालले एक दशक अघिसम्म महिनैपिच्छे दुर्घटना हुने राजमार्गमा सेफ्टी बार र साइड पर्खाल बनेपछि फाटफुट मात्र दुर्घटना भएको बताए । प्रहरी प्रमुख रिमालले यो सेफ्टीबार दुर्घटना रोक्ने राम्रो माध्यम बनेकाले पुन मर्मत गर्नु पर्ने  बताए।

तपाईको प्रतिक्रिया